Saturday, June 6, 2026

नेपाल–चीन बीचको व्यापार घाटा कम गर्न अध्यक्ष प्रचण्डको चिनियाँ पक्षसँग आग्रह

0

भदौ २८,२०७९काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष लि चानशु नेतृत्वको प्रतिनिधि मण्डलसँग भेटवार्ता गर्नुभएको छ ।

मंगलवार बिहान बानेश्वरस्थित संसद भवनमा भेटवार्ता गर्दै अध्यक्ष प्रचण्डले विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारी मार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन निम्ति चिनियाँ पक्षसँग आग्रह गर्नुभयो । अध्यक्षले बीआरआई लगायतका परियोजना मार्फत भैरहेका आयोजनाहरुको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिनुभयो ।

सो अवसरमा उहाँले नेपालमा दशैं, तिहार लगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढी सहितका नाकाहरु तात्काल खोल्न आग्रह गर्नुभयो । उहाँले नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

दुई पार्टीबीचको सम्वन्ध कुटनैतिक मात्र नभई बैचारिक र भावनात्मक विषय पनि भएको उहाँको भनाई थियो । ‘हामी चीनियाँ कम्युनिष्ट पार्टीको २० राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौं । राष्ट्रपति सीजिङपिङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भातृत्वको विकासका लागि महाधिवेशन सफल बनोस् ।’

उहाँले नेपाल एक चीन नीतिप्रति दृढ रहेको उल्लेख गर्दै नेपाली भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नदिनेमा सजग रहेको बताउनुभयो । चीनियाँ पक्षको तर्फबाट महामहिम अध्यक्ष चानशुले नेपाल चीनको असल मित्र रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकता सधैं सम्मान गर्ने बताउँदै एक चीन नीति र चीनको सुरक्षा चासोमा सदैव सकारात्मक रहेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले नेपालको विकास र समृद्धिको बाटोमा चीन सधैं साथमा रहेको बताउँदै नेपाल–चीन बीचको व्यापार घाटा कम गर्न र सीमा नाका खुलाउनका लागि पहल गर्ने बताउनुभयो ।

विद्यार्थीको रोजाईमा धुर्कोट परमानन्द भण्डारी क्याम्पस

0

हुमाकान्त पोखरेल
भदौ २८,२०७९ गुल्मीः मुसिकोट नगरपालिका –३ थुम्काकी रीता रिजालले विगत डेढ बर्षदेखि धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा अध्ययन गर्छिन् ।

उनी अहिले स्नातक दोस्रो बर्षमा अध्ययनरत छिन् । धुर्कोट गाउँपालिका –५ वस्तुस्थित उक्त क्याम्पसमा पढ्दा उनले अहिलेसम्म एक रुपैँया पनि मासिक शुल्क बुझाएकी छैनिन् । ‘मासिक शुल्क लाग्दैन, पुस्तक पनि निःशुल्क पाइन्छ ।’ उनले भनिन्, ‘खाली समयमा कम्युटर सिक्ने पनि अवसर छ, त्यो पनि निःशुल्क नै हो ।’ वस्तु आएको एक बर्ष क्याम्पसप्रमुख ऋषीराम पाण्डेको घरमा कोठा लिएर बसिन् ।

पाण्डेले पनि कोठाबापतको रकम लिएनन् । गत चैतदेखि रिजाल क्याम्पसकै होस्टलमा बस्दै आएकी छिन् । ‘खाना र कापि, कलमभन्दा अरु खर्च हुँदैन ।’ रिजालले भनिन्, ‘लोकसेवाका कक्षामा पनि क्याम्पसको तर्फबाट सहजिकरण हुँदै आएको छ ।’ उनले मुसिकोट मैदानको पृथ्वी माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तिर्ण गरेकी हुन् ।

मालिका गाउँपालिका –२ ह्वाङ्दिका विष्णु घिमिरेले रेडियोबाट क्याम्पसमा निःशुल्क रुपमा पढ्न पाइने विज्ञापन सुने । सोही विज्ञापनको आधारमा घिमिरे क्याम्पसमा भर्ना भए । अर्थशास्त्र बिषयमा स्नातक तेस्रो बर्ष अध्ययन गर्ने घिमिरे विगत ढाई बर्षदेखि वस्तु बस्दै आएका छन् । उनी अहिले शिवालय मन्दिरको पाठशाला भवनमा बस्छन् । ‘क्याम्पसमा पढाई पनि राम्रै छ, कोठाभारा कत्तिपनि तिर्नुपर्दैन ।’ घिमिरेले भने, ‘कम खर्चमा पढ्न सकिने सूचना रेडियोबाट सुनेर आएको, आएजस्तै भयो ।’

