Friday, June 5, 2026

रामपुरमा बाघको मूर्ति शुभारम्भ तथा सरसफाई अभियान

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), १२ असोज
रामपुर नगरपालिका वडा नं ६ मा सरसफाई तथा बाघको ढाडमा बाघको मुर्ति निर्माण शुभारम्भ कार्यक्रम भएको छ । तालपोखरा टोल विकास समितिका अध्यक्ष थिरलाल ढकालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

 

यस क्षेत्रलाई धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाबाट विनियोजित रु दुई लाख वजेटबाट यहाँ बाघको मूर्ति निर्माणको काम थालनी गरिएको अध्यक्ष ढकालले जानकारी दिनुभएको छ ।

नगर प्रमुख रमणबहादुर थापाले कालीगण्डकीको किनारमा रहेको यो क्षेत्रमा नदीको किनारै किनार पैदलमार्ग निर्माण गर्ने नगरको योजना रहेको बताउनुभयो । कला संस्कृतिको संरक्षणमा नगरले आवश्यक सहयोग गर्ने बताउनुहुदै नगर प्रमुख थापाले विजयादशमी तथा शुभदिपावलीको शुभकामना दिनुभएको छ ।

तालपोखरा युवा समूहले पन्चेबाजा बजाएर दशैलाई स्वागत गर्दै सरसफाई कार्यक्रम शुरु गरिएको हो । पुरानो संस्कृतिलाई जगेर्ना गर्दै संस्कृति बचाउन बाजा बजाएर कौवा क्षेत्रमा टोल विकास संस्थाको अगुवाईमा स्थानीयले सरसफाई गरेका हुन् । पहिला पहिला गाउँघरमा बाजा बजाएर, भजनकृतन गर्दै सामुहिक रुपमा गाउँघर सरसफाई गरी दशैको स्वागत गर्ने परम्परा थियो । पूरानो परम्परा अहिले गाउँबाट हराउन पुगेको छ । यहाँका स्थानीयले वडा कार्यालयको सहयोगमा मौलिक संस्कृतिलाई अनुशरण गरी पहिलेजसो नै बाजा बजाएर गाउँघर सरसफाई अभियान कार्यमा जुटेको स्थानीय हुमा देवकोटाले बताउनुभएको छ ।


वडाध्यक्ष दिवाकर देवकोटाको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको हो । वडाका ११ वटै टोल विकास संस्थाको सक्रियतामा सरसफाई अभियान कार्यक्रम शुरु भएको छ । सबै टोल विकास संस्थालाई वडा कार्यालय मार्फत पिङ राख्न एक÷एक वटा डोरी उपलब्ध गराउने वडाले जनाएको छ ।

हराएका दुई बालिका पोखरामा भेटिए

0

असोज १२,२०७९ नेपालगञ्ज :बाँकेको राप्तीसोनारीको कुसुमबाट हराएका दुई जना बालिका एकसातापछि पोखरामा भेटिएका छन्।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरिया निवासी ११ वर्षीया बन्दना बि।क र निशा परियार एकसातापछि पोखरामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले दुबै बालिका पोखरामा सकुशल अवस्थामा फेला परेको जानकारी आएको बताए। उनिहरु यही असोज ४ गते राती घरबाटै हराएका थिए।

हराएको सातदिनपछि उनि दुबैजना पोेखरामा फेला परेको डीएसपी मल्लले बताए। ‘बालिकाहरु पोखरामा फेला परेको जानकारी हामीलाई आएको छ, उनीहरु कसरी र को सँग त्यहाँ पुगे भन्ने कुरा अनुसन्धानबाट खुल्छ,’ उनले भने। दुबैका परिवारले आफन्त कहाँ जताततै खोजी गर्दा पनि बालिकाहरु कतै फेला परेका थिएनन् ।

ईलाका प्रहरी कार्यालय कुसुमका सई पुष्करराज जोशीले बालिकाहरु पोखरामा भेटिएको खोजी गर्न त्यहाँ पुगेका परिवारकै सदस्यले जानकारी दिएको बताए।

