Thursday, June 4, 2026

करेन्ट लागेर श्रेष्ठको मृत्यु

0

कात्तिक ८,२०७९पाल्पा : पाल्पामा करेन्ट लागेर मंगलबार एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रामपुर नगरपालिका(९ जब्गादीका २९ वर्षीय विष्णुबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।

घर नजिकै रहेको दबदबेको रुखमा घाँस काट्ने क्रममा बिहान १० बजे उनलाई करेन्ट लागेको थियो। घाँस काट्ने क्रममा थ्रि फेजको लाइनमा थाहै नपाइ छोइँदा करेन्ट लागेर रुखबाट उनी भुइँमा खसेका थिए।

करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि जिल्लाको सदरमुकाम तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका उनले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बेपत्ता भएका तिलक पोखरीमा मृत फेला

0

कात्तिक ८,२०७९सल्यान, :बनगाड कुपिन्डे नगरपालिका ७ मैदुपोखरीमा डुबेर बेपत्ता भएका ४० वर्षीय तिलक कामी मृत फेलापरेक छन् । बेपत्ता भएको तीन घण्टापछि कामी पोखरीमै मृत भेटिएको प्रहरीले जनाएको छ ।

मानसिक समस्या भएका उनी दिउँसो घरदेखि ३ मिटर दूरीमा रहेको पोखरीमा नुहाउने क्रममा १ बजेतिर डुबेर बेपत्ता भएका थिए । बन गाड कुपिन्डे नगरपालिकाको र्‍याप्टिङ बोर्डका शङ्कर ऐरी, दीपक ऐरी र प्रहरीको सहयोगमा बोट प्रयोग गरी पोखरीको पानी घटाएर कामीको शव निकालिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार मृत भेटिएका कामीलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । तीन सय मिटर लम्बाई र गहिराई ६ फिट रहेको सो पोखरी स्थानीयहरूले पशुहरूलाई पानी खुवाउनका लागि निर्माण गरेका थिए ।

आगलागीका कारण तीन फर्निचर उद्योग जलेर नष्ट

0
सांकेतिक तस्बिर

कात्तिक ८,२०७९ दाङ :घोराहीस्थित शहीद उमेश मार्ग रोडमा आगलागी हुँदा तीन फर्निचर उद्योग पूर्ण रूपमा क्षति भएको छ।

न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ। राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे निमन्त्रणामा आएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो।

लक्ष्मीपूजामा बालिएको बत्ती कारण आगलागी भएको हुनसक्ने आशंका गरिएको छ।

सूर्यग्रहण लाग्दै :तुला राशिले हेर्नै नहुने

0

कात्तिक ८,२०७९काठमाडौं : कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ।

ग्रहण मंगलवार दिउँसो ४ बजेर ५३ मिनेटमा स्पर्श भइ ५ बजेर २६ मिनेटमा अन्त्य हुने ज्योतिषीहरूले बताएका छन्। खण्डग्रास सूर्यग्रहण नेपालको पूर्वी भेग भन्दा पश्चिमी क्षेत्रबाट राम्रोसँग देखिने खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा। जयन्त आचार्यले बताए। उनले यो सूर्यग्रहण नेपालमा भन्दा युरोपबाट राम्रोसँग देखिने बताए। ग्रहण जम्मा ३३ मिनेटको रहेकाले ग्रहण शुरु हुनुभन्दा ४ घण्टा अघिबाट खानेकुरा खान छोड्नुपर्ने बताए।

ग्रहण वृष, सिंह, धनु, मकर राशिलाई राम्रो रहेको बताए। वृष राशिका मानिसले आजको ग्रहण हेर्दा सुख प्राप्ती हुने, सिंहलाई धन लाभ, धनु राशिलाई लाभ र मकर राशिलाई सुख प्राप्ति हुने योग रहेको उनले उल्लेख गरे। खगोलविद् डा। आचार्यले मेष राशिलाई स्त्री पीडा, मिथुन राशिलाई चिन्ता, कर्कट राशिलाई व्यथा, कन्या राशिलाई क्षति, तुला राशिको लागि घात, वृश्चिकलाई धन क्षय, कुम्भ राशिलाई मान, इज्जत जाने भनिएको छ,मीन राशिलाई कष्ट हुने बताए।

