Saturday, June 6, 2026

तिजको अवसरमा मुख्य मन्त्री केशीको शुभकामना

0

भदौ १४,२०७९ रुपन्देही : नेपाली महिलाहरुको महान् पर्व “ हरितालिका तिज पर्व –२०७९” को अवसरमा प्रदेशवासी, देशबासी र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् निरन्तर समुन्नतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

हाम्रो देश नेपाल र लुम्बिनी प्रदेश बहु जाती, बहुभाषिक र बहु साँस्कृतिले भरीपूर्ण छ । यही हाम्रो देश र प्रदेशको विबिध जाती, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न सक्दछौँ । यसै भावना र मर्मलाई नेपालको संविधान–२०७२ ले पनि स्वीकार्दै विविध जाती, धर्म, सँस्कृति र समुदायको संरक्षण र सम्बद्र्धनका लागि अधिकार प्रदान गरेको कुरा सर्वविधितै छ । नेपाल र प्रदेशको विविधितालाई सम्पत्तिको रुपमा ग्रहण गरी प्रदेश सरकार अगाडि बढ्ने विश्वास दिलाउँदै संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको कार्यान्वयन सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाका लागि वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्ने कुरा यो सन्देश मार्फत अवगत गराउँदछु ।

हरितालिका तिज पर्वको अवसमा हामीले संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित संघीयताको कुशल कार्यन्वयन गर्दै समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प गरेका छौं ।

विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवाद उन्मुख व्यावस्था निर्माण गर्ने हाम्रो संविधानको संकल्प छ । यसै अनुरुप सबै चाड, पर्वलाई प्रदेश सरकारले समान पूर्वक मान्यता प्रदान गर्दै सबैको सहअस्तित्व, सहकार्य, भाइचारा, सद्भावलाई विकास गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कुरामा विश्वास गर्दछु ।


अन्त्यमा यस प्रदेशबासीको जीवनलाई समृद्ध बनाउन “समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश” बनाउने आकांक्षाको यात्रामा प्रदेश सरकार पूर्ण प्रतिवद्ध रहेको कुरा समेत व्यक्त गर्दछु ।

नेपालीहरुको हरितालिका तिज पर्व २०७९ को अबसरमा प्रदेशवाशीको हर्ष, उल्लास, सद्भाव पूर्ण भावना कायम रहोस् । समृद्ध प्रदेश निर्माणका लागि सबै प्रदेशवासी एवं समस्त नेपालीहरुमा पुनस् हरितालिका तिज पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।

आज तीज, हिन्दु महिला उमामहेश्वरको व्रत बस्दै

0
फाइल फोटो

भदौ १४,२०७९काठमाडौं : भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्।

बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ।

विवाहिताले पति र छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताले असल पतिको कामनामा व्रत बस्ने परम्परा छ। काठमाडौंस्थित पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर र दोलखाको भीमेश्वरलगायत शिवालयमा श्रद्धालुको घुइँचो लाग्छ।

तीजका लागि माइतीले चेलिबेटीलाई निम्तो गर्ने, सम्भव भएसम्म सबै दिदीबहिनीहरू एकै थलोमा जम्मा हुने, अघिल्लो दिन बेलुकी ‘दर’ खाने गर्छन्। नाचगान गरी घरव्यवहारमा पाएका दुःखकष्ट पोखेर नाचगान गर्छन्।

तीजका बेला सौभाग्यका सूचक राता वस्त्र तथा आभूषण लगाउने चलन छ। तर अचेल दर खाने नाममा एक महिनाअघिदेखि तडकभडक गर्ने, तिजको गीतमा उच्छृंखल शब्दको प्रयोग गर्ने र भड्किला पोशाक लगाउने चलन बढेको भन्दै संस्कृतिका जानकार चिन्ता व्यक्त गर्छन्।

कोभिडबाट मृत्यु भएका परिवारले एक बर्षसम्म पनि पाएनन् राहत रकम

0

हुमाकान्त पोखरेल
भदौ १३,२०७९ गुल्मी : लुम्बिनी प्रदेश सरकारले आफैले गरेको निर्णय कार्यान्वयनमा ढिलाई गर्दा कोभिडबाट मृत्यु भएका सदस्यका परिवारका मर्कामा परेका छन् ।

