Friday, June 5, 2026

प्रचण्ड किन गए गोरखा–२

0

असोज २२,२०७९काठमाडौंः मंसीर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट प्रतिस्पर्धा गर्ने भएका छन्।

२०७४ को निर्वाचनमा चितवन–३ बाट निर्वाचित उनी यसपटक गोरखा–२ बाट चुनाव लड्ने भएका हुन्। गठबन्धनका दलहरू बिच प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेसँगै प्रचण्ड गोरखाबाट प्रतिस्पर्धा गर्ने भएका हुन्।

यसअघि प्रचण्डले मंसीर ४ को निर्वाचनमा पनि चितवनबाटै चुनाव लड्ने बताएका थिए। पार्टीका शीर्ष नेताहरूले गोरखाबाट चुनाव लड्दा त्याग बलिदानीको सम्मान हुने सुझाव दिएपछि र स्थानीय नेताहरूले गोरखा आउन निरन्तर दवाव दिएपछि अन्तिम समयमा प्रचण्डले चितवन छोडेर रोजेका छन्।

२०६४ को निर्वाचनदेखि ३ पटकका निर्वाचनमा ४ ठाउँबाट प्रतिस्पर्धा गरेका प्रचण्डले कुनै पनि क्षेत्र दोहो¥याएका छैनन्। २०६४ चैत्रको पहिलो संविधानसभा निर्वाचनमा उनी रोल्पा र काठमाडौं–१० बाट विजयी भएका थिए। तर, २०७० को निर्वाचनमा प्रचण्डले पूरानो निर्वाचन क्षेत्र छोडेर सिरहा–५ रोजेका थिए।
२०७४ को निर्वाचनमा सिरहाबाटै चुनाव लड्न एकल सिफारिस गरिएको भए पनि प्रचण्डले चितवन–३ रोजेका थिए। चितवन–३ बाट भारी मतले विजयी भएका उनले जिल्लाको विकास निर्माणलाई उच्च प्राथमिकता दिँदै आएका छन्।

२०७९ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका माओवादी केन्द्रले जितेको छ, जहाँ महानगरको अधिकांश भूभाग प्रचण्डको निर्वाचन क्षेत्रभित्र पर्दछ। तर, जीत सुनिश्चित हुँदाहुँदै पनि उनले अन्तिममा चितवन छोडेर गोरखा रोजेका छन्।

नेपालका शीर्ष नेतामध्ये प्रचण्ड भावुक स्वाभावका नेता मानिन्छन्। १० वर्षको सशस्त्र द्वन्द्वको नेतृत्व गरेका उनले जनताका हजारौं छोराछोरीको बलिदानीकै कारण देशमा संघीय गणतन्त्र आएको भन्दै बलिदानीको उच्च सम्मान हुनुपर्नेमा जोड दिँदै आएका छन्।

गोरखा पनि त्यस्तो जिल्ला हो, जहाँ प्रचण्डले स्वयंले शिक्षकको भूमिकामा रहेर क्रान्तिकारी संगठन निर्माण गरेका थिए। जनयुद्धको पहिलो योजनासमेत गोरखा बैठकले निर्माण गरेका कारण यस जिल्लामा प्रचण्डको विशेष अनुराग रहेको मानिन्छ। जनयुद्धको क्रममा सबैभन्दा पहिला मारिने दिलबहादुर रम्तेलदेखि पार्टीको शीर्ष नेताबाट मारिने सुरेश वाग्लेसम्मका नेता गोरखाकै हुनुले पनि माओवादीका निम्ति गोरखा विशेष महत्वको जिल्ला मानिन्छ।

२०७४ को चुनावमा गोरखा–२ बाट पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई निर्वाचित भएका थिए। भट्टराईले यसपटकको निर्वाचनमा गोरखाबाट प्रचण्ड नै चुनाव लड्नुपर्ने प्रस्ताव राखेका थिए। माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसमेत गोरखा–२ बाट चुनाव लड्नसक्ने आंकलन गरिएको थियो। तर, डा। भट्टराईले चुनाव नलड्ने घोषणा गरेका र श्रेष्ठ राष्ट्रिय सभा सदस्य रहेका कारण नेताहरूकै जोडबलमा प्रचण्ड गोरखाबाट लड्न लागेका हुन्।

प्रचण्ड राष्ट्रिय नेता भएकाले सधैं एउटै क्षेत्रबाट चुनाव लड्न नहुने अभिमत माओवादीभित्र बलियो देखिन्छ। पछिल्लो ५ वर्षमा चितवनको विकासमा महत्वपूर्ण भूमिका खेलेका प्रचण्डले प्रत्येकपटकको निर्वाचनमा अलग अलग ठाउँबाट चुनाव लडेर सबै क्षेत्रहरूलाई समान दृष्टिले हेर्ने सन्देश दिनुपर्ने मान्यताअनुसार उनी गोरखा–२ बाट लड्न लागेका हुन्।

