Saturday, June 6, 2026

गुल्मीमा ६२ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर

0

हुमाकान्त पोखरेल
भदौ २४,२०७९ गुल्मीः गुल्मीमा झण्डै ६२ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर रहेका छन् ।

गत तीन बर्ष बर्षदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएपनि ६१.६६ प्रतिशत नागरिक अझैपनि बीमाको पहुँचमा पुग्न सकेका छन् । तीन बर्षसम्म जिल्लामा जम्मा ३८.३३ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् ।

२०७८ को जनगणनाअनुसार जिल्लामा कुल दुई लाख ४६ हजार ५५८ जनसङ्ख्या छ । जसमध्ये ९४ हजार ५२९ जनाको मात्रै स्वास्थ्य बीमा गरिएको छ भने बाँकी एक लाख ५२ हजार २९ जनाको स्वास्थ्य बीमा हुन सकेको छैन ।
सरकारले गुल्मीमा ०७६ साल माघ २१ गतेदेखि स्वास्थ्य बीमाको कार्यक्रम सुरु गरेको थियो । उक्त कार्यक्रमअन्तरगत तीन हजार पाँच सयमा एक परिवारका पाँच जनाको बीमा हुन्छ । उक्त रकमबाट बीमित कुनै पनि सदस्यलाई रोग लागेमा वा अकस्मात दुर्घटनामा परेमा एक लाखसम्मको उपचार तोकिएको स्वास्थ्य संस्थाबाट निःशुल्क प्राप्त हुन्छ ।

आर्थिक बर्ष ०७६÷७७ मा जिल्लामा तीन हजार आठ परिवारका सात हजार ८१७ नागरिकले स्वास्थ्य बीमा गराए । ०७७÷७८ मा २१ हजार १५८ परिवारका तीन लाख ५८ हजार ८५० नागरिक स्वास्थ्य बीमाको कार्यक्रममा सहभागि भए । त्यस्तै आ.व. ०७८÷७९ मा १५ हजार ९५२ परिवारका २८ हजार ३८० नागरिकले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्ड, शाखा कार्यालय, गुल्मीका प्रमुख डेकेन्द्र बहादुर विष्टले जानकारी दिए ।

गुल्मी अस्पतालको तथ्याङ्कमा पनि कुल सेवाग्राहीमध्ये बीमा गरेका सेवाग्राही कम देखिन्छ । गत आर्थिक बर्षमा गुल्मी अस्पतालमा कुल ६९ हजार चार जनाले सेवा लिए । जसमध्ये २१ हजार छ सयले मात्रै बीमा गराएका थिए । जुन ३१.३० प्रतिशत मात्रै हो । बाँकी ६८.६९ प्रतिशत अर्थात ४७ हजार ४०४ सेवाग्राहीले बीमा नगरेको अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए ।

अस्पतालले स्वास्थ्य बीमा नभएका १२ वटा लक्षित समुहको लागि सामाजिक सेवा इकाईमाफर्त निःशुल्क वा बिरामीको प्रकृतिअनुसार उपचारमा छुट दिदैँ आएको छ । उक्त कार्यक्रमअन्तरगत गत आर्थिक बर्षमा ९७४ जनाले आठ लाख २१ हजार ८९३ रुपैँयाको सेवा लिएका छन् । अस्पतालमै गत आर्थिक बर्षमा बीमित सेवाग्राही र बीमा नगरेका सेवाग्राहीबीचको सेवाको शुल्क भने ठिक उल्टो छ ।

कुल सेवाग्राहीमध्ये ३१.३० प्रतिशत सेवाग्राहीले चार करोड ७३ लाख ७८ हजार ४५३ रुपैँयाको सेवा लिएका छन् भने ६८.६९ प्रतिशत सेवाग्राहीले एक करोड २४ लाख १८ हजार ६८३.२५ रुपैँयाको सेवा लिएका छन् । अस्पतालका लेखापाल भिमखनालले बीमित सेवाग्राहीले सबै प्रकारका सेवा लिन खोज्दा रकम बढी आएको बताए ।

गुल्मी जिल्लाभर ९३ जना स्वास्थ्य बीमाका कार्यक्रता छन् । बीमा गराएबापत बीमा कार्यक्रताले निश्चित रकम पनि प्राप्त गर्दछन् । तर तीन बर्षमा जिल्लामा ज्यादै न्यून सङ्ख्यामा मात्रै नागरिक स्वास्थ्य बीमाको कार्यक्रममा सहभागि भएका छन् । स्वास्थ्य बीमा बोर्डका प्रमुख विष्टले सम्बन्धित पालिकाहरुले बीमासम्बन्धि सचेतना कार्यक्रम बढाएमा बीमित नागरिकको सङ्ख्या थप हुने बताए ।