सरकारले कोरोनाबाट मृत्यु भएका सदस्यका परिवारलाई राहतस्वरुप एक लाख दिनेभनेपनि अझैसम्म पनि दिएको छैन । शंकर पोखरेल मुख्यमन्त्री हुँदा नै ०७७ जेठ २० गते लुम्बिनी प्रदेश सरकारले कोभिडबाट मृत्यु भएका परिवारलाई एक लाख रकम दिने निर्णय गरेको थियो । परिवारले कागजपत्र पेश गरेको लामो समयसम्म पनि रकम नपाउँदा एकातर्फ परिवारलाई आर्थिक भारले च्याप्दै गएको छ भने अर्कोतर्फ राज्यप्रतिको विश्वास पनि हराउँदै गएको छ ।

रुरुक्षेत्र गाउँपालिका –२ का सुरज बमरेलको पिसिआर गर्दा कोभिड पुष्टि भएपछि उपचारका लागि परिवारले लुम्बिनी प्रादेशिक अस्पताल लगे । तर सुरजलाई बचाउन सकेनन् । अन्तत गत बर्षकै असौज ५ गते सुरजले संसार छोडे । उनलाई उपचार र मृत्युपछि काजक्रिया गर्दाको खर्चले अहिले बमरेल परिवार थप मर्कामा छ । सरकारले दिने भनेको एक लाखबाट ऋण तिर्ने योजना बनाएको परिवार सरकारले नै धोका दिएपछि थप निराश बनेको छ ।

श्रीमती सुनिता बमरेल सरकारले आशा देखाएर पनि रकम नदिएको गुनासो गर्छिन । ‘एक लाख दिने कुरा हो, कि दिन्नौ भने हुन्थ्यो, नत्र दिए राम्रो हुनेथियो ।’ उनले भनिन्, ‘त्यही पैसाले ऋण तिर्ने भनेको अझैसम्म आएको छैन ।’ काजगपत्र लिएर वडा र गाउँपालिकामा गएपनि श्रीमानको मृत्युबापतको रकम नै नआएको उनले गुनासो गरिन् । रेसुङ्गा नगरपालिका –७ की गीता पन्थीको पनि गत बर्षकै असार ६ गते कोरोनाबाट मृत्यु भयो । मृत्युको केही दिनपछि नै परिवारले एक लाख राहतका लागि आवश्यक कागजात पेश गरे ।

तर अझैसम्म पनि राहत रकम आएको छैन । ‘राहत पाउने आशमा कागजपत्र पेश गरेको पनि एक बर्षभन्दा बढी भयो, तर अहिलेसम्म आएको छैन ।’ मृतकका देवर पिताम्बर पन्थीले भने, ‘सरकारले आश मात्र देखायो, राहत दिएन ।’

पन्थी र बमरेल परिवार त कोभिडबाट मृत्यु भएर सरकारले घोषणा गरेको राहत नपाउनेमध्येका केही प्रतिनिधिमुलक पात्र मात्रै हुन् । उनीहरुजस्तै १६७ जनाको मृत्युपछि आउने राहत रकम अझैसम्मा पनि आएको छैन । गुल्मीमा कोभिडबाट मृत्यु भएर राहतको लागि २२५ जनाले आवेदन दिएका छन् । तर हालसम्म ६७ जनाको मात्रै भुक्तानी भएको छ ।

९७ जनाको रकम निकासा भएपनि कागजी प्रक्रिया नमिल्दा पीडित परिवारको खातामा पुग्न सकेको छैन भने बाँकी ६१ जनाको अझैसम्म पनि प्रदेश सरकारले नै रकम पठाएको छैन । प्रमुख जिल्ला अधिकारी पुण्ड्य विक्रम पौडेलले प्रदेश सरकारले रकम नपठाउँदा समस्या भएको बताए । ‘आएको रकम आवश्यक पक्रिया पुगेपछि सम्बिन्धित परिवारको खातामै पठाउछौँ ।’ उनले भने, ‘प्रदेश सरकारले नै रकम छिटो पठाइदिए सजिलो हुनेथियो ।’