जोशीले बन्दना बिक यसअघि परिवारसँग पोखरा गएको र त्यहाँबाट फर्केपछि पनि कहिले काही पोखरामा फोन गर्ने गरेको हुँदा त्यतै गएको शंका लागेर खोजी गर्न परिवारका सदस्यलाई त्यहाँ पठाएकोमा बालिकाहरु पोखरामा सकुशल अवस्थामा भेटिएको कुरा फोनमार्फत जानकारी आएको बताए।

गत मंगलबार बेलुका करिव ८ बजेतिर घरमा खाना खाएर सुत्ने क्रममा उनीहरु एक्कासी हराएका थिए। बालिका हराएको दुई दिनपछि ईलाका प्रहरी कार्यालय कुुसुममा खोजी गरिदिन निवेदन दर्ता गराइएको थियो।

दुबै बालिकाको आमा दोस्रो बिबाह गरेर अन्यत्रै गएका छन्। बुवाले दोस्रो बिबाह गरेपछि निशा मावली हजुरबुवासँग र बन्दना कान्छी आमा तथा हजुरआमासँग बस्दै आएकी थिइन्। थाहाबाट

आज देखी निर्वाचन आचारसंहिता लागू

0

असोज १२,२०७९काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचारसंहिता लागू भएको छ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको जानकारी दिए।

‘आयोगले असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ’, उनले भने। उनले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको समेत बताए।

आयोगले गत भदौ १३ गते आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो। स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो।

जीप दुर्घटनामा ८ जनाको मृत्यु

0

असोज १२,२०७९ सल्यान :सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

बाँकेको धकेरीबाट सल्यानको रिमकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्सपेक्टर सन्तोष खनालले जनाकारी दिए।

मृत्यु हुनेको परिचय खुल्न सकेको छैन। एकजना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनास्थलमा अहिले प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरिरहेका छन्।

रामपुरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम

0

सुशीला रेग्मी
असोज ११,२०७९ पाल्पाः पाल्पाको रामपुर नगरपालिका वडा नं ४ देविस्थानमा समुदाय प्रहरी साझेदारी कार्यक्रम तथा विजयादशमी शुभदिपावली एवम् छठपर्व २०७९ को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

वडाध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा कार्यक्रम भएको हो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले कार्यक्रमको सहजिकरण गर्नुभएको हो । उहाँले प्रहरीको काम कर्तव्य र अधिकार सम्बन्धमा जानकारी दिनुभएको छ ।

लागू औषध, आत्महत्या, साइबर अपराध लगायतका विषयमा प्रहरी निरिक्षक देवकोटाले सहजिकरण गर्नुभएको हो । वडाध्यक्ष रानाले वडाको प्रथम चौमासिक प्रतिवेदन पढेर सुनाउनुभएको छ ।

कार्यक्रममा नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने, नेपाली कांग्रेस रामपुर नगरपालिका वडा नं ४ वडा कार्यसमितिका सभापति थर्कबहादुर राना, नेकपा एमाले वडा कमिटि अध्यक्ष डिलबहादुर कौशी, सीताराम माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी, मरदसा नुरुल हुदा अहले सुन्नत प्राथमिक विद्यालयका प्रधानाध्यापक नागेन्द्रप्रसाद काफ्ले, निवर्तमान वडा सदस्य मकबुल मिया, साविक दर्छा गाविस उपाध्यक्ष लुकबहादुर बिरकट्टा, रानिवन तथा बडभान सामुदायिक वन समुहका अध्यक्ष प्रेमबहादुर पोखरेल, नगर शिक्षा समिति सदस्य सावित्रा गौतम र प्रेस सल्लाहकार दानु हिस्की मगरले बोल्दै शुभकामना दिनुभएको छ ।
वडा सदस्य महम्मद अजिम शेखले धन्यवाद दिनुभएको कार्यक्रममा वडा सदस्य मोहन रानाले स्वागत र संचालन वडा सचिव सविता रानाले गर्नुभएको हो ।