रिजाल र घिमिरे त क्याम्पसमा अध्ययन गर्ने केही प्रतिनिधिमुलक पात्र मात्रै हुन् । क्याम्पसमा हाल सातजना विद्यार्थी होस्टलमा बसेर अध्ययन गर्छन् । होस्टलमा बसेबापत उनीहरुले कत्तिपनि शुल्क तिर्नुपर्दैन । त्यसका अलवा पानी र बिजुली शुल्क पनि क्याम्पसले नै तिरिदिने गर्छ । क्याम्पसले गत चैतबाट होस्टल संचालनमा ल्याएको थियो ।

नेता, शिक्षक र कर्मचारी पनि विद्यार्थी

क्याम्पसमा भर्खर कक्षा १२ पास गरेका विद्यार्थी मात्र होइनन्, जनप्रतिनिधि, पार्टीका नेता, शिक्षक र कर्मचारी समेत भर्ना भएका छन् । पूर्व क्याम्पस प्रमुख कृष्णप्रसाद भण्डारीको समन्वयमा धुर्कोट गाउँपालिकाका उपाध्यक्ष सीता गिरी, मदाने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्का, मदाने गाउँपालिका –५ का वडाध्यक्ष हिमाल खड्का भर्ना भएका छन् ।

त्यस्तै माओवादी केन्द्र धुर्कोटकी सचिव एवम् पूर्व कार्यपालिका सदस्य कमला घर्ती, शिक्षक चन्द्र बहादुर विक, खिम बहादुर केसी, ज्योती श्रीस एवम् कर्मचारी माया गैरे र रामचन्द्र सुनार परमानन्द क्याम्पसमै भर्ना भइ अध्ययन गरिरहेका छन् । धुर्कोटकी उपाध्यक्ष गिरीले केही महिनाअगाडी संचालन भएको स्नातक दोस्रो बर्षको परीक्षा दिएकी छिन् । क्याम्पस स्थापना गर्दा २०६५ सालमा २७ जना विद्यार्थी रहेका थिए । उक्त सङ्ख्या बढेर ०७० सालमा ८३ जना र हाल २५३ जना विद्यार्थी भर्ना भएको लेखापाल नारायण पाण्डेले बताए । क्याम्पसमा अहिले शिक्षा र मानविकी शंकाय संचालनमा छ ।

चार बर्ष निःशुल्क शिक्षा

स्नातक तहमा निःशुल्क अध्ययन प्राय कमै हुन्छ । क्याम्पसले भर्नाबापत दुई हजार पाँच सय लिने गरेको छ । त्यसपछिको चार बर्षसम्म त्रिभुवन विश्वविद्यालयले लिने परीक्षा र रजिष्ट्रेशन शुल्कबाहेक विद्यार्थीले कुनै शुल्क बुझाउनुपर्दैन । त्यसका साथै विद्यार्थीले निःशुल्क रुपमा पुस्तक अध्ययन र कम्युटर सिक्न पाउछन् ।

अहिले क्याम्पसमा सातवटा कम्युटर रहेको लेखापाल पाण्डेले बताए । जसका कारण गाउँको क्याम्पस भएर पनि पछिल्लो समय धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विश्वविद्यालयबाट आउने अनुदान र क्याम्पसको मुद्धती खातामा रहेको दुइ करोडभन्दा बढी रकमले संचालन खर्च पुगेको पाण्डेको भनाई छ ।

क्याम्पस प्रमुख ऋणीराम पाण्डेले क्याम्पसप्रति सबैको सकारात्मक धारणा भएकाले विद्यार्थीको रोजाइमा पर्ने गरेको बताए । धुर्कोट गाउँपालिकाले प्रतिबर्ष कम्तिमा पाँच लाख र प्रदेश सरकारले पनि आवश्यक सहयोग गरेको उनले बताए ।

होस्टल पनि पालिका, क्याम्पसको आन्तरिक रकम र प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको पाण्डेको भनाई छ । क्याम्पसमा पछिल्लो पाँच बर्षमा एक करोडभन्दा बढीका संरचना निर्माण भएका छन् । अहिले पनि खेल मैदान र अपुग कोठा बनाउने कार्य चलिरहेको क्याम्पस प्रमुख पाण्डेले बताए ।

