Friday, June 5, 2026

त्रिविक्रम उत्कृष्ट कर्मचारी

0

मंसिर ९,२०८१ गुल्मीः घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवाली उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित हुनुभएको छ ।

१० औँ उद्योग दिवसको अवसरमा ज्ञवालीलाई कार्यक्रमका प्रमुख अतिथि खिलध्वज पन्थी र विशेष अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सम्मान गर्नुभएको हो ।

ज्ञवालीलाई उत्कृष्ट कार्यगरेवापत उत्कृष्ट कर्मचारी छनोट गरी सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले जानकारी दिनुभयो ।

उद्योग दिवसका अवसरमा जिल्ला भित्रका ६५ उद्योगीहरुलाई सम्मान गरिएको थियो ।

मुसिकोटमा माओवादीले एक्लै चुनाव जित्ने दाबी

0

मंसिर २,२०८१ गुल्मीः मुसिकोट नगरपालिका वडा नम्वर एकमा माओवादीका उम्मेद्वार दुर्गाबहादुर बिकले निर्वाचन जित्ने दाबी गर्नुभएको छ ।

माओवादी एक्लै चुनाव लड्न सक्दैन् भन्ने भाष्य निर्माण गरेको सन्र्दभमा माओवादीले आइतबार पार्टीको तर्फबाट वडा अध्यक्ष पदका लागि दुर्गाबहादुर बिकले उम्मेदवारी मनोनयन दर्ता गराएको पार्टीका जिल्ला सचिव अशोक थापाले जानकारी दिनुभयो । पार्टीले उठाएको उम्मेद्वार अब्बल , सरल , समाजमा भिजेको र वडाको विकासका निम्ती आवश्यक भएकाले बिकले निर्वाचन जित्ने दाबी गर्नुभएको छ ।

वडा अध्यक्षमा कांग्रेस , एमाले, माओवादीलगायत सबैले निर्वाचन जित्ने दाबी गर्दै आएका छन् ।
वडा अध्यक्ष पदका लागि ८ जनाको मनोनयन दर्ता भएको छ । वडाअध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा, माओवादी केन्द्रबाट दुर्गाबहादुर बिकले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पाटीबाट इश्वरी खाती क्षेत्रीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल, कुलबहादुर थापाले उम्मेदवारी मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत ऋषिराम घिमिरेले बताउनुभयो ।

चरम निरासा र राजनीतिक स्थायीत्वका लागि दुई ठुला दल एक ठाँउ : प्रदीप ज्ञवाली

0
रेसुंगा नगर कमिटीको दोस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै प्रदीप ज्ञवाली । तस्बिर : तिलाचन पाण्डे

कात्तिक २२,२०८१ गुल्मी :नेपाल कम्यनिष्ट पार्टी (एमाले) का उप–महासचिव प्रदीपकुमार ज्ञवालीले जनतामा छाएको चरम निरासालाई कम गर्नका लागि देशका ठुला दुइ दल एक ठाउँमा भएको बताएका छन् ।

पछिल्लो समयमा एक वर्ष पनि नटिक्ने गरी सरकार गठनका कामहरु हुँदा जनतामा चरम निरासा छाएकाले त्यसलाई चिर्न र राजनीतिक स्थायीत्व कायम गर्नका लागि दुई ठुला दल मिलेर सरकार गठन गरेको उनको भनाइ छ ।

नेकपा एमाले रेसुंगा नगर कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले देशलाई राजीतिक रुपमा निकास दिनका लागि एमाले र काँगेस मिलेको दाबी गरे ।

देशका दुई ठुला दल मिलेर सरकार बनाउँदा जनतामा खुसीयाली छाएको भन्दै अब बिकासले पनि गति लिने बताए । नेकपा एमाले कुर्सी वा भुँइ जहाँ भएपनि जनताको सेवामा सदैव साथमा रहने गरेको उनको भनाइ छ ।

अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

घरदैलोमै सेवा प्रवाह गर्दै मुसिकोट

0

सूर्य सुनार
कार्तिक १६,२०८१ गुल्मी : गुल्मीको मुसिकोट नगरपालिकाले घरदैलोमै पुगेर सेवा प्रवाह गरेको छ । नगरपालिकाले सिम्ले सामुदायिक सेवा केन्द्रको शुभारम्भ गर्दै सेवा दिएको हो ।