२०७९ को स्थानीय तह निर्वाचनमा माओवादीले गोरखाका ११ मध्ये ९ स्थानीय तह जितेको थियो। गोरखामा एक्लै लड्दा पनि माओवादीको जनाधार बलियो देखिएको र गठबन्धनबाट चुनाव लड्दा देशभरिको चुनावी अभियानलाई कमाण्ड गर्न प्रचण्डका लागि सहज हुने नेताहरू बताउँछन्। स्थायी समितिका अधिकांश नेताहरूले गोरखा–२ बाट चुनाव लडेर देशभरिको चुनावी कमाण्ड गर्नु राम्रो हुने सुझाव दिएपछि अन्ततः उनले गोरखा–२ रोजेका हुन्।

 

पहिरोले घर पुरिँदा दुई जना घाइते

0
फाइल फोटो

असोज २१,२०७९ पाल्पाः चार दिन देखि परेको अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना घाइते भएका छन् ।

तिनाउ गाउँपालिका–६ मस्यामस्थित चिदीसका नीरबहादुर सारूको घर शुक्रबार बिहान ३ बजे पहिरोले पुरिएको हो।

 

घाइते हुनेमा डेढ वर्षीया आरुषी खासु र २१ वर्षीया विष्णुमाया सारु रहेको प्रभास प्रहरी चौकी प्रमुख प्रहरी नायब निरीक्षक भरत थापाले बताए।

घाइते दुवैजनाको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। थापाका अनुसार घाइतेको अवस्था सामान्य छ।

 

पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

0
फाइल फोटो

असोज २१,२०७९काठमाडौं : काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ।

 

चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो।

 

पहिरोमा पुरिएर काभ्रेका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी छोरी सारथि श्रेष्ठको मृत्यु भएको वडा नम्बर २ का वडाध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए।

लगातार वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न

0

असोज २०,२०७९ बाँके :मंगलबार देखिको भएको लगातार वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् ।

 

मुख्यगरी नरैनापुरको वडा नं। १ बनिया गाँउ, ४को घोडदौरिया, ५ को जमुनहा, ६ को दोँदरा क्षेत्रमा रहेका घरहरुका पानी पसे पछि जनजीवन प्रभावित बनेको गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो ।

गाँउपालिका अध्यक्ष शाहले वर्षाले नरैनापुर आसपासका विभिन्न वडाहरु जलमग्न हुनुका साथै दर्जनौं बढी घरमा पानी पसेको जानकारी दिनु भयो ।

 

उहाँले भन्नुभयो,“विभिन्न ठाउँबाट घरमा पानी पसेको गुनासो आइरहेको छ यकिन तथ्याङ्क सकंलन गर्न वडा अध्यक्ष सहित आफू टोल, टोलको अनुगमन गरी रहेको छु ।”


वडा नं। ४ का अध्यक्ष मनोज शर्माले भन्नुभयो, घोडदौरीया गाँउमा १० वटा घरमा क्षति पुगेको बताउदै निरन्तर परीरहेको पानीले अझ बढी क्षति हुने सम्भावना रहेको सचेत हुन स्थानीयहरुलाई अपिल गरेको बताउनु भयो ।


वडा नं। ६ का अध्यक्ष प्रेम मौर्यले भने कतिपय घरमा खोलाको पानी पसिसकेको अवस्था छ । समयमा पानी नपरे पछि धानबाली लगाउन नपाएर समस्या झेल्दै आएका नरैनापुरबासीलाई दैनिक छाक टार्न समस्या भएको अवस्थामा बाढी बस्तिमा पस्न थालेपछि थप समस्या भएको उहाँले गुनासो गर्नु भयो ।


घरभित्रै पानी पसेपछि स्थानीयहरुले घरमा भएका सामान सार्न थालेका छन् । त्यहाँका स्थानियले घरदेखि माथि पाल टाँगेर वस्न बाध्य भएका छन् ।

 

घरभित्र पानी पसेपछि घरदेखि माथि चौरमा पाल टाँगेर वस्नु परेको स्थानिय लियाकत साईले बताउनु भयो ।

यता नरैनापुर गाँउपालिका अध्यक्ष शाहले निरन्तर पानी परीरहेकोले सचेत हुन आग्रह गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बाढी प्रभावित क्षेत्रमा पुगी सकेको जानकरी दिनु भयो ।