‘सूर्य ग्रहण धेरै युरोपबाट राम्रोसँग देखिन्छ। यो ३३ मिनेटसम्मको छोटो समयको लागि छ। यो ग्रहण वृष, सिंह, धनु, मकर राशिलाई राम्रो छ। अरु राशि भएकाले हेर्नु हुँदैन। धर्मशास्त्रलाई मान्ने हो भने सुतक १२ घण्टा अघिबाट खानु हुँदैन। तर छोटो समयको लागि सानो ग्रहण भएकाले मध्यान्हकालदेखि निषेध गरिएको छ। यो वृद्धवृद्धाहरूको लागि छुट छ। सूर्यास्त भइसकेपछि खान सकिन्छु, उनले भने, ु यसको स्नान शुरु हुँदा, मध्यान्ह र अन्त्यमा स्नान गर्दा राम्रो हुन्छ। मेष राशिलाई स्त्री पीडा, मिथुन राशिलाई चिन्ता, कर्कट राशिलाई व्यथा, कन्या राशिलाई क्षति हुन्छ। तुला राशिको लाग घात भनेको मृत्यु नै हुनसक्छ। यो ग्रहण तुला राशिमा लाग्ने भएकाले तुला राशिका मानिसलाई हेर्नै हुँदैन। वृश्चिकलाई धन क्षय, कुम्भ राशिलाई मान, इज्जत जाने भनिएको छ,मीन राशिलाई कष्ट हुन्छ भनिएको छ।

त्यस्तै वृष राशिका मानिसले हेर्दा सुख, सिंहलाई धन लाभ, धनु राशिलाई लाभ र मकर राशिलाई सुख प्राप्ति हुने देखिएको छ। ुखगोल शास्त्रको अध्ययन नेपालमा एकेडेमिक स्तरमा पुगिसकेको छैन। जनमानसमा सुसूचित गर्ने काम भइरहेको छ। अहिले टेलिस्कोपहरू धेरै भित्रिदै छन्। अब खगोल विज्ञानको अध्ययन गर्न चाहिने टेलिस्कोप नै हो। त्यसैले बिस्तारै भित्रिदै गरेकाले अन्तर्राष्ट्रिय स्तरमा पनि यसको अध्ययन बढ्दै जानेछु, उनले भने।

डा। आचार्यले नेपालमा खगोल विज्ञानको अध्ययन, अनुसन्धान भने राम्रोसँग हुन नसकेको बताए। उनले टेलिस्कोपहरू नेपालमा धेरै भित्रिरहेकोले अबका दिनमा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुग्ने गरेर अध्ययन अनुसन्धान हुने बताए।

सयपत्री फूलको माग बढ्यो

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), ८ कात्तिक : तिहार नजिकिएसंगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायीक उत्पादन अति न्युन र यस पटक स्थानीयस्तरमा फूल कम फूलेका सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन् ।

रामपुर नगरपालिका ४ देविस्थानका युवा व्यावसायी दिलबहादुर थापालाई यतिबेला फूलमाला बिक्रि गर्ने चटारो छ । तीनवर्ष देखि यस व्यावसाय थालनी गर्नुभएका थापाले अहिले तिहार लक्षित करिव साढे तीन रोपनी जग्गामा सयपत्री फूल खेती गर्नुभएको छ ।

“तिहारको चहलपहल शुरु हुन थालेपछि फूल खरिद गर्ने ग्राहकको घुईचो बढेको छ, स्थानीयस्तरमा नै माग धेरै आएकाले बाहिर पठाएको छैन, फूल टिप्ने, माला तयार पारेर बिक्रि गर्न भ्याईनभ्याई छ” उहाँले भन्नुभयो ।

नेपालगञ्ज, बुटवल, तानसेन, पोखरा लगायत विभिन्न ठाउँबाट माग धेरै आएपनि स्थानीयलाई पहिलो प्राथमिकता दिने उहाँले बताउनुभयो । यस पटक तिहारमा मात्रै करिव रु दुइ लाख ५० हजार बराबरको फूल बिक्रि गर्ने उहाँको अनुमान छ ।