 

 

 

 

 

 

रेविज रोगबाट बच्न कुकुर बन्ध्याकरण खोप

0

दिवाकर पोख्रेल
असोज ११,२०७९ देउखुरी :रेविज रोगबाट बच्नको लागि दाङ देउखुरीमा स्थानीय सरकारले कुकुर बन्ध्याकरण तथा सुई लगाउने कार्यलाई तिब्रता दिन थालेका छन् ।

दाङको लमही नगरपालिकाले पछिल्ला दुइवटा आर्थिक बर्षमा गरेर हालसम्म करिब पाँचसय सामुदायिक कुकुरको बन्ध्याकरण गरिसकेको छ । यसवर्ष पनि बन्ध्याकरण शिविरको आयोजना गर्न बजेट विनियोजन गरेको छ । लमही नगरपालिका पशु सेवा उप–शाखाका प्रमुख शिवराज न्यौपानेले संक्रमित कुकुर तथा जनावरले मानिसलाई टोक्दा लाग्ने रेबिज रोगलाई खोपका माध्यमबाट रोकथाम गर्न सकिने भएकाले बन्ध्याकरण संगै खोपको कार्यक्रम समेत आयोजना गरिने बताउनुभयो । यस्तै गरेर राप्ती गाउँपालिकाले अभियान नै संचालन गरेर घरमा पालिएका कुकुर, बिराला र सामुदायिक (छाडा) कुकुरलाई खोप लगाउन थालेको छ । कुकुर र बिरालाहरुका लागि निःशुल्क रेबिज खोप कार्यक्रम असोज साताबाट संचालन गरिएको हो ।

झन्डै कुकुर विराला गरेर एकसय बढीलाई खोप लगाएपनि सबै कुकर बिरालालाई खोपको दायरामा ल्याउन सकिएको छैन । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पालिका भित्रका सबै कुकुर बिरालामा खोप लगाउने योजना भएकाले गाउँवासीमा सूचना नै जारी गरेर रेविज खोप लगाउन सहयोग गर्न आग्रह गरेको जानकारी दिनुभयो ।

पछिल्लो समय कुकुरले टोकेका बिरामीहरु रेविज खोपको लागि अस्पताल धाउन थालेपछि पालिकाले रेविज विरुद्धको खोप लगाउने अभियान नै थालेका हुन । देउखुरीको लमही अस्पतालमा मात्र रेबिज बिरुद्धको खोप लगाउने गरिएको छ । स्वास्थ्य चौकीमा रेबिज बिरुद्धको खोप राख्ने गरिएको छैन । राप्ती गाउँपालिका सिसहनियाँका स्वास्थ्य चौकीका प्रम्ुख धनबहादुर खड्काले स्वास्थ्य चौकीमा रेबिज बिरुद्धको खोप लगाउने आउने संख्या बढेपनि आफुहरुले खोप लगाउने लमही अस्पतालमा पठाउने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ खोपको लागि हामीले लमही अस्पताल पठाउने गरेका छौ, रेबिजबाट जोगिन कुकुर र बिरालालाई खोप लगाउनु नै हो ।’ राप्ती गाउँपालिकाले पनि चालु आर्थिक वर्षमा सामुदायिक कुकुरको संख्या घटाउन बन्ध्याकरण शिविर चलाउने योजना बनाएको छ । मानिसमा संक्रमण भएर रेविज लागेमा बिरामीलाई बचाउन सकिदैन । नेपालमा वार्षिक करिब एकसय जनासम्मले रेबिजका कारण ज्यान गुमाउने गरेको सरकारी विवरण छ । रेबिज संक्रमण भएका जनावरले मानिसलाई टोकेमा त्यस्ता जनावरको ¥यालबाट रोग सर्न सक्ने चिकित्सकहरू बताउँछन् । रेबिज भाइरस शरीरमा प्रवेश गरेपछि फैलिनका लागि केही दिनदेखि महिनांैसम्म पनि लाग्न सक्ने चिकित्सकको भनाइ छ ।

एमाले नेतृत्वको महागठबन्धनमा को–को ?