बागलुङ र पर्वत जोड्ने झोलुंगे पुलले बढायो आन्तरिक तथा बाह्य पर्यटक

0

भदौ २७
बागलुङ : दुई वर्ष अघिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या न्यून थियो। धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे।

तर अहिले बजारमा समेत आन्तरिक पर्यटकको भिड हुने गरेको छ। बागलुङ र पर्वत जोड्ने विश्वकै लामो दाबी गरिएको झोलुंगे पुल निर्माण भएपछि यहाँ आउने पर्यटकको संख्या बढेको छ।

पुल निर्माणपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेका छन्। धौलागिरीका चार जिल्लासहित मुलुकका विभिन्न ठाउँबाट आउने पर्यटकले बागलुङ बजारमा रौनक छाएको छ। लामो पुलमा विशेषगरी युवायुवतीको भिड हुने गरेको पाइन्छ। पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको संख्या निकै बाक्लो देखिन्छ।

पर्यटकको आगमनमा वृद्धि भएपछि बागलुङका होटल व्यवसाय पनि फस्टाउन थालेका छन्। होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले विगतका वर्षको तुलनामा यो वर्ष बागलुङमा पर्यटक बढेको बताए। उनले लामो पुलले गर्दा पर्यटक बढेको र होटल व्यवसाय पनि फस्टाएको बताए।

लामो पुलले गर्दा पछिल्लो समय विगतको तुलनामा पर्यटक बढेका कारण नयाँ होटल थपिएका छन्’, अध्यक्ष चोखालले भने, ‘दुई वर्ष कोरोनाले थला परेको होटल व्यवसाय अहिले उठ्न थालेको छ, होटल व्यवसायी पनि उत्साहित छन्।’

हरेक वर्ष करिब ढेड लाखको हारहारीमा पर्यटक आउने गरेकोमा यो वर्ष दुई लाखभन्दा बढी आएको उनले बताए। उनका अनुसार बागलुङ कालिकामा आउने २५ प्रतिशत पर्यटक मात्रै बागलुङ बजार उक्लिने गरेकोमा अहिले बढेर करिब ४५ प्रतिशतको हाराहारी पुगेका छन्।​

बागलुङ बजार हुँदै पञ्चकोट र सुरुङभित्र रहेको शालिग्राम संग्रहालय हेर्न जानेको संख्या पनि उत्तिकै छ। पर्यटन विकास समिति बागलुङका अध्यक्ष तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बागलुङको पर्यटनमा प्रवर्धनमा टेवा पुगेको बताए। उनले छोटो समयमा धेरै प्रचार हुँदा पुलमा आउने पर्यटकको संख्या बढेको बताए।

‘विश्वको लामो पुलले बागलुङको पर्यटन प्रवर्धन गर्न गर्न निकै ठूलो भूमिका खेलेको छ, अहिले रहेक दिन पुलमा सयौँको संख्यामा मान्छेहरु आउँछन्’, अध्यक्ष खड्काले भने, ‘पुलमा मात्रै होइन, अहिले कालिका, शालिग्राम संग्राहलय र पञ्चकोटमा पनि पर्यटकको आगमन बढेका कारण पर्यटन व्यवसायीलाई पनि उत्साहित बनाएको छ।’

खड्काले मुस्ताङ जाने पर्यटक पनि बागलुङ भित्रिन थालेको भन्दै यहाँका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई तीव्रता दिने बताए। उनले पुल वरपरका स्थानमा पर्यटकलाई आकर्षण गर्ने पूर्वाधार निर्माणसँगै बत्ती जडान गर्ने बताए।

अहिले जडान भएको बत्ती आधा भागमा मात्रै बलेकाले त्यसले करेन्ट लाग्ने जोखिम बढेपछि नयाँ जडान गर्न थालिएको छ। नयाँ बत्ती जडान गर्न १२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। त्यसका लागि बागलुङ र कुश्मा नगरपालिकासँग सहकार्य गरेको खड्काले जानकारी दिए।

‘सिंगल स्पान’ मा संसारकै लामो दाबी गरिएको यो पुल ५६७ मिटर लामो छ। वि।सं २०७७ सालदेखि सञ्चालनमा आएको यो पुल बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोडिएको छ। पुल करिब नौ करोड २५ लाख रुपैयाँमा सम्पन्न भएको हो। थाहाबाट