दाङका तीनवटै निर्वाचन क्षेत्रमाआयोगको कार्यालय स्थापना

0

दिवाकर पोख्रेल
देउखुरी ,असोज २० गते । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

 

जिल्लाको घोराहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने तुलसीपुर र लमहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचन आयोगले असोज १५ गतेदेखि २० गतेसम्म प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने जनाएको थियो ।

 

क्षेत्र १ को लमहीमा, २ को घोराहीमा र ३ को तुलसीपुरमा कार्यालय स्थापना गरिएको छ । यही कार्यालयमा मनोनयन दर्तादेखि सम्पूर्ण निर्वाचनको कार्यसम्पादन गरिने छ ।

 

 

मुख्य निर्वाचन अधिकृत मा न्यायाधीश कृपासुर कार्की हुनुहुन्छ । उहाँले निर्वाचन क्षेत्र नम्बर २ को जिम्मेवारी पाउनु भएको छ ।यस्तै, निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन अधिकृको रूपमा मानबहादुर विष्ट र ३ मा डोलनाथ न्यौपाने रहेका छन् ।

 


दाङ निर्वाचन क्षेत्र नं १ को कार्यालय स्थापना गर्दै निर्वाचन अधिकृत मानवहादुर विष्टले निर्वाचनको प्रक्रिया शुरु भइसकेको जानकारी दिदै दलहरुसंग छलफल गरेर आवश्यक कार्यक्रम तय गरिने जानकारी दिनुभयो ।

बस दुर्घटनामा१६ को मृत्यु, २५ घाइते

0

असोज २०,२०७९बारा : बारामा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको हो।

ज्यान गुमाउनेमा १० जना पुरुष र ६ जना महिला छन्। मृतक मध्ये जनकपुर उपमहानगरपालिका ५ का ५० वर्षीय सन्तोष कुमार रायको मात्र सनाखत भएको छ भने अन्य १५ जनाको सनाखत हुन बाँकी रहेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

दुर्घटनामा घाइते भएका २५ जनाको चुरेहिल अस्पताल हेटौँडा, पुरानो मेडिकल हस्पिटल चितवन, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र नयाँ मेडिकल हस्पिटल चितवनमा उपचार भैरहेको छ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए। घाइते मध्ये ७ जनाको चुरेहिल अस्पताल हेटौँडामा उपचार भईरहेको छ। जसमध्ये १२ वर्षीया प्रीति चौधरीको अवस्था गम्भीर रहेको छ। यस्तै १५ जनाको पुरानो मेडिकल हस्पिटल चितवनमा उपचार भैरहेको छ। जसमध्ये नाम नखुलेका अन्दाजी १५ वर्षीया किशोरीको पनि अवस्था गम्भीर रहेको छ।

यस्तै नयाँ मेडिकल हस्पिटल चितवनमा २ तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा एक जनाको उपचार भैरहेको छ।

शान्ति र सदभावको सन्देश दिदै नरैनापुरका अध्यक्ष शाहको अगुवाईमा मुर्ति बिसर्जन

0
बाँके २० असोज । बडा दशैको अवसरमा हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको मूर्ति राखेर नौ दिनसम्म पूजाआजा गरिएको मूर्ति बर्षाका कारण बुधबार विसर्जन गर्न नसके पछि बिहिबार विसर्जन गरिएको छ ।
तराई क्षेत्रमा दुर्गापुजा गर्ने प्रचलन छ । बाँके जिल्लामा दुर्गा पुजा गरेका मुर्तिहरु पायक पर्ने खोला र नदिमा भत्तजनहरु सेलाउन जाने गरेका छन् ।
मुर्तिलाई शान्ति, सदभावका साथ विर्सजन गर्न नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तीयक अहमद शाहले नरैनापुरका धर्मगुरुहरुसँग बृहत छलफल गरी बिहिबार भव्य रुपमा विर्सजन गरिएको छ । त्यसै गरि शान्ति सु–ब्यवस्थाको लागि इलाका प्रहरी कार्यालय भागवानपुरका प्रहरी निरिक्षक बिर बहादुर सुनारको टोली र  सशस्त्र प्रहरीहरुको समन्वयमा मूर्ति विर्सजन गरिएको हो ।
संम्भावित दुुर्घटनालाई मध्यनजर राखेर नरैनापुर गाँउपालिकाले द्रुत स्वास्थ्य सेवाको लागि एम्बुलेन्स तयार अवस्थामा राखेको थियो । त्यसै गरि मूर्ति विर्सजन कार्यक्रममा गाँउपालिका अध्यक्ष संगै नरैनापुर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष मसुद अहमद शाह र वडा नं.४ का वडा अध्यक्ष मनोज शर्मा, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा र ६ का अध्यक्ष प्रेम मोर्यको पनि सहभागिता रहेको थियो । नरैनापुरको विभिन्न वडाबाट निकालीएको मूर्ति राप्ती नदीमा लगि विर्सजन गरिएको थियो ।
नरैनापुरको मुर्ति बिसर्जन एकदमै शान्त वातावरणमा सम्पन्न भएको गाउँपालिका अध्यक्ष शाहले बताउनु भयो । निरन्तर परेको वर्षाका बिच पनि स्थान्ीयहरुको उल्लासमय सहभागितामा ६ वटै वडाका मुर्ति बिसर्जन गरिएको अध्यक्ष शाहले जानकारी दिनु भयो ।
मुर्ति बिसर्जनमा १ सय बढी सवारीसाधन प्रयोग गरिएको थियो भने मुर्ति बिसर्जन नरैनापुर ४ हुलासपुरस्थित राप्ती नदीमा गरिएको वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले बताउनुभयो ।