0

असोज ११,२०७९ काठमाडौं :सत्तारूढ राजनीतिक दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबिच चुनावी गठबन्धन कायमै छ। स्थानीय निर्वाचनमा गठबन्धन बनाएर चुनाव लडेका ती दलहरू प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि संयुक्त उम्मेदवार उठाएर चुनाव लड्दैछन्।

तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गठबन्धन बनाएर चुनाव लडिरहेकोबारे खास चर्चा हुने गरेको छैन। सत्तारूढ दलले गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा जाँदा एमालेले पनि आफूसँग मुद्दा र व्यवहार मिल्ने पार्टीसँग सहकार्य र गठबन्धनको प्रयत्न गरिरहेको छ। कतिपय साना दलहरू एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लड्ने तयारी गरिरहेका छन्।

सत्तारूढ गठबन्धनमा पनि तत्कालको मुद्दा एउटै भएकाले कार्यनीतिक सहकार्यमा छन्। विगतमा अलग अलग धारमा रहेर राजनीति गरेका शक्तिहरू २०७७ पुस ५ मा तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि संयुक्त रूपमा सडकमा निस्किए। संविधानको रक्षा, गणतन्त्रको रक्षा र लोकतान्त्रिक प्रणालीको मुद्दामा एक ठाउँमा उभिएका ती दलहरूको कार्यनीति मोर्चा बन्यो, जुन मोर्चा स्थानीय निर्वाचनदेखि अहिलेसम्म सहकार्यमा छन्।

यता एमालेले पनि मुद्दा मिल्ने शक्तिहरूसँग सहकार्यको कोसिस गरिरहेको छ। गणतन्त्रप्रति खास अनुराग नराख्ने एमाले अध्यक्ष ओलीले राजावादी शक्तिदेखि मधेशलाई अलग राज्य बनाउनुपर्ने माग राख्ने र संघीयताको खारेजी हुनुपर्ने मान्यता राख्ने शक्तिसँग समेत सहकार्य गरिरहेको छ।

२०६२÷०६३ सालमा जुन शक्तिले पार्टीभित्र गणतन्त्रको वकालत गथ्र्यो, त्यो शक्ति अहिले एमालेसँग छैन। पार्टीका तात्कालीन नेता माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल अहिले कांग्रेस–माओवादीको मोर्चामा छन्। जो २०६२÷०६३ को आन्दोलनमा सहभागी भएनन्, गणतन्त्रप्रति अनुराग राखेनन्, ती नेताहरू अहिले एमालेको शीर्षस्थानमा छन्। संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसमेत सशस्त्र संघर्षको रापतापले बाध्यतावश बोक्नुपरेको बताउने ती नेताहरू अहिले आफ्नो विचार र मुद्दाअनुकूलका शक्तिहरू खोजेर सहकार्यको हात बढाइरहेका छन्।

एमालेले राप्रपाका नेता राजेन्द्र लिङ्देलसँग चुनावी मोर्चामा सहकार्य गर्दैछ। लिङ्देल र उनको पार्टी यस्तो शक्ति हो, जसले अहिले पनि संवैधानिक राजतन्त्र, हिन्दू राज्य र एकात्मक राजनीतिक प्रणाली चाहन्छ। राजनीतिक रूपमा कमजोर अवस्थामा रहेको यो शक्ति अनुकूल परिस्थिति निर्माण गरी शक्ति सञ्चय गर्ने गौंडो कुरेर बसेको छ। नेपालमा गणतान्त्रिक व्यवस्था लामो समय नटिक्ने सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै आएको यो शक्तिसँग सहकार्य गर्न एमालेमा किञ्चित अप्ठ्यारो अनुभूति देखिँदैन।