नरैनापुरको सुख्खा ग्रस्त क्षेत्रमा तत्काल राहतको ब्यबस्था गर्छु : मन्त्री अथक

0

भदौ १३,२०७९ बाँके : यूवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सुख्खा ग्रस्त क्षेत्र नरैनापुरको सोमबार अनुगमन गर्दै मन्त्री अथकले तत्काल राहतको व्यवस्था गराउने बताउनुभयो ।

सिँचाईको अभावमा खडेरी परेको ठहर गर्दै गाउँपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई गत साउन २६ गते सुख्खा क्षेत्र घोषणा गरेको थियो ।

नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरका जनतालाई राहत प्याकेज दिन माग गरे पनि प्रदेश र संघीय सरकार मौन भएर बसेका बेला मन्त्री अथक सोमबार नरैनापुर पुगेर सुख्खा ग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्दै उहाँले कृषकहरुलाई उचित राहतका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

लामो समय सम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली नस्ट हुनुका साथै ९० प्रतिशत रोपाई हुन नसके पछि त्यो क्षेत्रमा ठूलो मानवीय विपद तथा खाद्य संकट आउने विषयलाई ध्यानमा राखी संघीय सरकारबाट तत्काल राहतको प्याकेज उपलब्ध गराउने मन्त्री अथकले जिकिर गर्नुभयो ।

नरैनपुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले मलखाद नपाएर समस्यामा परेका किसानहरु अहिले पानी नपर्दा थप मर्कामा परेको बताउँदै सुख्खाग्रस्त क्षेत्र का कृषकहरुलाई राहत दिन माग गरे ।

घरमा भएको अन्न रोपिसकेको तर खडेरीले थप मर्कामा पर्दा किसानहरु आत्महत्या गर्ने स्थितिमा पुगेको जिकीर गर्दै उहाँले भन्नुभयो, ‘पानी नभएर आकाशको भरमा खेति गर्नुपर्ने अवस्थामा छन् । कति त अहिले आत्महत्या गर्ने स्थितिमा छन् । जे घरमा थियो, त्यो उनीहरुले रोपिसके तर पानी नपरेर रोपेको खेत पनि खडेरी भए पछि अलपत्रमा परेका छन् ।’

अनुगमन गर्न नरैनापुर पुगेका मन्त्री अथकलाई गाँउपालिका अध्यक्ष शाहले नरैनापुरका नागरिकलाई भोकमरीबाट जोगाउन सरकारले नहर र डिप बोरिङको व्यवस्था गर्नु पर्ने माग गर्नु भयो । मन्त्री अथकले नरैनापुरमा तत्काल डिप बोरिङको व्यवस्था गर्ने बताउनुभयो ।
मन्त्री अथक संगै गाँउपालिका अध्यक्ष शाह, उपाध्यक्ष जयनती देबी श्रीवस्ताव, वडा अध्यक्षहरु मसुद शाह, मनोज शर्मा लगायतको टोलीले अनुगमन गरेको थियो । मन्त्री अथक बाँके क्षेत्र नं. १ बाट निर्वाचित संघीय संसद हुन । सुख्खा ग्रस्त क्षेत्र घोषणा भएको नरैनापुर गाँउपालिका क्षेत्र नं. १ अन्तरगत पर्छ ।

६० सिटभन्दा घट्न सकिँदैन :प्रचण्ड

0
फाइल फोटो

भदौ १३,२०७९ काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा आफूहरु ६० सिटभन्दा घट्न नसकिने बताउनुभएको छ।

पार्टीको उपत्यका विशेष कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो प्रत्यक्षतर्फ १ सय ६५ सिटमध्ये आफूहरुले ६० सिटमा दाबी गरिरहेको बताउनुभयो। उहाँले प्रदेशतर्फ त्यसैको हिसाबमा १ सय २० सिटमा दाबी रहन सक्ने उल्लेख गर्नुभयो।।