गुल्मी १ बाट संघीय निर्वाचनका लागि प्रचण्ड सिफारिस

0
फाइल फोटो

भदौ २४,०७९ गुल्मीःनेकपा माओवादी केन्द्र गुल्मी – १ ले आगामी निर्वाचनको लागि प्रतिनिधि सभा र प्रदेश सभाका लागी नौ जना उम्मेदवार सिफारिस गरेको छ ।

आज बसेको पार्टीको क्षेत्रीय समन्वय समितिको बैठकले प्रतिनिधि सभा सदस्यमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित अन्य दुई जनालाई सिफारिस गरेको जिल्ला संयोजक बुद्धि जिसीले जानकारी दिए ।

जिसीका अनुसार प्रतिनिधि सभा सदस्यको लागि अध्यक्ष प्रचण्ड सहित पोलिटि ब्यूरो सदस्य लक्ष्मण पन्त, प्रदेश कमिटी सदस्य पुनराम ज्ञवाली सिफारिसमा परेका छन ।

त्यस्तै प्रदेश क बाट लुम्बिनी प्रदेशका अध्यक्ष शुदर्शन बराल,केन्द्रिय सदस्य श्रृजना तरामु मगर र कालीगण्डकी गाउँ कमिटिका अध्यक्ष लिलबहादुर केसि सिफारिसमा पर्दा प्रदेश ख बाट जिल्ला सचीव अशोक थापा, प्रदेश ख का रामचन्द्र कडेंल र वाईसीएल गुल्मीका अशोक श्रेष्ठ सिफारिसमा परेको नेकपा माओवादी केन्द्र गुल्मीले जानकारी दिएको छ ।

माओवादी केन्द्रद्धारा गुल्मी –२ को लागि तीनजनाको नाम सिफारिस

0

हुमाकान्त पोखरेल

गुल्मी, २४ भदौ : नेकपा माओवादी केन्द्रले आगामी मंसिर –४ गते हुने निर्वाचनमा गुल्मी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

धुर्कोट गाउँपालिकाको बर्बोटमा सम्पन्न निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नम्बर २ को प्रथम भेलाले भिमकान्त भण्डारी, निम बहादुर पाण्डे र विरबहादुर कार्कीको नाम सिफारिस गरेको हो । संघमा सिफारिसमा परेकामध्ये मालिका गाउँपालिका –५ निवासी भण्डारी माओवादी केन्द्रको विशेष प्रदेश कमिटीका सदस्य हुन् । उनी पूर्व कर्मचारी समेत हुन् ।

धुर्कोट गाउँपालिका –६ निवासी पाण्डे जनयुद्धकालदेखि नै माओवादी आन्दोलनमा सक्रिय छन् । उनी हाल पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेको जिल्ला समन्वय समिति संयोजक बुद्धि जिसीले राजधानी राष्ट्रिय दैनिकलाई जानकारी दिए । त्यस्तै मालिका गाउँपालिका –५ निवासी कार्की हाल पार्टीको केन्द्रीय सदस्य र जिल्ला समन्वय समिति सदस्य छन् । उनी समन्वय समिति छोडेर निर्वाचन लड्ने दाउमा छन् ।

भेलाले प्रदेशतर्फका आकांक्षी उम्मेदवारको नाम पनि सिफारिस गरेको छ । क्षेत्र नम्बर २ को ‘क’ मा खुम बहादुर थापा, दुर्गा विक र ठाकुर पाण्डे एवम् ‘ख’ को लागि बुद्धि जिसी, बिनिता रोका पोखरेल र गोपाल कुँवरको नाम सिफारिस गरिएको छ । सिफारिसमा परेकामध्ये थापा, जिसी र पोखरेल प्रदेश कमिटी सदस्य हुन् । पाण्डे क्षेत्र नम्बर २ ‘क’ को सचिवको जिम्मेवारीमा छन् । कुँवर पार्टीको धुर्कोट गाउँकमिटी अध्यक्ष छन् भने विक क्षेत्र नम्बर २ को सचिवको जिम्मेवारीमा रहेको माओवादी केन्द्रले जनाएको छ ।

