![Jokh Bahadur mahara](https://khabarmarket.com/wp-content/uploads/2024/04/Jokh-Bahadur-mahara-696x831.jpeg)
दिवाकर पोख्रेल
साउन ६,२०८१ देउखुरी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिनुभएको छ । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री महराले राजीनामा दिनुभएको हो ।
![](https://khabarmarket.com/wp-content/uploads/2023/06/Lumbini-Pradesh-bidhut-add.jpg)
![](https://khabarmarket.com/wp-content/uploads/2023/06/Lumbini-Pradesh-krishi.jpg)
मुख्यमन्त्री महराले राजीनमा नदिने बरू विश्वासको मत लिने बताए पनि विश्वास मत नपाउने सङ्केत देखिएपछि उहाँले पदबाट राजीनामा दिनभएको हो । प्रदेशसभा सचिवालयले साउन ५ गते प्रदेश सभा बैठक र सम्भावित कार्यसूचि सार्वजनिक गर्दै विश्वासको मत सम्बन्धी सूचना प्रकाशन गरेको थियो ।
केन्द्रमा नेपाली कांग्रेस र नेकपा ९एमाले० सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए । सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो ।
![](https://khabarmarket.com/wp-content/uploads/2020/04/khabarmarket-logo.jpg)
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने वा राजीनामा दिनुपर्ने संबैधानिक व्यवस्था छ । माओवादी संसदीय दल नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा तीन, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।
मुख्यमन्त्री महराले राजीनामा दिएसँगै अब नयाँ सरकार गठनको बाटो खुलेको छ । केन्द्रमा एमाले र कांग्रेस बिच भएको सहमति अनुसार अब लुम्बिनीको मुख्यमन्त्री एमाले संसदीय दलका नेता लिला गिरी बन्ने बताइएको छ । केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण प्रदेशसभाका दुई ठुला राजनीतिक दल एमाले र कांग्रेसले मिलेर सरकार बनाउन आन्तरिक गृहकार्य समेत सुरू गरेका छन् ।
लुम्बिनीमा एमाले–कांग्रेसको समीकरण अनुसार सहज बहुमत जुट्ने छ । एमालेको २९ र कांग्रेसका २७ जना सांसद छन् । सरकार बनाउन ४४ जना सांसद आवश्यक पर्छ । नयाँ सरकार बनाउन एमाले–कांग्रेसलाई बहुमत पुर्याउन सहज देखिएको हो । तर प्रदेशसभामा रहेका साना दललाई समेत समेटेर नयाँ सरकार बनाउने तयारी रहेको एमालेका प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिनुभयो । कांग्रेस–एमाले सरकारमा अधिकांश साना दलहरूले पनि समर्थन जनाउने सङ्केत देखिएको छ ।