खोलाले बगाउँदा ५५ वर्षीय चौधरी बेपत्ता

0

असोज २०,२०७९ : अविरल वर्षाका कारण खोलामा आएको बाढीमा बगेर दाङमा एक जना बेपत्ता भएका छन् ।

 

अविरल वर्षाको कारण घोराही उपमहानगरपालिका वडा नम्बर १० गुर्जेखोलामा आएको बाढीमा बगेर स्थानीय ५५ वर्षीय कल्लु चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक एवं एसपी वीरबहादुर वलीले जानकारी दिए ।

 

प्रहरी प्रमुख वलीका अनुसार बुधवार दिउँसो दक्षिण अमराईबाट सर्रा जाने क्रममा चौधरी बगेर बेपत्ता भएका हुन् । चौधरी दिउँसो खोला तर्ने क्रममा बगेको र खोजी गर्दा अहिलेसम्म फेला पार्न नसकिएको प्रहरी प्रमुख वलीले बताए ।

 

घोराही उपमहानगरपालिका ३ बेलुवा निवासी ४५ वर्षीय धिरज घिमिरेको घर नजिकैको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरी प्रमुख वलीले जानकारी दिए ।

भलिबल खेल हेर्न गएका दुई युवा मृत फेला

0

असोज २०,०७९ पाल्पा :पाल्पाको निस्दी–३, झिरुवास भलुवाका दुई युवा मृत अवस्थामा फेला परेका छन् ।

दसैँको अष्टमीको दिन घरबाट भलिबल खेल हेर्न हिँडेका भलुवाका २१ वर्षीय वीरेन्द्र सोमै र २३ वर्षका इन्द्रबहादुर खरुमगरको सब फेला परेको प्रहरीले जनाएको छ ।

 

निस्दी–४, मित्याल मौलाथरमा असोज १७ गते भलिबल हेर्न हिँडेका सोमै र खरुमगर घर फर्किएका थिएनन् । दुवै जनाको खोजी गर्दै जाँदा बुधवार बिहान निस्दी–४, मित्यालकै झल्र्याङ्दी खोलामा सोमैको शब फेला परेको थियो । अर्का खरुमगरको भने बुधवार साँझ निस्दी–५, ढुङ्गानावेशीस्थित खोलामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृत अवस्थामा भेटिएका दुवै युवाको शव रामपुर अस्पतालमा लगिएको छ । अस्पतालमा चिकित्सक नभएकाले पोस्टमार्टम हुन नसकेको प्रहरीले जनाएको छ ।

 

मित्यालका स्थानीय बासिन्दाले भने निस्दी–४, मित्यालस्थित झर्ल्याङ्दी खोल्साले बगाउँदा दुई जना युवाको मृत्यु भएको हुन सक्ने बताएका छन् । अष्टमीको राति ठूलो वर्षा परेको र त्यही वर्षसहित बढेको खोल्साले दुबैजनालाई बगाएको स्थानीय बासिन्दाको भनाई छ ।

 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले भने खोल्साले बगाएका दुई जनाको शब फेला फेला परेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

आज मध्यमदेखि भारी वर्षाको सम्भावना

0
फाइल फोटो

असोज २०,२०७९ काठमाडौँः आजको दिन पनि मौसम बदली हुँदा देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल नेपालमा दक्षिण–पश्चिम बङ्गालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ।

 

देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिहीबार बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही , गण्डकी प्रदेशका थोरै ,बागमती प्रदेश,मधेश प्रदेश र प्रदेश नं १ का एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रवार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश का केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।