कार्यक्रममा सिफारिस उम्मेदवारका साथै केन्द्रीय परिषद् सल्लाहकार समिति सदस्य टंक प्रसाद पोखरेल, प्रदेश कमिटी सदस्य भुपाल पोखरेल, ज्ञान कुमार बुढा, रुपकलाल श्रेष्ठ, जिल्ला सचिव एवम् प्रदेश सदस्य अशोक थापा लगायत क्षेत्र नम्बर २ अन्तरगतका पालिकाका पार्टी पदाधिकारीहरु, प्रदेश कमिटी सदस्य लगायतको उपस्थिति रहेको थियो ।

सिट बाँडफाँटमा गठबन्धनभित्र समस्या छैन : प्रचण्ड

0
फाइल फोटो

भदौ ४,२०७९ कास्की : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं प्रचण्डले सत्ता गठबन्धनका दलहरु आसन्न प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको नजिक पुगेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा आज उनले गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा ठूलो समस्या नरहेको बताए । उनले दलहरु समझदारी र सहमतिको नजिक पुगेको समेत स्पष्ट पारेका छन् ।

नेताहरूको अन्यत्र कार्यक्रम नपरेको भए हामी हिजो नै टुङ्गोमा पुगिसक्ने थियौँ । कतिपय बेला म उद्योग परिसङ्घको कार्यक्रममा जानुपर्ने, कतिपय बेला माधव नेपालको पर्ने र कतिपय बेला प्रधानमन्त्रीको कार्यक्रम परेका कारण हिजो केन्द्रित भएर लाग्न पाएनौँ । आज ३ बजेपछि शीर्ष नेताको बैठक बसेर टङ्गोमा पुग्नेछौँ, प्रचण्डले भने ।

प्रचण्डले विभिन्न जिल्लाबाट आफूलाई आसन्न निर्वाचनमा उम्मेदवार बन्नका लागि आग्रह गरेको भएपनि चितवनभन्दा बाहिर जाँदा सन्देश राम्रो नजाने भएकाले चितवनबाटै चुनाव लड्ने स्पष्ट पारेका छन् ।

चितवन छाड्दा सन्देश राम्रो हुँदैन, जित्छु भन्नेमा पूर्ण विश्वासमा छु । हुन त म फरक फरक ठाउँबाट चुनाव लडेँ । प्रचण्ड देशभरिका जनताको हो भन्ने सन्देश दिनु थियो । अहिले चितवन छाडेर हिँड्दा डराएर हिँडेको भन्ने हुन्छ । मैले त्यहाँ जित्छु पनि,उनले भने ।

प्रचण्डले नागरिकता विधेयक दोस्रो पटक दुवै सदनबाट पारित भएर गइसकेपछि राष्ट्रपतिले पारित गर्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपतिलाई यताउता गर्ने अधिकार छैन । त्यसकारण हामी आशा गर्छौं यो पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ ।

राष्ट्रपतिले दोस्रो पटक प्रमाणीकरण नगर्ने हो भने दुईवटा सम्भावना छ । पहिलो, यो विषय अदालतमा जान्छ । दोस्रो, राष्ट्रपतिले राजीनामा दिनुपर्ने स्थिति आउन सक्छ,प्रचण्डले भनेका छन् ।

विपद् न्यूनिकरणमा सशस्त्र प्रहरी गुल्मीको जनचेतनामुलक कार्यक्रम

0

हुमाकान्त पोखरेल
गुल्मी, २५ भदौ : सशस्त्र प्रहरी बल, गुल्मीले विपद् न्यूनिकरणसम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

रेसुङ्गा नगरपालिका –१३ दुविचौरस्थित घोर्ले माध्यमिक विद्यालय कक्षा ९ र १० का ६० जना विद्यार्थीहरुलाई बिहीबार प्रशिक्षण दिइएको हो ।

प्रशिक्षणमा विपद्को परिभाषा, विपद् हुने कारण, तत्काल सुरक्षित हुने उपाय, विपद्को दीगो न्यूनिकरण गर्ने उपाय, सहयोगको लागि अपिल गर्ने निकाय लगायतका बिषयमा जनकारी गराइएको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक निवनकुमार खड्काले जानकारी दिए ।

कार्यक्रममा सशस्त्र प्रहरीले विपद् न्यूनिकरणका क्षेत्रमा गर्ने कामको बारेमा पनि प्रोजेक्टरको माध्यमबाट जानकारी गराइएको थियो ।