संघीयता खतरामा छ : मुख्यमन्त्री कुलप्रसाद केसी

0

भदौ २७,२०७९ रुपन्देही : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयताको कार्यालयको लागि संघ, प्रदेश र स्थानीयतहको बीचमा उचित तालमेल गरेर मात्रै संघीयता बलियो हुने बताउँदै संविधानले दिएको अधिकार अनुसार सरकार सञ्चालन नगरेमा संघीयता खतरामा रहेको बताउनुभयो ।

प्रदेश समन्वय समितिको छैठौ बैठकलाई सम्वोधन गर्दै कपिलबस्तुमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानले प्रदान गरेको अधिकार सूचीलाई पालना गरी अगाडि नबढेमा देशमा सत्ता सञ्चालनमा समस्या हुने भन्दो नेपालको संविधानले सहकार्य, अहअस्तित्व र समझदारीमा सञ्चालन गर्नु पर्ने बताउनुभयो ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशसरकारको ४ वटा गौरवको आयोजनालाई साकार पार्नका लागि निरन्तर सरकार अगाडि बढेको बताउँदै करिव २० वर्षपछि लुम्बिनी प्रदेश सबै हिसावले सुन्दर र हराभरा आहाँ प्रदेश बन्न सक्ने दावी गर्नुभयो ।

उहाँले लुम्बिनी प्रदेशको राजधानी निर्माण, लुम्बिनी प्रादेशिक बिषेशज्ञ अस्पताल निर्माण, लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना र पाल्पाको रामपुरदेखि रोल्पाको पाटिहाल्नसम्मको मुख्य सडक निर्माण गरिने बताउनुभयो । मुख्यमन्त्री केसीले यीनै गौरवको आयोजनाहरु निर्माणमा प्रदेश समनवय समितिले निर्णय गरिने बताउनुभयो ।

उहाँले लुम्बिनी प्रदेश सरकारले लिएको योजनाहरु पुर्णताका लागि लुम्बिनी प्रदेश सरकार, जिल्ला समन्वय र स्थानीयतहको सहकार्यमा भएको कार्यक्रमहरुले नै परिणाम देखिएको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारका मुख्यन्त्री कुलप्रसाद केसीक लुम्बिनी प्रदेशभित्रका प्रत्येक स्थानीयतहका १÷१ वटा गौरवको आयोजनाहरु निर्माण गरी प्रदेशमा रिफारिस गर्नका लागि समितिले निर्देशन प्रदेश सरकारले गरेको बताउँदै त्यसलाई पनि नीतिगत निर्णय गरिने बताउनुभयो ।

उहाँले प्रदेभभित्रका जनताहरुलाई न्याय सेवा प्रदान गर्नका लागि स्थानीय पालिकाहरुको न्यायिक समितिलाई सहजीकरण एवं कानूनमा सहयोग गर्नका लागि कानून अधिकृतको नियुक्ति गर्नका लागि समेत नीतिगत व्यवस्था गरिनु पर्ने बताउनुभयो ।

बैठकका अध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री केसीले खानीजन्य, नदी जन्य लगायतका बस्तुहरुको विक्री एवं निकासीलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

साथै लुम्बिनी प्रदेश सरकारले बैज्ञानिक बन व्यवस्थानपनको कार्यवधि अगाडि बढी सकेकोले बन व्यवस्थापन गरी प्रदेश सकारको र स्थानीयतहकोको आम्दानी आयोजना निर्माण गरेको बताउनुभयो ।

उहाँले लुम्बिनी प्रदेशमा हुने आत्महत्या, लैंगिक हिंसा, जातीय विभेद लगायत सामाजिक विभेद न्यूनिकरण गर्नका लागि प्रदेश समन्वय परिषद्ले अगुवाई गर्दै अगाडि बढाउनु पर्ने बताउनुभयो । सामाजिक सचेतनाका लागि सबै सरोकारवाला निकायको सहकार्यमा कार्य सम्पादन गर्नुपर्ने बताउनुभो ।