प्रतिमाला रु एक सय, प्रतिकिलो फूल रु पाँच सयमा धमाधम घरबाटै बिक्रि भइरहेको छ । पछिल्लो समय विभिन्न संघ संस्था, विद्यालयमा दिपावली, शुभकामना आदानप्रदान जस्ता कार्यक्रम गर्ने लहरले तिहार शुरु हुनु अघि देखि नै फूलमाला खरिद गर्ने ग्राहक बढेका छन् ।

गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा मात्रै करिव रु एक लाख ५० हजार बराबरको फूल बिक्रि गर्नुभयो भने संघ र प्रदेश तहको निर्वाचनको उम्मेदवारी दर्ता, प्रचार प्रसार तथा स्थानीयस्तरमा हुने विभिन्न कार्यक्रममा गरी दशै यतामात्रै करिव रु ५० हजार बराबरको फूलमाला बिक्रि गरेको उहाँ बताउनुहुन्छ ।

“फूल खेती शुरु गरेपछि मेरो पहिचान नै फेरिएको छ, पहिला घरपरिवार, आफन्त बाहेक कसैले चिन्दैनथे” उहाँले भन्नुभयो, –“करिव एक दशक विदेश बसेर गाउँ फर्केर लगत्तै फूल खेती गरेपछि सबैले राम्रोसंग चिन्नुहुन्छ, समाजमा नाम र दाम दुबै पाएपछि धेरै सन्तुष्टी छु”।

फूलको उत्पादन र बिक्रि उत्साहजनक रहेकाले व्यावसायमा थप हौसला मिलेको छ । घर
दिलबहादुरलाई यस व्यावसायमा श्रीमती सुकमाया थापाले सघाउँदै आउनुभएको छ । घर अगाडीको खेतभरी पहेँलै फूलेका फूलको दृश्यले घरको वातावरणमा सौन्दर्यता थपेको बताउनुहुन्छ, सुकमाया थापा ।

गाउँघरमा पछिल्लो समय सयपत्री फूल कमै पाइन्छ । स्थानीय जातका फूल मासिने क्रम बढेको छ । हाइब्रिड जातको फूल आउन थालेपछि घरका आँगन, डिल, करेसाबारीमा फूल्ने फूल हिजोआज खासै देखिदैन ।

सयपत्री खेतीका अलवा लोपोन्मुख मखमली फूलको खेती गर्ने दिलबहादुरले योजना बनाउनुभएको छ । यसैवर्ष मखमली लगाउने सोँच बनाएपनि बीउ समयमा उपलब्ध नहुदा सयपत्री मात्रै लगाउनुभएको छ ।

यहाँ ढकमक्क फूलेका फूलले सबैको मन लोभ्याएको छ । टिकटक बनाउने, फोटो खिच्ने, भिडियो बनाएर सामाजिक सञ्जालमा राख्न बालबालिका देखि युवायुवती, वयस्क उमेरसम्मका पुग्ने गर्दछन् । गत भदौमा धुलिखेमा दुई दिन र तीन वर्ष अघि बुटवलमा एक हप्ते पुष्प व्यावसाय सम्बन्धी तालिम लिनुभएको छ । सो तालिमले व्यावसायमा धेरै सहज भएको दिलबहादुर बताउनुहुन्छ ।

फूल उत्पादन, गुणस्तर निकाल्ने तरिका, बजारीकरण, नयाँ प्रजातीका उत्पादन लगायतका सम्बन्धमा ज्ञान सीप पाएपछि नयाँ ढंगबाट खेती गर्नुभएको छ । करिव पन्ध्र मुरी धानबाली फल्ने जग्गामा फूल लगाउन थालेपछि तेब्बर बढी आयस्रोत भित्रिएको छ । फूलखेतीबाट आफू मात्र नभई पाल्पा जिल्लालाई नै चिनाउने उहाँको सपना छ । एक वर्षमा तीन पटकसम्म यसको खेती गर्न सकिन्छ ।

 

प्रचण्ड, जसले एक जिल्ला होइन, सिंगो देश आफ्नो क्षेत्र देख्छन्

0

 मनहरि तिमिल्सिना

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा–२ बाट उम्मेदवारी दिएपछि उनको उम्मेदवारीको विषयलाई लिएर अनेकन भ्रान्त टिप्पणीहरू गरिरहेको देखिन्छ । कतिको तर्क छ– प्रचण्ड चितवनबाट निर्वाचित हुने सम्भावना नभएर गोरखा पुगेका हुन् । मूलधारका कतिपय मिडियासमेत यही भ्रान्त विश्लेषणका पछाडि कुदेको देखिन्छ, जुन सत्य होइन ।

