पहिरोले घर पुर्दा छोरीसहित आमाको मृत्यु

0
154
फाइल फोटो

भदौ १२,०७९ रुकुमः पश्चिम रुकुमको आठबीसकोट नगरपालिका १४ पिपलचौरमा आईतबार आएको पहिरोमा परेर एक घरमा ओत लागेका दुई बर्षीया छोरीसहित आमाको मृत्यु भएको छ। पहिरोमा पुरिएकी एक बालिकाको जीवितै उद्धार गरिएको छ।

पिपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा दुई आमाछोरीको मृत्यु भएको प्रहरीले जनाएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोट जिल्लाको भेरी नगरपालिका १ मैदैकी ३० बर्षीया बालमती राना र उनकी दुई बर्षीया छोरी प्रतीक्षा राना रहेका छन्।

जेठी छोरी ६ बर्षीया तिर्सना रानाको भने जीवितै उद्धार गरिएको आठबीसकोट नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष हुकुम पुनले बताए। घटना आइतबार दिउँसो साढे तीन बजेतिर भएको थियो।

आईतबार जाजरकोटको नलगाड नगरपालिका १ स्थित माइतीघरबाट तीजको दर खाएर घर फर्कने क्रममा पानी पर्दा उनीहरु पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए। सोही समयमा भवन माथिबाट एक्कासी आएको पहिरोमा परेर उनीहरु पुरिएका हुन्।

नेपाल प्रहरी, आठबीसकोट नगर प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउने क्रममा सामुदायिक भवनको झ्यालमा चेपिएको अवस्थामा तिर्सनाको उद्धार गरिएको र दुई जनाको शव निकालिएको वडा अध्यक्ष पुनले बताए।

घाइते तिर्सनालाई भेरी नगरपालिका १ रिम्नामा प्राथमिक उपचार गरेर जिल्ला अस्पताल जाजरकोट ल्याइएको छ। उनको अवस्था सामान्य रहेको जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलाले बताए।

वडा अध्यक्ष पुनका अनुसार पहिरोले सोही ठाउँमा रहेको एक काष्ठ उद्योगसमेत पुरेको छ। पहिरोले स्थानीय अनु जैसीको घर र शौचालय पुरेको छ भने सामुदायिक वनको भवन पूर्ण रुपमा क्षति भएको छ।

पहिरोसँगै आएको बाढीले स्थानीयका केही घर जोखिममा छन् भने धानखेती बगाएको छ। क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ। यो समाचार हामीले थाहाखबरबाट लिएका हौँ ।

SHARE