Friday, June 5, 2026

कालीगण्डकीमा सुत्केरी भेट्दा लोकल कुखुराको भाले

0
सुत्केरीलाई भाले प्रदान गर्दै उपाध्यक्ष मञ्जुकुमारी दर्लामी ।

तिलाचन पाण्डे
साउन २१,२०८१गुल्मीः महिला सुत्केरी भएको समयमा झोलिलो र पोषिलो खाना आवश्यक पर्ने भन्दै यहाँको एक स्थानीय तहले सुत्केरी भेट्न जाँदा लोकल भाले लिएर जाने गरेको छ ।

गर्भवती तथा सुत्केरीको साथमा उपाध्यक्ष कार्यक्रम मार्फत कालीगण्डकी गाउँपालिका गुल्मीले ११२ जना सुत्केरीलाई लोकल कुखुराको भाले लिएर भेटेको गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा पालिका भित्र ११२ जना महिलाहरु सुत्केरी भएकाले उनीहरुलाई उपाध्यक्ष भेटन जाँदा लोकल कुखुराको भाले लिएर भेट्ने र उनीहरुको स्वास्थ्यको बारेमा जानकारी लिएको उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले बताउनुभयो ।

सुत्केरी अवस्थामा झोलीलो र पोषिलो खाने कुरा आवश्यक पर्ने भएकाले सुत्केरीलाई भाले कोशेली दिने गरेको उहाँको भनाइ छ । सुत्केरी अवस्थामा बढी आराम गर्नुपर्ने, झोलीलो र पोषिलो खानेकुराहरु खानुपर्ने, स्वास्थ्यको एकदमै ख्याल गर्नुपर्ने भन्दै सम्झाउँने गरेको दर्लामीले बताउनुभयो ।

पहिलो प्राथमिकता लोकल कुखुराको भाले र भाले उपलब्ध नभएमा घिउँ लिएर जाने गरेको उहाँको भनाइ छ । यसका साथै परिवारका सदस्यहरुलाई पनि साथमै राखी स्वास्थ्यकर्मीहरुले स्वास्थ्यको बारेमा सम्झाउँने र बुझाउँने गरेको स्वास्थ्य शाखा प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

यस्तै गर्भवती महिलाहरुलाई सुत्केरी हुनुपूर्व दुई पटक पोषण प्याकेज वितरण गर्ने र स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने गरेको स्वास्थ्य शाखाले जनाएको छ । पोषण प्याकेजमा एक क्यारेड अण्डा र चना दिने गरिएको छ । यसका साथै सफा र सुग्घर रहनुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि सावुन र नङकट वितरण गर्ने गरिएको थापाले बताउनुभयो ।
गर्भाअवस्थामा पोषण सहित र सुत्केरी पश्चात भाले लिएर गाउँपालिका आउँदा स्थानीय सरकार आफूहरुको साथमा रहेको अनुभूति भएको वडा नम्वर दुई अर्वेनीकी सुत्केरी रेनुका सिंजालीले बताउनुभयो ।

घरमा आर्थिक अवस्था राम्रो भएकाहरुलाई भन्दा पनि आर्थिक अवस्था कमजोर भएकाहरुलाई यस कार्यक्रमले ठुलो राहत मिल्ने जमुना बुढाले बताउनुभयो । यसका साथै पोषणमा थप सुधार गर्न र यस कार्यक्रमलाई निरन्तरता दिइराख्न अर्की सुत्केरी रविना न्यौपानेले स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

गर्भवती र सुत्केरीको साथमा उपाध्यक्ष कार्यक्रमका लागि गत वर्ष सात लाख रुपियाँ विनीयोजन गरिएको प्रशासकीय अधिकृत नरेश गिरीले बताउनुभयो । यस आर्थिक वर्षका लागि पनि कार्यक्रमलाई निरन्तरता दिएको उहाँको भनाइ छ । यस कार्यक्रमले पोषणमा थप सुधार ल्याउँने, गर्भाअवस्थामा नियमित चेकजाँच गर्ने, र स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि थप टेवा पुग्ने गिरीले दाबी गर्नुभयो ।

 