मुख्यमन्त्री केसीले विपतलाई समामना गर्नका लािग संघ, स्थानीयतहको समन्वय प्रदेशले गरी नागरिकहरुको उद्धार गर्नुपर्ने बताउनुभो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकरका मन्त्री, राज्यमन्त्री, सम्वनय परिषदका सदस्य, मन्त्रालयका सचिवहरुको सहभागीतामा सम्पन्न भएको थियो । सदस्यहरुले आफ्नो जिल्लामा काम गर्दा भएका समस्याहरुको बारेमा छलफल तथा समीक्षा गरिरहेको थियो ।

छलफलमा जिल्ला समन्वय समितिको अधिकारको क्षेत्र, स्थानीयतहको काम र कतव्र्य, न्यायायिक समितिको बारेमा, जनशक्तिको अभाव, कार्यक्रम लागु गर्ने सन्दर्भमा अगाडि बढेको छ ।

समितिले संविधानले प्रदान गरेको एकल र साझा सूचीका अधिकारहरुलाई पालना गर्नका लागि एक अर्काको सहकार्यतामा कार्यसम्पादन गर्नका लागि यो सम्वन्वय परिषद्को गठन गरिएको हो ।

हाल स्थानीयतहको २०७९ साल बैशाख २० गते सम्पन्न भएको निर्वाचनबाट नयाँ जनप्रतिनिधीहरु आएपछि समितिलाई पुर्णगठन गरिएको बताइएको छ ।

पार्टी फेरवेदलको होडबाजी

0

दिवाकर पोख्रेल
भदौ २७,२०७९ देउखुरी : बैशाखमा स्थानीय तहको निर्वाचनको समयमा तातिएका राजनीतिक दलहरु फेरी आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकदै फेरी सक्रियता बढ्न थालेको छ । सक्रियता संगै राजनीतिक दलका नेता कार्यकर्ता पार्टी फेरबेदलमा लाग्न थालेका छन् । स्थानीय तहको निर्वाचनमा लामो समय एउटा पार्टीमा रहेका नेता कार्यकर्ताहरु पार्टी परिवर्तनमा लागेका थिए । अहिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकदै गर्दा फेरी तेही लहर चलेको छ ।

विशेषगरी दाङमा नपाली काँग्रेसको तुलनामा अन्य पार्टीका नेता कार्यकर्तामा तरलता देखिन थालेको छ । दाङको बंगलाचुली गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट माओवादीको तर्फबाट २०७४ सालको निर्वाचनमा उपाध्यक्ष सहितका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । यस्तै गरेर नेकपा (माओवादी केन्द्र) का दाङ जिल्लाका इञ्चार्जबाट केहि समय राजीनामा दिएर स्वतन्त्र बसेका जीवन गौतम पनि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

यस्तै जनता समाजवादी पार्टीको दाङको जिल्ला कमिटि नै नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ । जसपाका केन्द्रिय सदस्यहरु प्रकाश चौधरी, होमप्रसाद शर्मा, लक्ष्मी चौधरी लगायतका नेताको नेतृत्वमा दाङका नेता कार्यकर्तागरी एकसय ६७ जना (माओवादी केन्द्र)मा प्रवेश गरेको (माओवादी केन्द्र) दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार (माओवादी केन्द्र) पार्टी परित्याग गरी अन्य पार्टी प्रवेश गरेकाहरुलाई घर फर्क अभियान संचालन गरेर पार्टी भित्र भित्राउन प्रयास भइरहेको छ । एक हप्ताको विचमा माओवादी पार्टी परित्याग गरी अन्य पार्टीमा प्रवेश गरेका एकसय नौजना र नयाँ प्रवेशी दुइसय एघारजना गरी तीनसय २० जनालाई पार्टीमा भित्राएको माओवादीले दावी गरेको छ ।

यस्तै नेकपा एमालेले पनि अन्य पार्टीबाट एमालेमा प्रवेश गराउने अभियान नै संचालन गरेको छ । नेकपा एमालेका दाङ जिल्ला सचिव मनोहर बुढाथोकीका अनुसार स्थानीय तहको निर्वाचन पछि एमालेका एक हजार एकसय ५२ जना प्रवेश गरेका छन । एमालेमा प्रवेस गर्ने मध्ये (माओवादी केन्द्र) बाट बढी रहेको एमाले दाङले जानकारी दिएको छ ।

जलविद्युत आयोजनासँग जोडिएका जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्छ : ऊर्जा मन्त्री