‘‘गुणात्मक छलाङ, क्रान्तिकारी परिवर्तनलाई आत्मसात नगर्ने, शान्तिपूर्ण र क्रमिक विकासको नीति बोक्ने, तत्कालिन लाभका निम्ति लक्ष्यबाट च्युत हुने, सामथ्र्य र पहुँचका आधारमा बाहुबली हस्तक्षेप र नियन्त्रणको विचार र प्रवृत्ति’’लाई वामपन्थीहरूले ‘भँडुवा विकासवाद’ जार्गन प्रयोग गर्ने गर्दछन् । भँडुवा विकासवाद त्यो हो, जसले अनुसन्धानका आधारमा नीति निर्माण गर्दैन । नीतिका आधारमा कार्यक्रम तय गर्दैन, कार्यक्रमका आधारमा योजना निर्माण र कार्यान्वयन गर्दैन। विकास आवश्यक हो÷होइन, त्यसको लेखाजोखा गर्दैन । विकाससँग समुदायको अपनत्व र हित जोडिँदैन । स्थानीय साधनस्रोत र जनशक्तिको परिचालन र व्यवस्थापन यसको कार्यसूचिभित्र पर्दैन ।

भँडुवा विकासवादका बहुआयाम छन् । यो दर्शन, सिद्धान्त, राजनीति, संगठन, आर्थिक विकास, कार्यशैली लगायत धेरै क्षेत्रमा लागू हुन्छ । तर, यहाँ चर्चा गर्न खोजिएको भँडुवा विकासवाद भौतिक एवं मानवीय विकासको क्षेत्रसँग सम्बन्धित छ । यो पहुँच र सामथ्र्यका आधारमा गरिने अन्धाधुन्ध विकास हो । यसले भौतिक पूर्वाधार विकासमा अत्यधिक जोड दिन्छ, तर समुदायको हित, लाभ र बहुआयमिक उपयोगको कार्यभार हेक्का राख्दैन । यस्तो विकास बहुराष्ट्रिय कम्पनिको बजार निर्माणको आधार मात्र बन्दछ । यो अराजकतावादी राजनीतिको विकासवादी प्रतिविम्ब हो, जुन विकास ‘‘जसको भैंसी, उसैको लठ्ठी’’ मा आधारित हुन्छ । यस्तो विकास राष्ट्र निर्माणको योजनावद्ध कार्यसूचिबाट बिमुख र भँडुवा मनोवृत्तिको हुन्छ, जसले विकाससम्बन्धि आधारभूत अवधारणामाथि नै प्रहार गर्दछ ।

वामपन्थीहरूको दृष्टिमा विकास त्यो हो– जसले भौतिक पूर्वाधारको जगमा गुणस्तरीय जनशक्ति उत्पादन गर्दछ, उक्त जनशक्तिले रोजगारी प्राप्त गर्दछ, उक्त जनशक्ति स्थानीय समुदायको हितअनुकूल परिचालित गरिन्छ, जसले स्थानीय विकासलाई बढावा दिन्छ, त्यस्तो विकासले जनताको प्रतिव्यक्ति आय बढाउँछ र सुखी एवं समुन्नतिको नागरिक आकांक्षा परिपूर्ति गर्दछ । वामपन्थीहरूले अगाडि सारेको यो अवधारणा २१ औं शताब्दीमा सर्वमान्य बन्दै गएको देखिन्छ ।

विकासको अर्को मोडेल पनि छ, त्यो हो– नमुना विकास मोडेल । यस मोडेलअन्तर्गत एउटा क्षेत्र वा स्थानीय तहमा व्यवस्थित काम गरिन्छ र त्यसमार्फत् राष्ट्रिय सन्देश दिइन्छ । सीमित राष्ट्रिय साधनस्रोत र असीमित आवश्यकता एवं नागरिक चाहनाबिच यो मोडेल प्रभावकारी मान्ने गरिएको छ । पछिल्लोसमय वामपन्थी शक्तिहरूले समेत यही मोडेलको अभ्यास गर्न थालेका छन् । तर, राष्ट्रिय नेताले यही मोडेललाई सर्वकालका निम्ति प्रयोग गर्दा राष्ट्रिय विकास असन्तुलित बन्न जान्छ । जुन मोडेल एकपटकका निम्ति नमुनाका रूपमा प्रयोग गरिन्छ, त्यही मोडेल प्रचण्डले २०७४ को निर्वाचनपछि चितवनमा अपनाएका छन् ।