गुल्मीदरबारमा नौमति पन्चेबाजा सहित स्तनपायी आमालाइ सम्मान गर्दै स्तनपान सप्ताह शुभारम्भ

0

राम कृष्ण कंडेल

श्रावण १८,२०८१ गुल्मी :गुल्मीदरबार गाउँपालिकाले विश्व स्तनपान सप्ताहको सुभारम्भ एक भब्य समारोहका बिच गौडाकोट स्वास्थ्य चौकी बाट गरेको छ ।

“स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता” भन्ने नाराकासाथ विहिबार नौमति पन्चेबाजा सहित स्तनपायी आमालाइ सम्मान गर्दै स्तनपान सप्ताह आरम्भ गरिएको हो। कार्यक्रममा देविस्थान स्वास्थ आमा समूह द्वारा नौ मति पन्चेवजा चेतनामुलक गित नृत्य पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले स्वस्थ नागरिक स्वस्थ र समुन्नत समाज निर्माणको लागि गर्भावस्थामा आमाको पोषण त्यस पछि क्रमस आमा बच्चा दुबैको पोषण महत्पूर्ण हुने बताउदै, छ महिना सम्म बच्चाको सम्पूर्ण षोषण आमाको दुध बाट मात्र सम्भब भएकोले स्तनपान सप्ताह अभियान भएपनि पूर्ण स्तनपान सधै आवस्यक र महत्वपूर्ण रहेको बताउनु भयो ।

कार्यक्रमका बिशेष अतिथी उपाध्यक्ष तारा थापा ढेगा र सामाजिक विकास समिति संयोजक मुकेश थापाले स्तनपान सप्ताह अभियानले सचेतना बृद्धि गर्ने बताउनु भयो । सुखी र समृद्ध गाउँपालिका बनाउन यो अभियान महत्वपूर्ण रहेको बताउनु भयो ।

स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले कार्यक्रमको सहजीकरण गर्दै बच्चालाई छ महिना सम्म आमाको दुध मात्र खुवाउनु पर्ने र दुई बर्षसम्म स्तनपान संगै थप आहार खुवउनु पर्ने बताउनु भयो ।गौडाकोट स्वास्थ्य चौकीबाट शुरु भएको स्तनपान सप्ताह प्रत्येक स्वास्थ्य संस्था तथा स्वास्थ्य आमा समुहको बैठकमा समेत मनाईने अर्यालले बताउनु भयो । गाउँपालिको पहिले कस्तो छ आमा कार्यक्म र अहिले मेरी आमा स्वस्थ आमा कार्यक्रमले गुल्मीदरबार गाउँपालिकामा पूर्ण स्तनपानमा महत्वपुर्ण भुमिका रहेको पनि बताउनु भयो ।

कार्यक्रमका वडा नं. ३ का अध्यक्ष राम बहादुर थापाले महिला दिदी बहिनीहरुले संचालन गर्ने स्वास्थ्य आमा समुहको बैठकमा सहभागिता जनाई स्वास्थ्य र पोषण लगायतका बिषयको बारेमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको उच्च योगदान रहेको बताउनु भयो । कार्यक्रममा सम्पुर्ण स्वास्थ्य संस्थाको तर्फ बाट बलिथुम स्वास्थ्य चौकी प्रमुख डिल बहादुर थापा, गुल्मीदरबार गाउँपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकी अध्यक्ष लिला थापाले शुभकामना मन्तब्य राख्नु भएको थियो । स्वास्थ्य चौकी प्रमुख रोशन परियारले स्वागत गर्नु भएको थियो भने सिअहेब रोशन जि.सि.ले कार्यक्रम संचालन गर्नु भएको थियो ।

गुल्मी दरबार गाउँपालिकामा, कस्तो छ आमा र मेरी आमा स्वस्थ आमा कार्यक्रम सुरु भएपछि, पूर्ण स्तनपान ९५ प्रतिशत भन्दा माथी पुगेको र यो अन्यत्र भन्दा अधिक भएको बताइएको छ ।कार्यक्रममा भर्खरै गुल्मीदरबार गाउँपालिकामा सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेलाई स्वागत तथा निवर्तमान प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीलाई फेरि भेटौला कार्यक्रम र सुनौला हजार दिनका आमा सम्मान गरिएको थियो ।

विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष मनाइने एक उत्सव हो । यो उत्सव १२० भन्दा बढी देशमा अगस्ट १ देखि ७ सम्म प्रत्येक वर्ष आयोजना गरिन्छ ।

सरकारको कमजोरी फेला परे खरो ढंगले प्रस्तुत हुन्छौँः विश्वप्रकाश

0

साउन ३,२०८१काठमाडौँ : सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्ने बताउनुभएको छ।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने र काम नभए प्रधानमन्त्री, मन्त्रीहरुबारे पनि संसद र बाहिर पनि खरो अभिव्यक्ति दिने बताउनुभएको हो।

महामन्त्री शर्माले कुरा कम र काम बढी गर्न पनि सरकारलाई सुझाव दिनुभयो। एक्काइसौ शताब्दीको कामको प्रचार स्वयं काम आफैँले गर्ने भएकाले सरकारले त्यसैमा केन्द्रित भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो। महामन्त्री शर्माले लामो संघर्षबाट आएका काँग्रेस–एमालेले नेतृत्वको सरकारले देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्नेगरी काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो। वर्तमान सरकारले आफूलाई गतिशील ढंगले, जिम्मेवार ढंगले, एकतावद्ध ढंगले, पारदर्शी ढंगले, दृढ ढंगले शहीदको शपथ खाएर कार्य गर्न सक्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले त्यसमा आफूहरुले बलियो साथ दिने बताउनुभयो।

महामन्त्री शर्माले सुशासनको पक्षमा सरकारले आफैं भित्र कमी भएपनि खोजी गर्नसक्ने सामर्थ्र्य राख्नुपर्ने बताउनुभयो। गोरखापत्र

सौर्य एयरको विमान दुर्घटनामा १८ यात्रुको निधन

0

साउन ९,२०८१ काडमाडौँ : काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो । उहाँले सङ्कलित ती शव अहिले महाराजगञ्ज अवस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताउनुभयो । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।

यस्तै, जहाजमा रहेका क्याप्टेन मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ।गोरखापत्रबाट

लुम्बिनीका मुख्यमन्त्री महराद्वारा राजीनामा

0

दिवाकर पोख्रेल
साउन ६,२०८१ देउखुरी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिनुभएको छ । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री महराले राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्री महराले राजीनमा नदिने बरू विश्वासको मत लिने बताए पनि विश्वास मत नपाउने सङ्केत देखिएपछि उहाँले पदबाट राजीनामा दिनभएको हो । प्रदेशसभा सचिवालयले साउन ५ गते प्रदेश सभा बैठक र सम्भावित कार्यसूचि सार्वजनिक गर्दै विश्वासको मत सम्बन्धी सूचना प्रकाशन गरेको थियो ।

केन्द्रमा नेपाली कांग्रेस र नेकपा ९एमाले० सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए । सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने वा राजीनामा दिनुपर्ने संबैधानिक व्यवस्था छ । माओवादी संसदीय दल नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा तीन, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

मुख्यमन्त्री महराले राजीनामा दिएसँगै अब नयाँ सरकार गठनको बाटो खुलेको छ । केन्द्रमा एमाले र कांग्रेस बिच भएको सहमति अनुसार अब लुम्बिनीको मुख्यमन्त्री एमाले संसदीय दलका नेता लिला गिरी बन्ने बताइएको छ । केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण प्रदेशसभाका दुई ठुला राजनीतिक दल एमाले र कांग्रेसले मिलेर सरकार बनाउन आन्तरिक गृहकार्य समेत सुरू गरेका छन् ।

लुम्बिनीमा एमाले–कांग्रेसको समीकरण अनुसार सहज बहुमत जुट्ने छ । एमालेको २९ र कांग्रेसका २७ जना सांसद छन् । सरकार बनाउन ४४ जना सांसद आवश्यक पर्छ । नयाँ सरकार बनाउन एमाले–कांग्रेसलाई बहुमत पुर्‍याउन सहज देखिएको हो । तर प्रदेशसभामा रहेका साना दललाई समेत समेटेर नयाँ सरकार बनाउने तयारी रहेको एमालेका प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिनुभयो । कांग्रेस–एमाले सरकारमा अधिकांश साना दलहरूले पनि समर्थन जनाउने सङ्केत देखिएको छ ।