उहाँले अहिले सत्ता गठबन्धन कुनै हालतमा नभत्किने भन्दै कन्फ्युज नहुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले गठबन्धनभित्र पहिलो चरणमा दलहरुले पाउने सिट संख्या टुंग्याउने र त्यसपछि कुन ठाउँमा कुन सिट कसले पाउने भन्ने निर्धारण गरिने बताउनुभयो। यहि २० गतेसम्म सिट बाँडफाँट टुंगिने दाबी समेत प्रचण्डले गर्नुभयो ।

गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा

0

टोपलाल अर्याल
गुल्मी, १३ भदौ
गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गरिएको छ । १५ महिनासम्मका बालबालिकाहरुले लगाउनुपर्ने सम्पूर्ण खोपहरु पुराभएपछि जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गरिएको हो ।

गुल्मी जिल्ला ३० चैत ०७१ मा नेपालमै सातौ जिल्लाको रुपमा पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसपछि प्रत्येक बर्ष पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गर्ने गरिएको छ । जिल्लाभन्दा पहिला वडा र गाउँपालिकाहरु पूर्ण खोप दिगोपन सुनिश्चतता घोषणा गर्नुपर्ने व्यावस्था रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

खोप कार्यक्रममले बिफर रोगको उन्मूलन, बाल मृत्युदरमा उल्लेख्य कमी, सन् २००५ देखि मातृ तथा नवशिशु धनुष्टङ्कार रोग निवारण, सन् २०१० देखि पोलियो रोग शून्य अवस्था र उन्मूलनको नजिक, जापानिज ईन्सेफलाईटिस रोग नियन्त्रण, सन् २०१८ देखि रुबेला नियन्त्रण, बालबालिकामा हेपाटाईटिस बि नियन्त्रण साथै खोपद्धारा बचाउन सकिने अन्य रोगहरूमा उल्लेखनीय कमी आएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वाथ्य निरिक्षक बोम अर्यालले जानकारी दिए । जिल्लामा खोपकेन्द्र तीन सय ३२ वटा रहेका छन् । भने १२ वटै पालिकामा खोप भण्डारण उपकेन्द्र छन् ।

पूर्ण खोप दिगोपन सुनिश्चतताका लागि विभिन्न रणनीतिक योजनाहरु निर्माण गरिएको छ । प्रभावकारी एवम् गुणस्तरीय नियमित खोप सेवा सञ्चालन, प्रत्येक वर्ष चैत्र महिना भित्र स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण, सर्वेक्षण प्रतिवेदनको समिक्षा, विश्लेषण, अभिलेख तथा प्रतिवेदन, खोप सेवाको सुदृढीकरणको लागि सुक्ष्मयोजना अध्यावधिक र छुट बच्चाहरुलाई खोप प्रदान गरिने गरेको स्वास्थ्य कार्यालय प्रमुख पशुपति आचार्यले जानकारी दिए ।
त्यस्तै स्थानीय तहको बार्षिक कार्यक्रममा पूर्णखोप घोषणा र दिगोपना कार्यक्रम समावेस र स्वीकृति, प्रत्येक वर्ष वडा, स्थानीय तह र जिल्ला सभाबाट पूर्णखोप सुनिश्चितता भएको प्रमाणिकरण, सार्वजनिक र प्रतिवेदन, खोपवाट वचाउन सकिने रोगहरुको खोज अनुसन्धान, निगरानी र रोकथाम, पूर्णखोप प्रदान गरिएको सर्वेक्षण गर्ने, प्रतिवेदन तयारी गर्ने, सरोकारवालाहरुलाई पूर्णखोप र भूमिकावारे जानकारी गराउने कार्य स्वास्थ्य संस्थाको हुनेछ ।
आफ्नो वडा, पालिका, जिल्ला पूर्णखोप सुनिश्चित गर्ने कार्यको योजना, नीति निर्माण, कार्यन्वयन, अनुगमन र घोषणा तथा दिगोपनाको व्यवस्थापन कार्यहरु स्थानीय तहको अपनत्व र नेतृत्वमा सञ्चालन हुने भएकाले पूर्णखोप कार्यक्रम स्थानीय निकायको वार्षिक कार्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता रहेको आचार्यले जानकारी दिए ।