महाधिवेशनमा पराजित भएपछि राप्रपा छोडेर राप्रपा नेपाल गठन गरेका कमल थापा पनि एमाले नेतृत्वको गठबन्धनको छातामुनि छन्। महाधिवेशन अघिसम्म गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको चर्को विरोध गर्दै आएका थापा पार्टीबाट अलग भएपछि राजसंस्थाप्रति आफ्नो अनुराग सकिएको बताउन थालेका छन्। तर, उनको दृष्टिकोणमा कुनै बदलाव आएको भने देखिँदैन। सत्ताका लागि जस्तोसुकै सम्झौता गर्न पछि नगर्ने नेताको अभियोग खेपिरहेका थापा पनि मुद्दा मिलेकै कारण एमाले छातामुनि छन्।

मधेशलाई नेपालबाट अलग गर्ने घोषणासहित मधेशमा हिंसात्मक संघर्ष गरी शान्तिप्रक्रियामा आएको सिके राउत समूह पनि एमाले गठबन्धनमा सामेल छ। नेपाल जनमत पार्टीका नाममा स्थानीय चुनावमा भाग लिएको यो शक्ति पश्चिमा शक्तिकेन्द्रद्वारा परिचालित भएको अभियोग लाग्ने गरेको छ। हिंसात्मक संघर्ष त्यागे पनि पृथकतावादी नीति नत्यागेको यो शक्तिसँग एमालेको गठबन्धन प्राकृतिक देखिँदैन, किनकि एमाले र अध्यक्ष ओली पहाडिया खस राष्ट्रवादको पक्षमा छन्, जुन कुरा राउतको पार्टीसँग मेल खाँदैन।

एमालेसँग गठबन्धन गर्ने शक्तिमा हृदयेश त्रिपाठी नेतृत्वको समूह पनि पर्दछ। ओली सरकारमा मन्त्रीको जिम्मेवार पाएका त्रिपाठी २०७४ को निर्वाचनमा समेत सूर्य चिन्हबाट प्रतिस्पर्धा गरेका थिए। तुलनात्मक रूपमा अरूभन्दा कम आलोचित त्रिपाठी समूहको मुद्दा भने एमालेसँग मिल्दैन। त्रिपाठी समूह पहिचान र सामाजिक न्यायको मुद्दाको पक्षमा छ, जुन मुद्दा एमाले र अध्यक्ष ओली सुन्न चाहँदैनन् । तर, यति धेरै अन्तरविरोधका बाबजूद पनि २ दलको सहकार्य निरन्तर छ।

पूर्वमन्त्री एकनाथ ढकालको परिवार दल गत स्थानीय निर्वाचनमा घोषित रूपमै सूर्य चिन्हबाट चुनाव लडेको थियो। होलिवाइन प्रकरणले विवादमा आएका ढकाल पश्चिमा शक्तिहरूबाट परिचालित भएको आरोप लाग्ने गरेको छ। तर, एमाले त्यो दललाई आफ्नै चुनाव चिन्हबाट चुनाव लड्ने गरी सहकार्यमा राखिरहेको छ।

यी शक्तिका साथै एमालेले सिपी मैनाली नेतृत्वको नेकपा मालेदेखि विप्लव नेतृत्वको नेकपा र महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग समेत अघोषित सहकार्य गरिरहेको छ।

एमालेले निर्वाचनमा जति शक्तिसँग सहकार्य गरिरहेको छ, ती कुनै पनि शक्ति अन्तरमनले वर्तमान संविधान मान्न तयार देखिँदैनन्। कमल थापा र राजेन्द्र लिङ्देल संविधानका अधिकांश प्रावधान र यसको मूल चरित्रसँगै असहमत छन्। राउत, त्रिपाठी र ठाकुर आत्मनिर्णयको अधिकार खोजिरहेका छन्। राउतको समूह त अलग राष्ट्रको नारामै कायम रहेको देखिन्छ। मैनाली नेतृत्वको मालेसमेत पछिल्लोसमय दरबारमुखी भएको अभियोग लाग्ने गरेको छ।