गुल्मीमा खोलाले बगाएर एक जना बेपत्ता

0

साउन ६ ,२०८१ गुल्मीः गुल्मीमा खोलाले बगाएर ३१ वर्षीय युवा बेपत्ता भएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर– २ निवासी ३१ वर्षका बोमबहादुर कार्की निस्ती खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो।

कार्की शनिबार बेलुकी इस्मा गाउँपालिका १ निस्ती खेतबाट फर्किएर खोला तर्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । मुसिकोट नगरपालिका वडानम्बर –१ अरेवा घर भएका कार्की हाल वडा नम्वर–२ निस्ती मामाघरमा बस्दै आएको स्थानीयले बताएका छन् ।

कार्की ख वर्गका फरक क्षमताका रहेको प्रहरीले जनाएको छ । शनिबार बेपत्ता बेलुकी बेपत्ता भएपनि आइतबार बिहान प्रहरीलाई जानकारी प्राप्त भएको थियो ।

 

स्थानीय सरकारको साथ खोज्दै प्राबिधिक शिक्षालय ।

0

साउन ३,२०८१ गुल्मी :गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ मजुवामा रहेको प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालीम परिषद् सिटिइभिटिइको CTEVT को आङ्गिक शिक्षालय तुराङ बहुप्राबिधिक शिक्षालयले स्थानीय सरकार सँग समन्वय गर्दै बिभिन्न कार्यहरु गर्ने भएको छ ।

 

२०७८ सालमा ३ बर्षे डिप्लोमा तथा प्रमाणपत्र तहका कृषि तर्फ बाली बिज्ञान र पशु बिज्ञान तथा इन्जिनियरिङ तर्फ सिभिल इन्जिनियरिङ कार्यक्रम संचालनको स्वीकृती पाएको शिक्षालयले हाल कृषि तर्फका २ वटा कार्यक्रमहरु बाली बिज्ञान र पशु बिज्ञान संचालन गरिरहेको छ । शिक्षालयमा जुम्ला, हुम्ला, बाजुरा, सुर्खेत, बाँके, कपिलबस्तु, रुपन्देही, नवलपरासी, बाग्लुङ, गुल्मी लगायतका जिल्लाका ८३ जनाले प्राबिधिक शिक्षा अध्ययन गरिरहेका छन ।

 

शिक्षालयले हाल १४ रोपनी जग्गा भाडामा लिएर प्रशिक्षार्थीहरुलाई नियमित पठनपाठन सँगै प्रयोगात्मक अभ्यास गराउदै आएको छ भने मजुवा बजारमा रहेको मानका टिकाराम क्याम्पसको भवनमा ६ वटा कोठा ब्यबस्थापन समक्ष माग गरेर आबश्यक पर्ने अन्य ५ कोठा आँफैले निर्माण गरी ११ कोठामा पठनपाठन तथा बिभिन्न कृषि तथा बिज्ञान प्रयोगशाला संचालन गर्दै आएको छ ।

 

शिक्षालयले आगामी बर्ष गुल्मी तथा अन्य जिल्लाहरुमा कृषक सँगै प्राबिधिक भन्ने कार्यक्रम मार्फत सम्बन्धित स्थानिय सरकार सँग समन्वय गर्दै किसानहरुको घर–घरमा गएर किसानका समस्याहरु तथा अनुभबहरु सुन्दै समस्याको निराकरण गर्ने र प्रशिक्षार्थीहरुलाई छुट्टै ब्याबहारिक सिकाइमा जोड दिने भएको छ । यो कार्यक्रम बाट किसानहरु प्रत्यक्ष लाभान्वित हुने र प्रशिक्षार्थीहरुले पनि अध्ययन गर्दा सिकेका बिषयहरुलाई ब्याबहारिक ज्ञान लिने मौका प्राप्त गर्ने तथा सिकाइ प्रभाबकारी हुने अपेक्षा शिक्षालयको छ । यसै गरी माटो परीक्षण, गाईबस्तुको गोबर परीक्षण तथा अन्य रोगहरुको लागि शिविर संचालन गरी किसान सँग प्राबिधिक कार्यक्रम गर्ने योजना रहेको शिक्षालयले जनाएको छ ।