साथै तत्काल आफ्नो घर वा छिमेकमा विपद्जन्य घटना भएमा नेपाल प्रहरी वा सशस्त्र प्रहरीलाई जानकारी गराउन पनि खड्काले आग्रह गरिएको खड्काले बताए ।

गुल्मीमा भोली बिद्युत सेवा बन्द हुने

0
नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र गुल्मी कार्यालयको तस्विर : तिलाचन पाण्डे

भदौ २४,२०७९ गुल्मी : गुल्मीमा भोली शनिवार २५ गते बिद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले आज एक सूचना जारी गर्दै शनिवार बीरवास स्थित ३३ र ११ केभी सवस्टेशनमा रहेका ११ केभी ब्रकरहरुको मर्मत संभार गर्नुपर्ने भएकाले बिद्युत सेवा अवरुद्ध हुने केन्द्र प्रमुख इश्वरकुमार श्रेष्ठद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

सोही अनुसार ११ केभी सवस्टेशनका फिडरहरु बलिथुम,मजुवा,हुँगाबाट वितरण भएका क्षेत्रहरु चन्द्रकोट, छत्रकोट,गुल्मीदरबार,इश्माको हस्तिचौर, मुसिकोटको वामी र रेसुंगा नगरपालिकाको भाडगाँउ,उर्लेनी र भगेरीका क्षेत्रहरुमा बिहान साढे ८ बजेदेखि साँझ ५ बजेसम्म बिद्युत सेवा अवरुद्ध हुने वितरण केन्द्र गुल्मीले जनाएको छ ।

तोकिएको समय अगावै काम सम्पन्न भएमा लाईन सुचारु गर्न सकिने वितरण केन्द्र गुल्मीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

६० लाखको पार्कमा बालबालिकाहरुको रजाइँ ,संरक्षणमा छैन नगरको ध्यान

0
तम्घासमा रहेको थ्रिडी पार्कमा बालबालिकाहरु । तस्बिरः खबरमार्केट

भदौ २२ ,२०७९ गुल्मीः ६० लाखमा निर्माण भएको थ्रिडी पार्क संरक्षणको अभावमा यसै अलपत्र पर्न थालेको छ ।

रेसुंगा नगरपालिका र लुम्बिनी प्रदेशको ५०÷५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा पार्क निर्माण गरिएको हो । निर्माण भएको लामो समय सम्म पार्क संचालनमा नआउँदा संरचनाहरु बिग्रिएर पछि नगरपालिकाको करिब पाँच लाख रकममा संरचना मर्मत गरेको थियो । सो पार्कको संरचनामा अहिले बालबालिकाहरुको संरचनामा मनलाग्दी रजाइँ चल्न थालेको छ ।

पार्कको गेटमा ताला लगाए पनि बालबालिकाहरुले बाहिरी भागबाट प्रवेश गर्ने र पार्कको संरचनामा मनलाग्दी चलेको छ । उनीहरुले पार्कको भित्री भागमा जम्मा भएको पानीमा पौडी खेल्ने र संरचनाहरुमा तोडफोड समेत गर्न थाल्दा नगरपालिकाले पार्क संरक्षणमा चेष्टा दिएको छैन् ।

पहिले लाँकुरी मञ्चको नाममा चिनिने सो स्थलको पहिचाननै अहिले गुमेको छ । लामो समय पार्कले आफ्नो पहिचान स्थापित गर्न नसक्नु र संरक्षणमा ध्यान नदिनु दुःखद पक्ष भएको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताए ।

उनले विभिन्न संघ संस्था, संगठन र दलहरुले सरकारको अगाडी उभिएर सरकारलाई नै खबरदारी गर्ने बर्षौको इतिहास बोकेको लाँकुरी मञ्च भत्काएर नौटंकी गरिएको आरोप लगाए ।
पाण्डेले पार्कलाई पहिलेकै लाकुरी मञ्चमा स्थापित गर्नुपर्नेमा जोड दिए । जसले पार्कको परिकल्पना गरेको हो त्यो नै जवाफदेही हुनुपर्ने उनको तर्क छ ।