भँडुवा विकासवादी अवधारणा पछिल्लोसमय केपी शर्मा ओलीले प्रयोगमा ल्याएका छन्। चाहे प्रधानमन्त्रीका हैसियतले गरेका राष्ट्रियस्तरका कामहरू हुन् वा सांसदका हैसियतले झापा–५ मा गरिएका विकास हुन्, त्यहाँ भँडुवा विकासवाद नै झल्किन्छ। जनता नून–तेलले छट्पटिएको बेला रेल र पानीजहाजको कुरा गर्ने उनको सोंचमा विकासको रोमाञ्चकता देखिन्छ, तर, विकासमा राष्ट्रिय सन्तुलन, आधारभूत प्राथमिकता छनोट र विकाससँग समुदायको सहकार्यको पक्ष पूराका पूरा छुटेको देखिन्छ।

२०७४ को आमनिर्वाचनमा झापा–५ बाट निर्वाचित ओली प्रधानमन्त्री भए । त्यसपछि उनको पहिलो प्राथमिकतामा प¥यो रानीपोखरी र धरहरा। उनले सार्वजनिक भाषणमात्र गरेनन्, पानीपहाज कार्यालय नै स्थापना गरी दरबन्दी सिर्जना गरे, अहिले उक्त कार्यालयको प्रगति शून्य छ, कर्मचारीहरू घाम तापेर घर फर्किन्छन्। रेल्वे कम्पनिमा महाप्रबन्धक नियुक्त गरियो। रेल प्लास्टिकको घुम्टोभित्र छ। एकातर्फ तुइनबाट स्कुल जाँदा हजारौं बच्चाहरूको ज्यान जोखिममा छ, कर्णालीको भोकमरिमा सुधार आउन सकेको छैन, अर्कोतर्फ ओली प्रयोगमै नआउने पानीजहाज कार्यालय खोल्छन्, घाम तापेवापत् कर्मचारीलाई तलव दिन्छन्, महाप्रबन्धक नियुक्त गरेर रेल घुम्टोभित्र राख्छन्।

उनको प्रधानमन्त्रीकालमा देश विकासको प्राथमिकतामा जुन क्षेत्रहरू परे, सांसदको हैसियतले झापा–५ को विकासको चित्र पनि मिल्दोजुल्दो छ। उनको निर्वाचन क्षेत्रमा सुकुम्बासी समस्या विकराल छ, तर ओलीले त्यसको सम्वोधनतिर लागेनन्, बरू भ्युटावर बनाउन अर्बौंको बजेट खर्चिए। यसले ओलीको विकाससम्बन्धि आधारभूत दृष्टिकोण प्रष्टाउँछ। उनको सोंचमा भँडुवा विकासवादले डेरा जमाएको देखिन्छ ।

नयाँ संविधान निर्माणको क्रममा शासकीय स्वरूपबारे घनिभूत बहस चल्यो। कांग्रेस परम्परागत संसदीय व्यवस्था चाहन्थ्यो, एमाले संवैधानिक राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा देखिए पनि अन्तिममा कांग्रेसकै एजेण्डामा फर्कियो। माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा थियो। तर, संविधान निर्माणका बेला सुधारिएको प्रणालीमा सहमति भयो, जुन प्रणालीअनुसार २०७४ को निर्वाचन सम्पन्न भइसकेको छ, मंसीर ४ को निर्वाचन हुँदैछ।