 

शिक्षालयले सिकाइलाई प्रभाबकारी र गुणस्तरीय बनाउन स्मार्ट बोर्ड, प्रोजेक्टर तथा कम्युटरको प्रयोग गरी पठनपाठन गराउने, अध्ययन र अनुसन्धानका कृयाकलाप गर्ने र अत्याधुनिक कम्प्युटर तथा बिज्ञान प्रयोगशाला समेत निर्माण गरिरहेको छ । तुराङ बहुप्राबिधिक शिक्षालयले आगामी बर्ष २०८१ /०८२ मा खासगरी शिक्षालयको आफ्नै भौतिक पूर्बाधार तयार गर्दै समुचित ब्यबस्थापनमा बिशेष जोड दिएको छ । जसका लागि वडा कार्यालयको रोहबरमा स्थानिय ब्यक्तिहरुले चन्द्रकोट ८ स्थित तुराङमा १६ रोपनी जग्गा शिक्षालयलाई निशुल्क रुपमा उपलब्ध गराएका छन भने चन्द्रकोट –७ रुपाकोट स्थित सोतामा २८ रोपनी जग्गा निशुल्क रजिस्ट्रेशन गरिदिएका छन । अहिले सम्म २६ जना जग्गा दाताबाट शिक्षालयलाई करीब डेढ करोड भन्दा बढी मुल्य रहेको ४५ रोपनी जग्गा प्राप्त भई सकेको र अझै २० रोपनी जग्गा प्राप्त हुने क्रममा रहेको शिक्षालय प्रमुख प्रदिप राज पाण्डेले जानकारी दिनुभयो ।

 

प्राप्त भएको जग्गामा शिक्षालयले प्रशासनिक भवन, शैक्षिक भवन, कर्मचारी आबास तथा अध्ययन गर्न आउने प्रशिक्षार्थीहरुको लागि होस्टल निर्माण गर्नेछ भने अन्य जग्गामा अध्ययनको लागि आबश्यक पर्ने गाईबस्तुको फारम, कृषि प्रयोगात्मक फिल्ड, खेलकुद मैदानको लागि प्रयोग गर्ने छ । तत्कालका लागि कार्य गर्न करीब ७० रोपनी आबश्यक रहेको र शिक्षालयलाई पूर्ण क्षमतामा लैजान माछा पोखरी, कुखुरा फार्म, बाख्रा फार्म, गाईबस्तुको गोठ, प्रयोगशाला गरी कुल ८० देखी १०० रोपनी न्युनतम जग्गा आबश्यक पर्ने शिक्षालय प्रमुखको भनाइ छ ।

 

शिक्षालयमा आबश्यक पर्ने सम्पूर्ण भौतिक पूर्बाधार तयार हुने हो भने शिक्षालयलाई एउटा दक्ष प्राबिधिक कर्मचारीको केन्द्रको रुपमा र जिल्लाको सबै भन्दा आकर्षक कृषि पर्यटकिय क्षेत्रको रुपमा बिकसित हुने सम्भावना पनि छ । गुल्मी र पाल्पाको सँगम स्थल तथा धार्मिक क्षेत्र समेत रहेको रिडी बजार देखि २७ किलोमिटर पश्चिम क्षेत्रमा रहेको मजुवा बजारमा शिक्षालय अबस्थित रहेको छ भने सो बाटो हुँदै पर्यटकिय गन्तब्यको रुपमा रहेको ढोरपाटन सिकार आरक्षमा पुग्ने तथा बाग्लुङ जिल्लाको दक्षिण पश्चिम क्षेत्रको महत्वपूर्ण बजार क्षेत्र बुर्तिबाङ तथा गलकोट लगायतका स्थानबाट पनि सोही रुट हुँदै बुटवल जाने गरिन्छ ।

 