मुसिकोट नगरपालिकाको ९ वटा वडा मध्ये भूगोलको आधारमा सबैभन्दा ठूलो वडा रहेको १ नम्बर वडा कार्यालय पौदी अमराईबाट टाढा रहेका बस्तीहरुलाइ सेवा प्रवाहमा जोड्न र नागरिकलाई सहज ढङ्गले सेवा दिन नगरपालिकाले सामुदायिक सेवा केन्द्रको सुभारम्भ गरेको नगरप्रमुख जीवन खरेलले बताउनुभयो ।

कुनै पनि सेवा लिन वडा कार्यालय सम्म धाउनुपर्ने समस्याको अत्य भएको नगरप्रमुख खरेलले बताउनुभयो । स्थानीय सरकार भनेको नागरिकको नजिकको सरकार भएको हुँदा नगरपालिकाले घरदैलोमा गएर सेवा दिने बताउनुभयो ।

बिवाह दर्ता, उपभोक्ता समिति मार्फत हुने योजनाको सम्झौता, सिफारिस, मालपोत संकलन र प्राविधिक सल्लाह जस्ता काम सामुदायिक सेवा केन्द्रबाट गरिएको मुसिकोट नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश घिमिरेले बताउनुभयो ।
मुसिकोट नगरपालिका वडा नम्बर १ सिम्लेका नागरिकहरु घरदैलोबाट सेवा लिन पाउँदा निकै खुशी भएका छन् । नगरपालिकाले घरदैलोमै आएर सेवा दिदाँ स्थानीय सरकार भएको महशुस भएको डमर बहादुर धर्तीले बताउनुभयो ।

त्यस्तै आर्का एक स्थानीय नर बहादुर खातीले सामुदायिक सेवा केन्द्रबाट पहिलो योजनाको सम्झौता गर्दै नगरपालिकालाई धन्यवाद दिनुभएको थियो । पहिले योजना सम्झौता गर्न वडा देखी नगरपालिका सम्म जानु पर्ने थियो । तर नगरपालिकाले सामुदायिक स्वास्थ्य सेवा केन्द्रको स्थापना गरेर घरदैलो बाट सेवा प्रवाह गर्दा खुशी लागेको बताउनुभयो ।

वर्षाको सम्भावना

0

कात्तिक १६,२०८१ काठमाडौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको तथा पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

शुक्रबार मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतय बदली रही बाँकी भूभागहरुमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेख गरेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेश पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । गोरखापत्रबाट

सदरमुकाम केन्द्रित मात्रै कार्यक्रम नगर्न आग्रह

0
कार्यक्रममा स्थानीय तहका प्रमुख तथा अध्यक्षहरु, उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृतलगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरु । तस्विर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
कात्तिक १३,२०८१ गुल्मीः सदरमुकाम केन्द्रित मात्रै कार्यक्रम नगर्न एक कार्यक्रमका सहभागीहरुले आग्रह गरेका छन् ।

जिल्लामा दुई सङघीय निर्वाचन क्षेत्र, प्रदेशका चार र १२ स्थानीय तहमा केन्द्रित गरेर कार्यक्रम राख्न चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले आग्रह गर्नुभयो । सदरमुकाम मात्रै केन्द्रित कार्यक्रम गर्नुभन्दा स्थानीय तह र निर्वाचन क्षेत्रस्तरीय कार्यक्रमहरु गर्दा थप प्रभावकारी हुनेमा उहाँले जोड दिनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको सेवा प्रवाह सरलीकृतको लागि अन्तर तह समन्वय र सहकार्य सम्बन्धी कार्यक्रममा केसीले सो कुरा बताउनुभएको हो । सोही कार्यक्रममा केसीले खादाहरुको प्रयोग गर्दा स्थानीय स्तरमा उत्पादन भएका उद्योगहरुको प्रयोग गर्दा उहाँहरुलाई थप प्रोत्साहन हुने बताउनुभयो ।

सोही कार्यक्रमा चन्द्रकोट गाउँपालिकाका सूचना अधिकारी तथा उद्योग शाखा हेर्ने शिब ज्ञवालीले घरेलु तथा साना उद्योग कार्यालयले दर्ता भएका उद्योगहरुको लगत तथा विवरण उपलब्ध नगराउँदा समस्या भएको बताउनुभयो । पाँच लाख रुपियाँसम्मको पुजी भएको उद्योग दर्ता गर्ने अधिकार स्थानीय सरकारलाई भएपनि घरेलु कार्यालयमा दर्ता भएका उद्योगहरु नविकरण गर्नका लागि पालिकामा आउने भएकाले आफूहरुले नविकरण गर्न नसकेको उहाँको भनाइ छ । घरेलु कार्यालयमा दर्ता भएका उद्योगहरुको नविकरण गर्ने अधिकार आफूहरुमा भए नभएको बारेमा अन्योलता छाएको ज्ञवालीले बताउनुभयो । कार्यालयले फाइल र लगतको विवरण पालिकामा हस्तान्तरण गर्ने ब्यबस्था गरेमा सहजता हुने उहाँको तर्क छ ।

