बागलुङ र पर्वत जोड्ने झोलुंगे पुलले बढायो आन्तरिक तथा बाह्य पर्यटक

0
235

भदौ २७
बागलुङ : दुई वर्ष अघिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या न्यून थियो। धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे।

तर अहिले बजारमा समेत आन्तरिक पर्यटकको भिड हुने गरेको छ। बागलुङ र पर्वत जोड्ने विश्वकै लामो दाबी गरिएको झोलुंगे पुल निर्माण भएपछि यहाँ आउने पर्यटकको संख्या बढेको छ।

पुल निर्माणपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेका छन्। धौलागिरीका चार जिल्लासहित मुलुकका विभिन्न ठाउँबाट आउने पर्यटकले बागलुङ बजारमा रौनक छाएको छ। लामो पुलमा विशेषगरी युवायुवतीको भिड हुने गरेको पाइन्छ। पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको संख्या निकै बाक्लो देखिन्छ।

पर्यटकको आगमनमा वृद्धि भएपछि बागलुङका होटल व्यवसाय पनि फस्टाउन थालेका छन्। होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले विगतका वर्षको तुलनामा यो वर्ष बागलुङमा पर्यटक बढेको बताए। उनले लामो पुलले गर्दा पर्यटक बढेको र होटल व्यवसाय पनि फस्टाएको बताए।

लामो पुलले गर्दा पछिल्लो समय विगतको तुलनामा पर्यटक बढेका कारण नयाँ होटल थपिएका छन्’, अध्यक्ष चोखालले भने, ‘दुई वर्ष कोरोनाले थला परेको होटल व्यवसाय अहिले उठ्न थालेको छ, होटल व्यवसायी पनि उत्साहित छन्।’

हरेक वर्ष करिब ढेड लाखको हारहारीमा पर्यटक आउने गरेकोमा यो वर्ष दुई लाखभन्दा बढी आएको उनले बताए। उनका अनुसार बागलुङ कालिकामा आउने २५ प्रतिशत पर्यटक मात्रै बागलुङ बजार उक्लिने गरेकोमा अहिले बढेर करिब ४५ प्रतिशतको हाराहारी पुगेका छन्।​

बागलुङ बजार हुँदै पञ्चकोट र सुरुङभित्र रहेको शालिग्राम संग्रहालय हेर्न जानेको संख्या पनि उत्तिकै छ। पर्यटन विकास समिति बागलुङका अध्यक्ष तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बागलुङको पर्यटनमा प्रवर्धनमा टेवा पुगेको बताए। उनले छोटो समयमा धेरै प्रचार हुँदा पुलमा आउने पर्यटकको संख्या बढेको बताए।

‘विश्वको लामो पुलले बागलुङको पर्यटन प्रवर्धन गर्न गर्न निकै ठूलो भूमिका खेलेको छ, अहिले रहेक दिन पुलमा सयौँको संख्यामा मान्छेहरु आउँछन्’, अध्यक्ष खड्काले भने, ‘पुलमा मात्रै होइन, अहिले कालिका, शालिग्राम संग्राहलय र पञ्चकोटमा पनि पर्यटकको आगमन बढेका कारण पर्यटन व्यवसायीलाई पनि उत्साहित बनाएको छ।’

खड्काले मुस्ताङ जाने पर्यटक पनि बागलुङ भित्रिन थालेको भन्दै यहाँका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई तीव्रता दिने बताए। उनले पुल वरपरका स्थानमा पर्यटकलाई आकर्षण गर्ने पूर्वाधार निर्माणसँगै बत्ती जडान गर्ने बताए।

अहिले जडान भएको बत्ती आधा भागमा मात्रै बलेकाले त्यसले करेन्ट लाग्ने जोखिम बढेपछि नयाँ जडान गर्न थालिएको छ। नयाँ बत्ती जडान गर्न १२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। त्यसका लागि बागलुङ र कुश्मा नगरपालिकासँग सहकार्य गरेको खड्काले जानकारी दिए।

‘सिंगल स्पान’ मा संसारकै लामो दाबी गरिएको यो पुल ५६७ मिटर लामो छ। वि।सं २०७७ सालदेखि सञ्चालनमा आएको यो पुल बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोडिएको छ। पुल करिब नौ करोड २५ लाख रुपैयाँमा सम्पन्न भएको हो। थाहाबाट

SHARE