यसका साथै शिक्षालयले गुल्मी जिल्लाका बिभिन्न ७ वटा पालिका सँग समन्वय गर्दै बिधार्थीहरुलाई निशुल्क प्राबिधिक बिषय अध्ययन गर्ने ब्यबस्था समेत गरेको छ । जस अन्तर्गत चन्द्रकोट र सत्यवती गाउँपालिकाले शैक्षिक सत्र २०८०/०८१ देखि दिदै आएको ८–८ जनाको छात्रबृत्ति कोटालाई निरन्तरता दिने बताएका छन भने यसै शैक्षिक सत्रदेखि कालीगण्डकी गाउँपालिकाले ६ जना, धुर्कोट गाउँपालिकाले ६ जना, गुल्मीदरबार गाउँपालिकाले ४ जना, रुरुक्षेत्र गाउँपालिकाले आफ्नो पालिकाबाट अध्ययन गर्न इच्छुक सबैजनालाई पूर्ण छात्रबृत्ति दिने तथा मुसिकोट नगरपालिकाले आफ्नो नगरपालिकाबाट अध्ययन गर्न जाने सबै बिधार्थीलाई अध्ययन गर्दा लाग्ने शुल्कको ५० प्रतिशत रकम उपलब्ध गराउने भएको छ । भने CTEVT ले कृषि बालीबिज्ञान कार्यक्रम अध्ययन गर्ने ४ जना र पशु बिज्ञान कार्यक्रम अध्ययन गर्ने ४ जना गरी उत्कृष्ट ८ जनालाई ३ बर्षसम्म निशुल्क अध्ययन गर्ने ब्यबस्था रहेको शिक्षालयले जनाएको छ ।

 

शिक्षालय नेपाल सरकारको पूर्ण सरकारी भएको कारण पनि अन्य शिक्षालयमा भन्दा अत्यन्तै सस्तो पचास हजार मै अध्ययन गराउने ब्यबस्था रहेको छ । शिक्षालयले हाल कृषि तर्फ बाली बिज्ञान र पशु बिज्ञानमा भर्नाको लागि ८० कोटामा आबेदन समेत माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा विद्युतीय टोकन सिस्टम सुरु

0
विद्युतीय टोकन सिस्टमको सेवा सुरुवात गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालगायत । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
असार २८,२०८१ गुल्मीः जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राहीको सहजताका लागि विद्युतीय टोकन सिस्टम सुरु गरेको छ ।

सेवाग्राहीको भीड र लामो लाइन लगाएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि विद्युतीय टोकन सिस्टम सुरु गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

प्रशासनमा सेवाग्राहीको भीड लाग्ने र सेवा लिनका लागि तछाड मछाड गर्ने भएकाले सहजताका लागि विद्युतीय टोकन सिस्टम सुरु गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । विद्युतीय टोकन सिस्टममा राहदानी,नागरिकता,राष्ट्रिय परिचयपत्र र राजश्वका लागि बैङक सेवामा टोकन लिन सकिने ब्यबस्था गरिएको छ ।
सेवाग्राहीले लिएको टोकनको नम्वर अनुसार पालो आउने भएकाले सहज रुपमा सेवाग्राहीले सेवा लिने सक्ने र सुशासन पनि कायम हुने शर्माको दाबी छ ।

प्रशासनमा सेवा लिन आउने सेवाग्राहीले अव वीना झन्झट कसैको भनसुन नलगाइ सेवा लिन सकिने ब्यबस्था गरेकाले यसलाई सधै कायम राख्न सेवाग्राहीहरुले प्रशासनलाई आग्रह गरेका छन् ।

दुई लाख बढी मूल्य पर्ने विद्युतीय सिस्टमको टोकन मेसिन ग्लोवल आइएमइ बैंकले प्रशासनलाई सौजन्य गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । विद्युतीय टोकन सिस्टम सुरु भएपश्चात प्रशासनबाट प्रदान गरिने सेवा प्रवाहमा थप टेवा पुग्ने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।