वर्तमान राजनीतिक प्रणालीप्रति नै असहमत रहेको विप्लव नेकपासँग पनि ओलीको सामिप्यता घटेको छैन। यसरी अतिउत्तर र अतिदक्षिण ध्रुवका शक्तिहरू अति घनिष्ठताका साथ सहकार्य गर्दासमेत उनीहरूको वैचारिक दृष्टिकोण र मुद्दाबारे हामीकहाँ खास बहस र विमर्श भएको देखिँदैन।

भोटका लागि जुनसुकै शक्तिसँग सहकार्य र गठबन्धन गर्नसक्ने एमाले स्वतन्त्र जनप्रतिनिधिसँग भने अनुदार देखिएको छ। धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेन साहलाई लक्षित गरिएको एमाले नेताहरूले दिएको अभिव्यक्तिलाई आधार मान्ने हो भने एमाले उनीहरू त्रसित भएको छनक मिल्छ। स्वतन्त्र उम्मेदवारलाई माओवादी अध्यक्ष प्रचण्डले ‘‘गणतन्त्रको फूलबारीमा फुलेका फूलहरू’’ भनिरहँदा एमाले अध्यक्ष ओली, नेता महेश बस्नेत लगायतले स्वतन्त्र जनप्रतिनिधि र उम्मेदवारमाथि आफ्ना तिखा अभिव्यक्तिबाट आक्रमण गरिरहेका छन्।

अरिंगालको टोकाइबाट एकजनाको मृत्यु

0

असोज ११,२०७९बागलुङ : अरिंगालले चिल्दा जैमिनी नगरपालिका–७ जैदिमा एकजनाको मृत्यु भएको छ।

अरिंगालको टोकाइबाट मंगलबार बिहान स्थानीय ४३ वर्षीय ज्ञानबहादुर रानाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाका अनुसार उनी राति घर नजिकैको जंगलमा अरिंगाल पोल्न गएका थिए। यस क्रममा अरिंगालले टोकेर उनी घाइते भएका थिए।

स्वास्थ्यचौकीमा सामान्य उपचार पछि घर फर्किएका उनको मंगलबार बिहानै मृत्यु भएको हो।

२४ सै घण्टा डाक्टरसहितको सेवा गुल्मीदरबारको बीरवासमा

0

हुमाकान्त पोखरेल
असोज १०,०७९ गुल्मी : गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ विरवासमा ल्याबसहितको मेडिकल सेवा सुरु भएको छ । विरवास हेल्थ क्लिनिक एण्ड डाईग्नोस्टिक सेन्टरले सोमबारदेखि नियमित रुपमा सेवा सुरु गरेको हो ।

सेन्टरको सोमबार एक औपचारिक कार्यक्रमका बीच गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले विरवास जस्तो ठाउँमा ठुलो लगानीमा ल्याबसहितको सेवा सुरु गर्ने संस्थालाई धन्यवाद् दिए । ‘ग्रामीण भेगमा ल्याबसहित विशेषज्ञ डाक्टरसहितका स्वास्थ्य सेवा संचालन गर्नु आफैमा चुनौतिपूर्ण छ ।’ उनले भने, ‘यसको दीगोपनाका लागि पालिकाको तर्फबाट आवश्यक सहयोग हुन्छ ।’

संस्थाले आफ्नो सेवा सुरु गरेको अवसरमा एक दिनको लागि निःशुल्क विशेषज्ञ सेवा पनि प्रदान गरेको छ । डाक्टर दिपक श्रेष्ठले महिला तथा स्त्री रोग, डाक्टर सन्तोष शर्माले नाक, कान तथा घाँटी, डाक्टर विजय यादवले मुटु एवम् डाक्टर शम्भु खनालले जनरलसम्बन्धि जाँच गरेको संचालक केपी भण्डारीले जानकारी दिए ।