पूर्ण खोप दिगोपन सुनिश्चतताको लागि ड्रप आउट दर कम रहेता पनि लक्ष्य अनुसार प्रगति हासिल गर्न नसकिएको जिल्ला खोप समन्वय समितिले महसुस गरेको छ । ड्रपआउट दर कम राख्न, लक्ष्य अनुसार प्रगति हासिल गर्न, रोग नियन्त्रण, निवारण र उन्मुलनको लक्ष्य प्राप्ति गर्न कार्यक्रमको सुक्ष्मयोजना, पूर्णखोप सुनिश्चितता र दिगोपनाको लागि स्थानिय तहको सक्रियता र योजना आवस्यकता रहेको पूर्ण खोप जिल्ला समन्वय समिति संयोजक जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्रीले बताए ।

खोप र खोप सामाग्री र जनशक्तिको अभाव हुन नदिनु, समुदायमा खोप नलगाउने र खोप छोड्ने कारणको पहिचान र खोप छुट बच्चाहरु लाई खोप दिई सवै बच्चाले खोप लगाएको सुनिश्चित गर्ने कार्यमा स्वास्थ्य कार्यालयको समन्वय र वडा तथा पालिकाको भूमिका महत्वपूर्ण हुने खत्रीले बताए । खोप अभियानलाई प्रभावकारी बनाउन संस्थागत खोपकेन्द्रहरुमा प्रत्येक महिना, बाह्य खोप केन्द्रमा प्रत्येक महिना, साविकका गा.वि.स.हरुको वडाहरु अन्तरगत कम्तिमा ३ देखि ५ वटा केन्द्रबाटखोप संचालन हुने गरेको छ ।

जिल्ला खोप समन्वय समितिले पूर्ण खोप दिगोपन सुनिश्चतता गर्ने १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखलाई सम्मान गरेको छ । रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले प्राप्त पूर्ण खोप दिगोपन सुनिश्चततालाई जोगाइराख्न आफुहरु सधै क्रियाशिल हुने बताए । उनले सवै नागरिकलाई खोपको पहुँच अभिबृद्धि गर्दै विभिन्न स्वास्थ्यका योजना मार्फत अझै धेरै उपलब्धि जिल्लाले हासिल गर्नुपर्ने बताए ।

१४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा गिरी पक्राउ, थापा फरार

0

भदौ १३,२०७९सल्यान : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सल्यानबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

कालिमाटी गाउँपालिका ४ का १९ वर्षीय छविलाल गिरी पक्राउ परेका हुन्।

विवाह गर्ने प्रलोभनमा पारेर १९ वर्षीय गिरी र सोही ठाउँका २० वर्षीय मेघराज थापाले लक्ष्मीपुरस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा बोलाई जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

भदौ ८ गते राति १० बजे ललाई फकाई विद्यालयमा लगी दुई जनाले जबरजस्ती करणी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो। भदौ ९ गते दिनभर जंगलमा राखी अब घर जाने भनी बालिकालाई जंगलमा नै छोडी फरार भएका थिए।

पक्राउ परेका फरार गिरीलाई सल्यान अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान थालिएको र अर्का फरार थापाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

पाल्पामा छोराले चिर्पट प्रहार गर्दा बुवाको मृत्यु

0

भदौ १२,२०७९पाल्पा : पाल्पामा छोराले चिर्पट प्रहार गर्दा बुवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा माथागढी गापा(४ झडेवास्थित नेटाका ४५ वर्षीय तिलबहादुर दिशा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। शनिबार राति ८ बजे उनका १४ वर्षीय छोराले चिर्पट प्रहार गरेका थिए।

घरमै भएको सामान्य झगडामा ती बालकले प्रहार गरेको चिर्पटले टाउकोमा लाग्दा तिलबहादुरको घटनास्थलमै मृत्यु भएको थापाले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पहिरोले घर पुर्दा छोरीसहित आमाको मृत्यु