स्थानीय तहमा मदिराजन्य र सुर्तिजन्य कारोवारमा समस्या देखा पर्ने गरेकाले यसको बारेमा थप स्पस्ट पार्नुपर्नेमा सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जोड दिनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका कार्यालय प्रमुख राजीव अर्यालले हालसम्म कार्यालयले गरेका कार्य र आगामी कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले आगामी दिनहरुमा स्थानीय तह केन्द्रित कार्यक्रमहरु गर्दै जाने र सकभर स्थानीय उत्पादनलाई नै प्रयोग गरेर उद्योगीहरुलाई प्रोत्साहन गर्दै लैजाने बताउनुभयो ।

उद्योग वाणिज्य तथा उपभोत्ता हित संरक्षण निर्देशनालय रुपन्देहीका बरिष्ठ शाखा अधिकृत नेत्रप्रसाद भुसालले सेवा प्रवाह र कानूनी प्रावधानका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । सोही कार्यक्रममा करदाता सेवा कार्यालय तम्घास गुल्मीका प्रमुख विक्रम पन्थीले करको बारेमा स्थानीय तह केन्द्रित कार्यक्रम गर्ने गरी योजना बनाएको बताउनुभयो । स्थानीय तह केन्द्रित करदाता शिक्षा कार्यक्रम गर्ने र करको बारेमा ग्रामीणस्तरबाटै स्पस्ट पार्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण्प्रसाद शर्माले बजार अनुगमन र नियमनका बारेमा तीनै तहका सरकारको समन्वयमा काम गर्दै आएको बताउँदै थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्रीले सरल तरिकाले सेवाग्राहीहरुलाई केन्द्रित गरी सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । उद्योग दर्ता,खारेज र करको बारेमा ग्रामीण स्तरसम्म पुग्नुपर्नेमा उहाँले जोड दिनुभयो । जसका लागि तीनै तहका सरकारको समन्वय हुनु आवश्यक रहेको उहाँको भनाइ छ ।

एक हप्तामा गुल्मीमा ५३१ जनाले बनाए राहदानी

0
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
कात्तिक ११,२०८१ गुल्मीः जिल्ला प्रशासन कार्यालय गुल्मीबाट एक हप्तामा ५३१ जनाले राहदानी बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखी शुक्रबारसम्म एक हप्ताको अवधिमा ५३१ जनाको राहदानीका लागि आवेदन सङकलन भएको बताउनुभयो । जसबाट २७ लाख ८० हजार पाँच सय रुपियाँ राजस्व सङकलन भएको उहाँको भनाइ छ ।

गत आइतबार देखी शुक्रबारसम्मको अवधिमा नयाँ नागरिकता ५७२, प्रतिलिपि २९३, गैर आवासीय नागरिकता दुई, नावलक परिचयपत्र ४६ ,राहदानी वितरण ३६५,राष्ट्रिय परिचयपत्रका लागि आवेदन ७५६, परिचयपत्र वितरण ३७८, संस्था नविकरण छ र ९८ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताउनुभयो ।

सोही अवधिमा राहदानीबाट २७ लाख ८० हजार पाँच सय रुपियाँ र संस्था नविकरणबाट तीन हजार छ सय रुपियाँ गरि कुल २७ लाख ८४ हजार एक सय रुपियाँ राजस्व सङकलन भएको गैरेले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा यस अवधिमा नागरिकता ,राहदानी र परिचयपत्र बनाउनेको सङख्यामा वृद्धि भएको उहाँको भनाइ छ । दशै तिहारजस्ता पर्वहरुमा पर्व मनाउन देशका शहर र विदेशबाट पनि आउँदा राहदानी, नागरिकता बनाउनेको सङख्यामा पनि वृद्धि भएको गैरेले बताउनुभयो ।

न्यून जनशक्तिकाबीच पनि सेवाग्राहीहरुको चापलाई मध्यनजर गर्दै बिहान साँझ गरी सेवा प्रवाह गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