सम्झौतास्वरूप निर्धारित नयाँ व्यवस्था मान्नु दायित्व र बाध्यता दुवै थियो। त्यसैले आफ्नो एजेण्डालाई फरक मतका रूपमा दर्ज गराएर माओवादी विद्यमान निर्वाचनमा सहभागी भएको छ। यस प्रणालीमा राष्ट्रिय नेताले निर्वाचनका बखत कुनै एक निर्वाचन क्षेत्र रोज्नुपर्ने हुन्छ। यो व्यवस्थाले शीर्ष नेताहरूको निर्वाचन क्षेत्र हरेक दृष्टिले विकसित हुने र अन्य क्षेत्रहरू पछाडि पर्ने परिस्थिति कायम रहन्छ, यसले समतामूलक र न्यायपूर्ण विकासको अवधारणा अवमूल्यन गर्दछ।
२०६३ को शान्तिप्रक्रियापछि माओवादी व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्दै आएको छ। त्यसयता प्रचण्ड ३ वटा निर्वाचनमा विजयी भएका छन्, २०६४ को निर्वाचनमा रोल्पा र काठमाडौं–१० बाट, २०७० को निर्वाचनमा सिरहा–५ बाट र २०७४ को निर्वाचनमा चितवन–३ बाट । तीनैपटकको निर्वाचनमा प्रचण्ड फरक–फरक क्षेत्रबाट चुनाव लडेका छन्, जसको महत्वपूर्ण राजनीतिक सन्देश छ ।

२०६४ को निर्वाचनमा रोल्पा र काठमाडौंबाट चुनाव लड्नुको अर्थ थियो– जनयुद्धको आधारभूमि र देशको राजधानी जोड्ने सन्देश दिनु। २०७० को निर्वाचनमा प्रचण्ड काठमाडौं र मधेश जोड्न चाहन्थे, किनकि मधेशी जनताको राजनीतिक आन्दोलनलाई पृथकतावादी स्वरूप दिने कोशिस भइरहेको थियो, त्यसलाई रोक्ने जिम्मेवारी प्रचण्डकै थियो। २०७४ को निर्वाचनमा चितवनबाट लड्नुको अर्थ गृह जिल्लाप्रति सुमधुर सम्बन्ध रहेको सन्देश थियो। प्रत्येक चुनावमा निर्वाचन क्षेत्र फरक पार्नुको अर्को रणनीतिक अर्थ थियो, त्यो हो– प्रचण्ड कुनै क्षेत्रका मात्र नेता होइन, उनी राष्ट्रिय नेता हुन् । राष्ट्रिय नेताले सिंगो देशलाई समान देख्नु र सोहीअनुरूप विकास र समृद्धिको नेतृत्व र सन्देश दिनुपर्छ।

हाम्रो निर्वाचन प्रणाली खोटपूर्ण छ। यो निर्वाचन प्रणालीले राष्ट्रिय नेतालाई निर्वाचन क्षेत्रमा खुम्चाइदिन्छ। पार्टीका केन्द्रीय अध्यक्ष र सभापतिहरू व्यवहारतः निर्वाचन क्षेत्रका अध्यक्ष वा सभापतिजस्ता देखिन्छन्। अर्कोपटक चुनाव जित्नैपर्ने दवावका कारण आफ्नो निर्वाचन क्षेत्रको विकासमा सम्पूर्ण तागत लगाउनु स्वाभाविकजस्तो बन्दै जान्छ। ओलीकालमा नेकपाभित्र ठट्टा चल्थ्यो– ‘‘बजेट पार्न झापा–५ को फाइल हुनुपर्छ, नियुक्ति पाउन झापाको नागरिकता देखाउनुपर्छ।’’ देशको प्रधानमन्त्री, सबैभन्दा ठूलो पार्टीको अध्यक्ष एउटा निर्वाचन क्षेत्रमा केन्द्रित हुने प्रणाली र अभ्यास समतामुखी र सन्तुलित विकासको दृष्टिले खोटपूर्ण छ।

 