0
फाइल फोटो

भदौ १२,०७९ रुकुमः पश्चिम रुकुमको आठबीसकोट नगरपालिका १४ पिपलचौरमा आईतबार आएको पहिरोमा परेर एक घरमा ओत लागेका दुई बर्षीया छोरीसहित आमाको मृत्यु भएको छ। पहिरोमा पुरिएकी एक बालिकाको जीवितै उद्धार गरिएको छ।

पिपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा दुई आमाछोरीको मृत्यु भएको प्रहरीले जनाएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोट जिल्लाको भेरी नगरपालिका १ मैदैकी ३० बर्षीया बालमती राना र उनकी दुई बर्षीया छोरी प्रतीक्षा राना रहेका छन्।

जेठी छोरी ६ बर्षीया तिर्सना रानाको भने जीवितै उद्धार गरिएको आठबीसकोट नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष हुकुम पुनले बताए। घटना आइतबार दिउँसो साढे तीन बजेतिर भएको थियो।

आईतबार जाजरकोटको नलगाड नगरपालिका १ स्थित माइतीघरबाट तीजको दर खाएर घर फर्कने क्रममा पानी पर्दा उनीहरु पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए। सोही समयमा भवन माथिबाट एक्कासी आएको पहिरोमा परेर उनीहरु पुरिएका हुन्।

नेपाल प्रहरी, आठबीसकोट नगर प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउने क्रममा सामुदायिक भवनको झ्यालमा चेपिएको अवस्थामा तिर्सनाको उद्धार गरिएको र दुई जनाको शव निकालिएको वडा अध्यक्ष पुनले बताए।

घाइते तिर्सनालाई भेरी नगरपालिका १ रिम्नामा प्राथमिक उपचार गरेर जिल्ला अस्पताल जाजरकोट ल्याइएको छ। उनको अवस्था सामान्य रहेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलाले बताए।

वडा अध्यक्ष पुनका अनुसार पहिरोले सोही ठाउँमा रहेको एक काष्ठ उद्योगसमेत पुरेको छ। पहिरोले स्थानीय अनु जैसीको घर र शौचालय पुरेको छ भने सामुदायिक वनको भवन पूर्ण रुपमा क्षति भएको छ।

पहिरोसँगै आएको बाढीले स्थानीयका केही घर जोखिममा छन् भने धानखेती बगाएको छ। क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ। यो समाचार हामीले थाहाखबरबाट लिएका हौँ ।

रामपुरमा ४ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न

0

सुशीला रेग्मी
भदौ १२,२०७९ पाल्पा (रामपुर) : भु–उपयोग वर्गीकरण, घर नक्शा तथा व्यवसाय सम्बन्धी अभिमुखीकरण कार्यक्रम रामपुर नगरपालिका ४ पाल्पामा भएको छ । वडाध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नगर प्रमुख रमणबहादुर थापाले गर्नुभएको हो ।

नगर प्रमुख थापाले प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम संचालन भइरहेको बताउनुहुदै नगरपालिकाले तोकेको मापदण्ड अनुसार खोलिएको सडक आसपासका क्षेत्रलाई आवासिय र सडक नपुगेका जग्गालाई कृषि क्षेत्रमा विभाजन गरिने बताउनुभएको छ ।

वडामा भए गरेका कार्यक्रमको सन्दर्भमा वडाध्यक्ष रानाले जानकारी गराउनुभएको छ । मालपोत कार्यालय रामपुरका प्रमुख होमबहादुर थापा र रामपुर नगरपालिकाका प्राबिधिक प्रमुख रन्जन न्यौपानेले भु उपयोग वर्गीकरण, घर नक्शा तथा व्यावसाय सम्बन्धी कार्यक्रम सहजिकरण गर्नुभएको हो ।

कार्यक्रममा निवर्तमान वडाध्यक्ष एकबहादुर नेपाली, नेकपा एमाले वडा कमिटी अध्यक्ष डिलबहादुर कौशी लगायतले आफ्ना धारणा राख्नुभएको छ । कार्यपालिका सदस्य सिमादेवी रानाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन वडा सचिव सविता रानाले गर्नुभएको हो ।