पालिकाबाटै श्रम स्वीकृति हुँदा समय र पैसा दुबैको बचत

0
पालिकाबाट पाण्डेलाई श्रम स्वीकृति प्रदान गर्दै । तस्विर :तिलाचन पाण्डे

तिलाचन पाण्डे
कात्तिक १०,२०८१ गुल्मीःविगत १० वर्षदेखी कतारमा रोजगारीमा रहनुभएका कालीगण्डकी १ का ३६ वर्षीय लक्ष्मीकान्त पाण्डे दसैँ मनाउँन घर आउनुभयो । दसैँ मनाएर पुनः रोजगारीका लागि कतार जाने समय आउँन थालेपछि उहाँलाई श्रम गर्नका लागि बुटवल वा काठमाडौँ जाने भन्ने अन्योलता छायो ।

पाण्डेलाई पालिकाबाटै श्रम स्वीकृति हुन्छ भन्ने बारेमा थाहा नै थिएन् । पहिले पहिले आउँदा बुटवल र काठमाडौँबाट श्रम गर्दै आउनुभएका उहाँले अहिले पनि त्यही होला भनेर सोच्नुभयो । तर अहिले गाउँको नजिकको सरकार पालिकाबाट श्रम स्वीकति भएपछि उहाँले खुसी ब्यक्त गर्नुभयो । पालिकाबाटै श्रम हुँदा उहाँको बुटवल काठमाडौँ जाने समय र पैसा दुवै बचत भएकाले आफूले बल्ल स्थानीय सरकार भएको अनुभूती पाएको बताउनुभयो । स्थानीय सरकार त खासमा सरकारै रहेछ भन्दै उहाँले १० मिनेटमै श्रम स्वीकृतिको काम सकिएपछि स्थानीय सरकार र कर्मचारीलाई धन्यबाट ब्यक्त गर्नुभयो ।

यस्तै केही महिना पहिले साउदीबाट घर आउनुभएका सोही स्थानका मित्रलाल पाण्डेले पनि पालिकाबाटै श्रम स्वीकृति पाएकोमा खुसी ब्यक्त गर्नुभयो । पालिकाबाटै श्रम गर्न पाउँदा उहाँले पनि समय र पैसा दुबै बचत भएको बताउनुभयो । विना झन्झट सहज रुपमा पालिकाबाटै श्रम स्वीकृति भएको उहाँको प्रतिक्रिया छ ।

गाउँपालिकाबाट आर्थिक वर्ष२०७९।०८० मा तीन जना, २०८०।०८१ मा २९ जना र चालु आर्थिक वर्षको हालसम्म चार जनाले श्रम गरेको कालीगण्डकी गाउँपालिकाका रोजगार सहायक तिलक रानाले जानकारी दिनुभयो । अझै पनि पालिकाबाट श्रमको काम हुन्छ भन्नेमा धेरै जानकार नभएका कारण बुटवल काठमाडौँ धाउने गरेको उहाँले बताउनुभयो ।

गाम्रीणस्तर सम्म पालिकाबाटै श्रमको काम हुन्छ भन्ने बारेमा प्रचार प्रसार गर्नेपर्नेमा रानाले जोड दिनुभयो ।

एक महिनापछि रेसुङगा विमानस्थलबाट पुनः नियमित उडान

0
रेसुङगा विमानस्थलबाट उडान भर्दैगरेको जहाज । तस्विरः तिलाचन पाण्डे

तिलाचन पाण्डे
कात्तिक १०,२०८१ गुल्मीः गुल्मीको रेसुङगा विमानस्थलबाट एक महिनापछि नियमित उडान सुरु भएको छ । मौसम खरावका कारण विगत एक महिनादेखी नियमित उडान हुन नसकेको विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताउनुभयो । हप्ताको दुई दिन बुधबार र शुक्रबार उडान हुने कार्यतालिका रहे पनि विगत एक महिनादेखी नियमित उडान हुन नसकेका थापाले बताउनुभयो ।

कात्तिक महिनाको सात गते बुधबार र ९ गते शुक्रबार नियमित उडान भएकाले मौसम सफा भएमा नियमित हप्ताको दुइ दिन उडान हुने उहाँको भनाइ छ ।

असोज महिनामा चार गते र २५ गतेमात्रै उडान भएको थियो । मौसम सफा नभएका कारण उडान भर्न नसकिएको थापाले बताउनुभयो । क्रमिक रुपमा मौसम सफा हुँदै गएकाले नियमित उडान हुने भन्दै यात्रुहरुलाई निरास नहुन उहाँले आग्रहसमेत गर्नुभएको छ ।