संघीय मन्त्रीहरू मन्त्रीजस्ता छैनन्, निर्वाचन क्षेत्रीय प्रतिनिधिमा सीमित छन्। चाहे वार्षिक बजेट होस् वा कुनै योजना वा कार्यक्रम, उनीहरूको पहिलो ध्यान आफ्नै निर्वाचन क्षेत्रमा जान्छ। गृहदेखि विज्ञान–प्रविधि मन्त्रालयसम्म यही अभ्यास चलिरहेको छ। जुन जिल्ला वा निर्वाचन क्षेत्रमा राष्ट्रिय नेता छैन, संघीय मन्त्री छैन, केन्द्रसम्म सिधा पहुँच राख्ने मान्छे छैन, ती जिल्ला र क्षेत्रहरू अवसरका दृष्टिले पछाडि पर्ने गरेका छन्। यो प्रणाली बदल्न आवश्यक छ। यसका निम्ति तत्काल संविधान संशोधन सम्भव देखिँदैन। तर, प्रचण्डले जस्तै नेताहरूले विवेक प्रयोग गर्न सक्दा सन्देशमूलक परिवर्तन सम्भव छ ।
रोल्पा, काठमाडौं, मधेश र चितवनपछि प्रचण्ड गोरखाबाट चुनाव लड्दैछन् । यसको आफ्नै रणनीतिक अर्थ छ। गोरखा जिल्ला यस्तो जिल्ला हो, जनयुद्धको पहिलो सहिद दिलबहादुर रम्तेलको जिल्ला, जनयुद्धको दौरानमा शीर्ष नेताबाट सहिद हुने सुरेश वाग्ले ‘वासु’को जिल्ला, ठूलो संख्यामा बलिदानी भएको जिल्ला, जनयुद्धको आधारभूमि। प्रचण्ड स्वयंले गोरखाको आरूघाटमा पढाएका थिए, जहाँ उनले शिक्षकको भूमिकामा क्रान्तिकारी संगठन निर्माण गरे। जनयुद्धको तयारी गोरखामा नै गरिएको थियो। २०५२ फागुन १ गते गरिएका ठूला राष्ट्रिय कार्वाहीमध्ये गोरखा पनि एक थियो। यस दृष्टिले हेर्दा प्रचण्डको गोरखा रोजाइको खास तात्पर्य त्यही इतिहासको सम्मान गर्नु हो।

पृथ्वीनारायण शाहदेखि बहुदलकालसम्मका शासकहरूले जिल्लाको विकासलाई प्राथमिकतामा राखेनन्। डा. बाबुराम भट्टराईको कार्यकालमा केही नमुना काम भए पनि युग नै बदल्ने युद्ध र राजनीतिक परिवर्तनमा निर्णायक भूमिका खेल्ने गोरखा समृद्धि, विकास र अवसरका दृष्टिले अझै पछाडि रह्यो। विकट पहाडी भूभाग, भूकम्पबाट सबैभन्दा ठूलो क्षति, सांस्कृतिक विविधता, गौरवशाली इतिहास र ग्रामीण अर्थतन्त्रको बाहुल्यता भएको गोरखालाई इतिहासको सम्मानका दृष्टिले मात्र होइन, समृद्धिका दृष्टिले समेत अगुवाइ गर्न प्रचण्डको नेतृत्व महत्वपूर्ण हुनेछ।

कतिपयले प्रचण्ड चितवनबाट निर्वाचित हुने ग्यारेन्टी नभएकाले गोरखा रोजेको पनि भन्दैछन्। त्यो तर्क अत्यन्त भ्रान्त तर्क हो। मूल कुराचाहिँ राष्ट्रिय नेताका निम्ति देशका सबै निर्वाचन क्षेत्र समान हुन्, उनीहरूले सिंगो देशलाई समानताको आँखाले हेर्न र समान व्यवहार गर्न सक्नुपर्छ भन्ने दृष्टिकोणमा आधारित छ। यसपटक गोरखा नै रोज्नुको कारण चाहिँ जनयुद्धको गौरवमय इतिहास एवं त्याग–बलिदानको सम्मान गर्नु हो।

आलोचकहरू प्रचण्डले ‘‘हिँड्दै पाइला मेट्दै’’ गरेकोसमेत भन्ने गरेका छन्, जुन साँचो कुरा होइन। बरू प्रचण्ड जहाँ–जहाँबाट निर्वाचन लडेका छन्, त्यहाँ–त्यहाँ विकास र समृद्धिको बलियो जग बसालेका छन्। २०६४ को निर्वाचनपछि रोल्पाको विकासमा गुणात्मक परिवर्तन आएको छ, जनयुद्धकालको रोल्पा र आजको रोल्पामा तुलना नै गर्न नसकिने गरी विकासको जग बसेको छ। २०७० को निर्वाचनपछि सिराहाको विकास पनि उच्च प्राथमिकतामा छ। २०७४ को निर्वाचनपछि चितवनमा भएको विकासबारे चाहिँ धेरै चर्चा गरिरहनु नपर्ला। अर्थात्, प्रचण्ड जहाँ–जहाँबाट लडे, त्यहाँबाट राष्ट्रिय एकताको सन्देश मात्र दिएका छन्, समृद्धिको बिरूवा पनि रोप्ने गरेका छन् ।