यता रेसुंगा नगरपालिका वडा नम्वर ७ का वडाअध्यक्ष तथा प्रवक्ता रामजी पन्थीले पार्क संरक्षणका लागि पछिल्लो समयमा ध्यान नगएको स्विकार गरे । उनले यस बिषयमा नगरप्रमुख संग बसेर पनि छलफल गरेको दाबी गर्दै एक दूई दिन भित्रैमा पार्क संचालनको बिषयमा नयाँ निर्णय लिइने दाबी गरे ।

पहिरोका कारण राजमार्ग अवरुद्ध

0
फाइल तस्विर

भदौ २२,२०७९ : पहिरो खस्दा मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ। सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।

बुधबार बिहान ४ बजेदेखि निरन्तर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए। उनका अनुसार राजमार्ग अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाबाट मध्यपहाडी राजमार्ग हुँदै गुड्ने सवारीसाधन बाटोमै थन्किएका छन् ।

इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले अहिले पहिरो पन्छाइरहेको छ। स्थानीयवासीको सहकार्यमा पहिरो पन्छाउने काम भइरहेको कँडेलले बताए।

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

0

भदौ २१ ,२०७९ गुल्मी : गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–४ जैसिथोक निवासी ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिए ।

मंगलवार बिहान रानालाई आफनै घरको छडमा पास भएको करेन्ट लागि २ तला माथिबाट खसेर घाइते हुनुभएको थियो । उनकोे उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको खरेलले बताए ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मी पर्वत जोड्ने पक्की पुल अलपत्र

0
गुल्मी पर्वत जोडने निर्माणधिन पक्की पुल ।तस्विर :खबरमार्केट

गीताकुमारी बस्याल
भदौ २१,२०७९ गुल्मीः गुल्मी र पर्वत जोडने पक्की पुल निर्माणको कार्य लामो समय देखी अलपत्र परेको छ ।

गुल्मीको कालीगण्डकी गाउँपालिका पुर्तिघाट र पर्वतको बियादी गाउँपालिका जोडने गरी कालीगण्डकी नदिमा निर्माण गर्न लागिएको पक्की पुल लामो समयदेखी यसै अलपत्र परेको हो ।

तत्कालिन तम्घास सिमलटारी प्युठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्रालि काठमाडौ बीच २०७३ साल भदौ ३१ गते १४ करोड ६७ लाख ७६ हजार ५०९ रुपियाँ ११ पैसामा सम्झौता भएको थियो ।

सम्झौता अनुसार सो निर्माण ब्यवसायीले २०७६ साल चैत ३० गते कार्यसम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको थियो ।
अहिले सो सम्झौता भएको कार्यालय नै खारेज भएको छ भने तत्कालिन समयमा सो कार्यालयसंग सम्झौता भएका योजनाहरु हेर्ने जिम्मा मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले पाएको छ ।

यता सो निर्माण कम्पनीका सम्पर्क ब्यक्ति सुरेन्द्र लम्सालले भुगोलका कारण समयमै काम सम्पन्न गर्न नसकेको बताउनुभएको छ । भुगोलका कारण निर्माण सामग्रीहरु निर्माण स्थलसम्म लैजान पनि समस्या भएको बताउँदै कालीगण्डकी नदिको वहाव बढने भएकाले वर्षको तीन महिना पनि काम गर्न नसकिएको उनको भनाई छ ।

पछिल्लो तोकिएको समय अवधिसम्म काम सक्ने गरी आफूहरुले योजना बनाएको उनको दाबी छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीका सूचना अधिकारी वीरेन्दप्रकाश तेलीले कालीगण्डकी पुलको निर्माण कार्यमा ढिलाइ भएको बताए । तोकिएको समयमा कार्य सम्पन्न हुन नसक्नुको कारण केहो त भन्ने प्रश्नमा उनले कालीगण्डकी नदिमा पानीको वहाव बढी हुने र एक वर्षमा करिव तीन महिना मात्र काम गर्न सकिने भएकाले समयमै काम सम्पन्न गर्न नसकिएको उनको तर्क छ ।
त्यसका साथै बीचमा कोभिड लगायतका समस्याले पनि निमार्ण कार्यमा ढिलाइ भएको तेलीको भनाई छ ।

सार्वजनिक खरिद नियमवालीको १२ संसोधन अनुसार २०८० साल असार मसान्त सम्म काम सम्पन्न गर्नुपर्ने प्रावधान रहेकाले सो समय अवधिसम्म कार्य सम्पन्न गर्नका लागि कार्यालयको तर्फबाट हरदम प्रयास गर्ने कार्यालयले जनाएको छ ।