दुग्ध व्यावसायीका चुनौती : कामदार र सहुलियत कर्जा

0

टोपलाल अर्याल

गुल्मी, २० असार : गुल्मीको धुर्कोट गाउँपालिका–५ का ४३ बषीय रबिन्द्र घिमिरे शहरमा डिग्री गरे गाउँमा फर्किएर कृषि गरिरहेका छन् । उनी जिल्लाका व्यावसायीक पशुपालक कृषक हुन् । उनले तीन बर्षदेखि उन्नत जातका गाईभैसी पालन गरिरहेका छन् ।

पछिल्लो समय फर्ममै गाउँको दुध संकलन गरेर बिक्री पनि गर्छन् । उनले आगामी असोजसम्म व्यावसायको लगानी एक करोड २० लाख पुराउने योजनामा बनाएका छन् । अहिले आफ्नै फर्मको डेढ सय र बाहिरको गरेर दैनिक चार सय लिटर दुध बिक्री गरिरहेको घिमिरेले बताए । ०५२ सालमा हिमालय माविबाट एसएलसी सकेर काठमाण्डौ हानिएका घिमिरे २५ बर्षपछि गाउँ फर्किर ०७८ सालबाट पशुपालन व्यावसायमा लागेका हुन् । उनले ०६५ सालमा मास्टर डिग्री सकेर विभिन्न क्षेत्रमा संलग्न भए । तर, उर्जालाई गाउँकै माटोमा खर्चने सपना बोकेर घर फर्किएका घिमिरे पशुपालन व्यावसायमा उदाहरणीय पात्र हुन् । उनले दैनिक चार जनालाई पूर्णकालिन रोजगारी दिएका छन् । घिमिरेले सरकारले सहुलियतपूर्ण कर्जा दिने र प्रसस्त कामदार पाइने अवस्था रहे व्यावसायबाट पलायन हुने स्थिती नहुने बताए । ‘कृषि पेसामा सवैभन्दा ठूलो चुनौति कामदारको हो । मैले सरदर २० हजार दिएर चार जना राखेको छु,’उनले पेसा कामदारकै अभावमा जोखिममा छ ।’ अहिले कृषि पेसा गर्नेहरु टिक्न सकिरहेका छैनन् ।

 

उनलाई पनि राजधानीबाट फर्केर गाउँमा उद्यम गर्ने कुरा कसैले पत्याएनन् । परिवारको बुबाआमालाई समेत गत बर्षसम्म मेरो विश्वास नभएको घिमिरेले बताए । मिल्क एनालाइजर प्रदान गर्दै जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण बहादुर खत्रीले नयाँ योजनाको खोज भन्दा पनि काम गरिरहेका व्यावसायीक किसान पेसामा टिकाएर राख्ने कुरा सवैभन्दा बढि चुनौतिपूर्ण रहेको बताए । स–साना अनुदानभन्दा दिर्घकालिन कार्यक्रमबाट ठुला किसानलाई पेसामा अड्याउने र साना किसानहरुलाई उत्साहित बनाउन तीनै सरकार लाग्नुपर्नेमा खत्रीले जोड दिए । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले अब अनुदानभन्दा लगानीमा सहयोग पुग्ने खालका पुरस्कारहरुको व्यावस्था पालिकाले गर्न थालेको बताए । प्राप्त गरेको पुरस्कारको व्यावसायमा लगानी सुनिश्चत हुने गरेर ठुला, मझौला र साना कृषकहरुलाई पुरस्कृत गरिने पोख्रेलले बताए ।

 

मिल्क ऐनालाइजर प्रदान भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले पशुपन्छी तथा मत्स्य प्रविधी प्रर्दशन अन्तरगत मिल्क ऐनालाईजर हस्तान्तरण गरिएको छ । धुर्कोट गाउँपालिका–५ वस्तुका कृषक रविन्द्र घिमिरेलाई मेसिन प्रदान गरेको हो । उनले तीन बर्षदेखि व्यावसायीक रुपमा उन्नत जातका गाईभैसी पालन र पछिल्लो समय दुग्ध संकलन व्यावसाय गरिरहेका छन् ।  बायोकेमिकल मिल्क ऐनालाईजरले उपभोक्ता, संकलक र उत्पादकलाई फाइदा हुने केन्द्रले जनाएको छ । यो मेसिनबाट दुधको शुद्धता मापन गारिन्छ ।