0

काठमाडौँ, २७ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत आयोजनासँग जोडिएका प्राविधिक, वित्तीय, पर्यावरणीय, प्राकृतिक प्रकोपलगायत जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल हाइड्रो पावर एसोसिएसन र इन्टरनेसनल हाइड्रोपावर एसोसिएनको आज यहाँ आयोजना गरेको Building Back Better and Greener with Sustainable Hydropower विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले जलविद्युत आयोजनाहरुको दिगो विकासका लागि भरपर्दो र बलियो संरचनाहरु निर्माण गर्न, वातावरणलाई न्यून असर गर्दै प्रभावित समुदायको जीवनस्तरलाई गुणस्तरीय बनाउन सरकार लागि परेको बताउनुभयो । मन्त्री भुसालले जनताको गुणस्तरीय जीवनका लागि आवश्यक कानून, निर्देशिका र मापदण्डहरु तयार गरी लागू गरेको स्पष्ट पार्नुभयो ।

हरित ऊर्जा, विशेषगरी जलविद्युत र नवीकरणीय ऊर्जाको दिगो विकासका लागि अन्तर्राष्ट्रिय अनुभव र अभ्यास, नयाँ प्रविधिको विकास समेतलाई ध्यानमा राख्दै सम्मेलन सम्पन्न हुने विश्वास व्यक्त गर्दै मन्त्री भुसालले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरोकारवालाहरूको छलफलबाट महत्वपूर्ण सुझाव प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

जलवायु परिवर्तनको कारण अप्रत्यासित बाढी पहिरो, भूक्षयजस्ता प्राकृतिक प्रकोप, जैविक विविधतामा ह्रास लगायतका असरहरु भोग्नु परिरहेको उल्लेख गर्दै उहाँले दिगो रुपमा जलविद्युत आयोजनाका विकास, व्यवस्थापन र उपयोग गर्ने विषय अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो ।

गुणस्तरीय र भरपर्दो विद्युत सेवा उपलब्ध गराउन जलविद्युत आयोजना, प्रसारण एवं वितरण लाइन तथा सब–स्टेशनहरु निर्माणमा विशेष प्राथमिकता दिईएको बताउँदै मन्त्री भुसालले जलविद्युतको विकासका लागि सार्वजनिक–निजी साझेदारी, सहकारी र स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानीलाई परिचालन गरी व्यवस्थित रूपमा आयोजना विकासलाई अघि बढाउने नीति लिइएको जानकारी दिनुभयो ।

१० ठेकेदार कम्पनी कालोसूचीमा

0

भदौ २७,२०७९ काठमाडौं : सरकारले १० वटा निर्माण कम्पनीलाई डेढ वर्षसम्म कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सोमबार सूचना प्रकाशन गर्दै कालोसूचीमा पर्ने १० वटा कम्पनी र ठेकेदारको नाम सार्वजनिक गरेको हो।

कालोसूचीमा पर्नेहरूमा देवेन्द्र तेल उद्योग, वीरगन्ज उपमहानगरपालिका–१०, पर्सा सञ्चालक देवेन्द्र प्रसाद चौरसियालाई एक वर्ष, धर्यता निर्माण कम्पनी प्रालि रामारोसन–३, अछाम सञ्चालक सुनिल बहादुर रावललाई एक वर्ष, किसन रक्तकाली पावर क्वालिटी जेभि काठमाडौँ सञ्चालक पशुपति उप्रेतीलाई एक वर्ष कालोसूचीमा राखेको छ।

त्यसै गरी हर्कादेवी विल्डर्स प्रालि कामनपा–१०, नयाँबानेश्वर सञ्चालक प्रकाश धामीलाई एक वर्ष, प्यासिफिक कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी प्रालि वीरगन्ज ३ पर्सा सञ्चालक प्रशान्त प्रसाद केसरीलाई एक वर्ष तीन महिना, पृथ्वी कन्स्ट्रक्सन, वर्दगोरिया गापा–४, कैलाली सञ्चालक शिवराज सापकोटालाई एक वर्ष, रन्नु भन्नु कन्स्ट्रक्सन एन्ड सप्लायर्स, जनकपुरधाम उपनपा– १० धनुषा सञ्चालक राखी कुमार शाहलाई एक वर्ष, रोज कन्स्ट्रक्सन, तार्केश्वर १, काठमाडौँ सञ्चालक रमेश कुमार तामाङलाई एक वर्ष, सानो भेरी निर्माण सेवा सिम्ली, मुसीकोट ५, रुकुम सञ्चालक सन्तोष रोकालाई एक वर्ष, लामा च्याङ्ग मिलासुन्दरी जेभी, काठमाडौँ सञ्चालकहरू निमा लामा शेर्पा, पेम्बा लामा शेर्पा, हरिबहादुर मोक्तान, बालकृष्ण थापालाई एक वर्ष ६ महिना कालोसूचीमा राखेको सार्वजनिक खरिद अनुगमन कार्यालयका कानुन अधिकृत प्रशंसा अधिकारीले जानकारी बताएकी छन्।