भण्डारी र छविलाल पाण्डेले एक करोडभन्दा बढीको लगानीमा ल्याबसहितको सेवा संचालन गरेका हुन् । संचालक केपी भण्डारीले विभिन्न रोगका कारण जिल्लाबासी जिल्लाबाहिर जान नपरोस् भन्ने उदेश्यले ल्याबसहितको स्वास्थ्य सेवा संचालन गरिएको बताए । सेन्टरले प्रत्येक शनिबार विशेषज्ञ डाक्टरसहितको सेवा दिने भएको छ ।

जसअन्तरगत हरेक महिनाको पहिलो शनिबार मुटु, छाला, यौन र कुष्ठरोगसम्बन्धि सेवा दिनेछ । त्यसैगरी दोस्रो शनिबार नाक, कान, घाँटी, पिनाश, थाईराईड, महिला, प्रसुति तथा बाँझोपनसम्बन्धि, तेस्रो शनिबार सुगर, थाईराईड, प्रेसर, पेट, छाती, मुटु तथा कलेजो एवम् नशासम्बन्धि र चौथो शनिबार हाडजोर्जी, नशा र बाथरोगसम्बन्धि सेवा प्रदान गर्ने संचालक केपी भण्डारीले जानकारी दिए ।

कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

नौ जना जुवाडे दुईलाख नगदसहित पक्राउ

0
फाइल फोटो

असोज १०,२०७९ पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले जुवा खेल्दै गरेको अवस्थामा नगद दुईलाख १५ हजार दुई सय ५० रुपैयाँसहित नौ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब निरीक्षक सुन्दर तिवारीका अनुसार गत शनिबार पोखरा महानगरपालिका–१० बुद्धचोकमा बस्ने कुमार कार्कीले सञ्चालन गरेको ‘यु एन्ड मी’ नाम गरेको रेस्टुरेन्टबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूमा पोखरा महानगरपालिका १० बुद्धचोक बस्ने ४५ वर्षीय कुमार कार्की, वडा नं ११ रानीपौवा घर भई बुद्धचोकमा बस्ने ४६ वर्षीय मिलेन्द्र कुमार रञ्जित, गोरखाको गण्डकी गाउँपालिका ४ घर भई हाल पोखरा महानगरपालिका २६ विजयपुर बस्ने ३३ वर्षीय सन्तोष पाण्डे, तनहुँको भिमाद नगरपालिका–२ घर भई हाल पोखरा महानगरपालिका १४ छिने डाँडामा बस्दै आएका ४६ वर्षीय श्रीराम आले, पोखरा महानगरपालिका १३ शान्तिमार्गमा बस्ने ४५ वर्षीय ओम बहादुर नेपाली रहेका छन्।

यस्तै स्याङ्जाको बिरुवा गाउँपालिका–२ घर भई हाल पोखरा महानगरपालिका–१४ चाउथे बस्ने ४९ वर्षीय खोमबहादुर थापा, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ घर भई हाल पोखरा महानगरपालिका–१० बुद्ध चोकमा बस्ने ५२ वर्षीय भरत प्रसाद न्यौपाने, नवलपरासीको बर्दघाट नगरपालिका–४ घर भई हाल पोखरा महानगरपालिका–१४ बीपी मार्गमा बस्दै आएका ४२ वर्षीय जीत बहादुर सारू र पर्वत जलजला गाउँपालिका–४ घर भई हाल पोखरा महानगरपालिका–७ रत्नचोक बस्ने ३६ वर्षीय शिव सुवेदी पनि पक्राउ परेका छन्।

रेस्टुरेन्टमा बसेर जुवा तास खेलिरहेका भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सिसिटिभी क्यामेराको एक थान हार्डडिस्क र एक थान मनिटरसहित नियन्त्रणमा लिएको हो।