दुधमा पानीको मात्रा मापन गर्न सकिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको पशु चिकित्सक डाक्टर नविना ढकालले जानकारी दिइन् । दुधको गुणस्तर अनुसार कृषकलाई दुधको मुल्य निर्धारण गर्न सजिलो हुने पानी र स्टार्च जस्ता तत्वको मिसावट हुने हुदा दुधको गुणस्तर सुनिश्चित गर्नका मेसिन उपयोगी हुने ढकालले बताइन् । उत्पादनको २० प्रतिशत दुध मात्रै बजारमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेयका अनुसार जिल्लामा वर्षमा २२ हजार २ सय ५८ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ ।

जिल्लामा सुख्खा मौषममा केही मात्रामा दूधको आवश्यक परे पनि अन्यन्त्रबाट दूध ल्याएर बेच्नु पर्ने अवस्था नरहेको पाण्डेयले बताए । पाण्डेयले जिल्लामा उत्पादित दूधको २० प्रतिशत मात्र बिक्री हुने गरेको बताए । ‘जिल्लामा उत्पादित ८० प्रतिशत दुध बजार पुग्दैन् । धेरैले घरमै खाएर दुध सक्छन्,’उनले भने,‘नागरिकमा व्यावसायीक सोच अभिबृद्धि हुनुपर्छ ।’ मिल्क एनालाइजर गुल्मी जिल्लामा हालसम्म पाँच स्थानमा वितरण भएको छ ।

 

यसअघि सत्यवती गाउँपालिका–६ को श्रीकृष्ण डेरी पकेट समूह, सत्यवती गाउँपालिका –५ को सत्यवति दुग्ध उत्पादक सहकारी, रुरु क्षेत्र गाउँपालिकाको बम्घा दूग्ध उत्पादक सहकारी, र बस्नेत डेरीमा मिल्क एनालाइजर वितरण गरिएको पाण्डेयले जानकारी दिए ।

मालिकाको थानपति निमाविमा वृक्षारोपण

0

असार १९,२०८१ गुल्मी :गुल्मीको मालिका गाउँपालिका ८ स्थित थानपति निम्न माद्यामिक विद्यालयले वृक्षारोपण गरेको छ ।
विद्यालयको खाली ७ रोपनी जग्गामा डिभिजन बन कार्यालय गुल्मी बाट उपलब्ध भएका पाँच सय ६० वटा जडिबुटीका बिरुवा रोपिएको विद्यालयका सूचना अधिकारी राजु पौडेलले जानकारी दिए ।

मालिका गाउँपालिकाका कार्यपालिकाका सदस्य कमल सुनार बाट वृक्षरोपण कार्यक्रमको सुरुवात गरिएको हो ।
वृक्षरोपण कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य कमल सुनारले थानपती निम्न माद्यामिक विद्यालयले विभिन्न रचनात्मक काम गरेको भन्दै विद्यालयको चर्चा गरे । आजको वृक्षरोपणले भविष्यमा विद्यालयलाई फल दिने उनको तर्क थियो ।

 

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काले पर्यावरणीय सन्तुलन र विद्यालयको दीर्घकालीन आम्दानीको लागि वृक्षरोपण गरिएको बताए । अध्यक्ष खड्काले भने “ शैक्षिक गुणस्तर सङै अन्य रचनात्मक काम पनि हामीले गर्नु पर्छ भावनाले वृक्षारोपण गरेका छौं हामीलाई धेरै सहयोग गर्ने डिभिजन बन कार्यालय गुल्मीलाई म धन्यवाद दिन चाहन्छु ´´ ।

पछिल्लो सयय यस विद्यालयले शैक्षिक गुणस्तर संगै विद्यालयको बृहतर विकासको लागि गाउँ ठाउँको धर्म सक्कृतिलाई प्रभाव नपर्नगरी राज्यले दिएका १२ वटा विदामा विद्यालय सञ्चालन गर्ने , बिहान ९:४५ मै कक्षा सञ्चालन गर्ने , विद्यालयमा धेरै पटक आउने अभिभावकलाई सम्मान गर्ने , विभिन्न दाता बाट जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने कार्य गर्दै आएको छ ।