गत असार १४ गतेदेखी करिव दुई महिना रेसुङगा विमानस्थलबाट उडान ठप्प भएपनि भदौ ७ गतेबाट उडान नियमित भएको थियो ।
पहिले हप्ताको एक दिन शुक्रबार मात्रै उडान भर्दै आएको जहाजले यात्रुको अत्याधिक चाप बढेपछि साप्ताहिक तीन उडानको अनुमति पाएको थियो । वर्षायाम सुरु भएपछि पछिल्लो समय हप्ताको एक दिन शुक्रबार मात्रै उडान गर्ने गरी कार्यतालिका रहेको थापाले बताउनुभयो । पछिल्लो समयमा यात्रुहरुको चापलाई मध्यनजर गर्दै हप्ताको शुकबार र बुधबार दुई दिन उडान गर्ने कार्यतालिका रहेको थापाले बताउनुभयो ।

काठमाडौँबाट बिहान ६ बजेर ३० मिनेट र रेसुङगाबाट काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने कार्यतालिका रहेको उहाँले बताउनुभयो ।

हवाई यात्रामा गुल्मी जोडिएसङगै फ्रान्स र स्पेनबाट पनि पर्यटकहरु घुम्नको लागि गुल्मी आएको रेसुङगा नगरपालिका गुल्मीले जनाएको छ ।
हाल गुल्मीबाट काठमाडौँका लागि सात हजार तीन सय र काठमाडौँबाट गुल्मीका लागि सात हजार पाँच सय रुपियाँ भाडा कायम गरेको स्टेशन प्रमुख थापाले बताउनुभयो ।

जिल्ला सदरमुकाम तम्घासबाट करिव पाँच मिलोमिटर कच्चीबाटो पछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट गतवर्षको वैशाख २९ गतेबाट व्यवसायिक उडान शुरु गरिएको थियो ।

सरकार आफैँ रक्षात्मक अवस्थामा : पूर्व मन्त्री बराल

0

असोज२३,२०८१ गुल्मीः नेकपा (माओवादी केन्द्रं) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले समाजबादी क्रान्तिको अगुवाई माओवादी केन्द्रले गर्ने बताउनुभएको छ ।

समाजबादको मोडेलको बारेमा पार्टी छलफल रहेको भईरहेको बताउनु हुँदै कार्य दिशा र संगठनात्मक प्रणालीमा सुधार गरि जनताको रोजाईको पहिलो पार्टी बनाईने उहाँले बताउनुभयो । पार्टी बाम एकताको पक्षमा र जनताको बुझाईको स्वतन्त्र धार निर्माणमा लागेको बरालको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र) सत्यवती गाउँपालिकाले बिजया दशमी , दिपावली, छठ पर्बको अवसरमा खैरेनीमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष बरालले नेपालको राजनीतिमा बिदेशी प्रभाव पर्ने र एमाले कांग्रेस गठबन्धनको सरकार हुनुमा त्यसको प्रभाव रहेको दाबी गर्नुभयो ।

पुर्ब मन्त्रीसमेत रहनु भएका नेता बरालले बर्तमान सरकार रक्षात्मक अवस्थामा पुगेको बताउनुभएको छ । जनताको काम गर्ने भन्दा पनि सरकार आफै रक्षात्मक अवस्थामा रहेको बताउँदै बरालले सरकारबाट जनताले अपेक्षा गर्नु ब्यर्थ रहेको बताउनुभयो। बिपत्तिको बेला सरकारको परिक्षण भएको र सरकार पुरै असफल भएकाले नेपाली जनता र मित्र रास्ट्रहरुको पनि सरकारले बिश्वास लिन नसकेको बताउनुभयो ।

लुम्बिनी प्रदेश सभाका सदस्य तथा सामाजिक विकास समितीका सभापती यम बहादुर नेपालीले नेपाली चाडपर्वले समाजिक सदभाव र भातृत्वको बिकास गरेको बताउनुभयो ।

समितीका अध्यक्ष याम तरामुको अध्यक्षता सचिब ऋषि भण्डारी को संचालनमा भएको कार्यक्रममा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष एवं पार्टीका प्रदेश समिती सचिवालय सदस्य युबराज खत्री ,जेष्ठ कम्युनिष्ट मन्चका केन्द्रिय सदस्य पुर्णबहादुर रानालगायतले चाड पर्वलाई सामाजिक रुपान्तरणको अभियानसंग जोडनु पर्नेमा जोड दिनुभयो ।