विभिन्न सरकारी सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम मन्त्रीपरिषद् कार्यालयको २०७९ भदौ २६ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ कालोसूचीमा राखेको कार्यालयले जनाएको छ। यो अवधिभर यी कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैन।

लुम्विनी सहित तीन प्रदेशमा दिउँसो भारी वर्षाको सम्भावना

0
फाइल फोटो

भदौ २७,२०७९काठमाडौं : बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा सोमबार दिउँसो भारी वर्षाको सम्भावना छ।

देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारी वर्षा हुने स्थानमा बाढी तथा पहिरोको जोखिम रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ। राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

समाजवादी गुल्मीले टुंगायो सबै निर्वाचन क्षेत्रमा उम्मेदवार

0

हुमाकान्त पोखरेल

भदौ २६,२०७९ गुल्मीः नेकपा एकीकृत समाजवादी गुल्मीले जिल्लाका सबै निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार टुंगाएको छ ।

शनिबार पार्टीको जिल्ला कमिटी बैठकले दुई संघ र चार प्रदेश एवम् समानुपातिकतर्फका पनि उम्मेदवार टुंगाएको हो । जसअनुसार क्षेत्र नम्बर १ को लागि प्रमेश पोखरेल र क्षेत्र नम्बर २ को लागि रामकुमारी झाँक्री सिफारिस भएका छन् ।

त्यस्तै क्षेत्र नम्बर १ को ‘क’ मा रामजी ज्ञवाली र झवी पाण्डे, ‘ख’ मा सुरेन्द्र कडेल, टेकराज अर्याल, क्षेत्र नम्बर २ को ‘क’ मा कर्णध्वज जिसी एवम् ‘ख’ मा जीवराज अर्याल र युवराज लम्साल सिफारिस परेका छन् ।

प्रदेश समानुपातिकतर्फ कालिका देवी पाण्डे, सन बहादुर बुचा, नगेन्द्र किरण ठकुरी, माया घर्ती, चन्द्र सुनार, गुञ्ज नेपाली, कमला बराल र रामप्रसाद पन्त रहेका छन् । त्यस्तै संघीय निर्वाचन क्षेत्रको समानुपातिकतर्फ गणेश विक, निर्मला पोखरेल र हरी छन्त्याल रहेको समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादी गुल्मीले नेता प्रमेश पोखरेललाई जिल्ला इन्र्चाज बनाउन पनि निर्णय गरि केन्द्रमा पठाएको छ ।

कृषि उद्योगको विकासबाट१० वर्षमै आर्थिक चमत्कार गर्न सकिन्छः प्रचण्ड

0
फाइल फोटो

भदौ २६,२०७९ काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताएका छन् ।प्रचण्डले नेपाललाईकृषि उद्योगको विकासबाट१० वर्षमै आर्थिक चमत्कार गर्न सकिने बताए।

राजधानीमा आइतबार आयोजित युवा समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले, ‘हामीले चाहेमा चमत्कार गर्न सकिन्छ। हामी राजनीतिलाई अब विकास र समृद्धिका लागि लाग्न सक्छौं। देशलाई १० वर्षमै समृद्ध बनाउन सक्छौं।उनले देशको अर्थतन्त्र झनै पछाडी धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने धारणा राखेका छन्।

उनले भने,५०(६० वर्ष अगाडि हामी खाद्यान्नमा आत्मनिर्भर थियौँ । हामी सबैचिज निर्यात गर्न सक्ने अवस्थामा थियौँ ।आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतित गर्ने बताउंदै प्रचण्डलेलक्ष्यप्राप्तिका लागि दृढ हुनुपर्नेमा जोड दिएका छन् ।

राजनीतिक एजेन्डामा अब अल्झिरहने अवस्था नरहेकाले देशलाई विकासको मार्गमा लानुपर्ने उनको भनाई थियो।