फेरि चितवनबाटै चुनाव लड्नुपर्छ भन्ने स्थानीय नेता–कार्यकर्ता र मतदाताको चर्को आव्हान र गठबन्धनको साझा अपील सामान्य कुरा थिएन, चितवन–३ बाट प्रचण्डले चुनाव जित्ने बलियो आधार थियो। २०७४ को निर्वाचनपछि चितवनमा विकासको तस्वीर बदलिएको छ, त्यसमा प्रचण्डको योगदान निर्विवाद छ। त्यो पनि प्रचण्डले निर्वाचन जित्ने बलियो आधार हो, किनकि २०७९ को स्थानीय निर्वाचनमा मेयर रेनु दाहालले जुन लोकप्रिय मत प्राप्त गरिन्, प्रचण्डले त्यसभन्दा राम्रो लोकप्रिय मत ल्याउने एमालेकै आंकलन थियो। तर, यसपटक प्रचण्डले चितवन रोजेनन्, किनकि राष्ट्रिय नेताको सन्देश दिनु उनले जरूरी ठाने, जुन कुरा अन्य शीर्ष नेताका निम्ति समेत भविष्यमा प्रेरणा हुनसक्छ। भविष्यमा प्रचण्ड कर्णाली वा सुदूरपूर्वबाट लडून्, जसले उनको राष्ट्रिय व्यक्तित्वमा थप निखार ल्याओस्।

अन्त्यमा, प्रचण्डले जुन निर्णय लिएका छन्, त्यो सम्मानयोग्य छ । यसले देशको निर्बिकल्प अभिभावक प्रचण्ड नै हुन् भन्ने कुरा पुनर्पुष्टि भएको छ । सिंगो देशलाई समान देख्ने प्रचण्ड सोँच निर्वाचन क्षेत्रको नेता बन्नेहरूका निम्ति बलियो सवकसमेत हुन सक्दछ । तसर्थ, उनको उम्मेदवारीमा होइन, जिम्मेवारीमा बहस गरौं।

कालीगण्डकी फाउण्डेशनद्धारा शुभकामना आदानप्रदान

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), ८ कात्तिक : नेपालीहरुको महान् पर्व वडादशै, शुभ दिपवाली, म्ह पुजा, नेपाल संवत् ११४३ र छठपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पाल्पाको रामपुरमा भएको छ । कालीगण्डकी फाउन्डेशन नेपालको आयोजनामा कार्यक्रम भएको हो । संस्थाका अध्यक्ष निलकण्ठ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पालैपालो एकआपसमा शुभकामना आदानप्रदान गरिएको छ ।

विभिन्न संघ संस्था, राजनैतिक दलका प्रमुख प्रतिनिधि, प्रतिनिधि तथा प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक उम्मेदवार, पत्रकार, उद्योगी, व्यवसायी, शैक्षिक संस्थाका प्रमुख लगायतको कार्यक्रममा सहभागीता रहेको थियो । विसं २०७५ माघमा स्थापना भएको यस संस्थाले सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । पूर्वी पाल्पामा स्वास्थ्य सेवाको पहँुच दिन संस्थाले एम्बुलेन्स सेवा दिइरहेको छ । तीन जना अगुवा कृषकलाई प्रदेशस्तरको तालिमको व्यवस्था, रामपुरमा बादर आतङ्क बढेका स्थानमा नियन्त्रण गर्न बादर धपाउने यन्त्र कृषकलाई वितरण, कोभिड १९ का समयमा पाल्पाका विभिन्न पालिका, संघ संस्था, स्वास्थ्य संस्थामा विभिन्न स्वास्थ्य सामग्री वितरण लगायतका काम गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा प्रतिनिधि सभाका कांग्रेसका समानुपातिक उम्मेदवार एवम् फाण्डेशनका सल्लाहाकार सन्दिप रानाले मुलुकको व्यवस्था परिवर्तनका लागि मुलुकमा हाम्रा अग्रजहरु संगै विभिन्न व्यक्तित्वहरुले व्यवस्था परिवर्तन गरेपनि अवस्था परिवर्तनका लागि आफुले समानुपातिकबाट उम्मेद्धवारी दिएको बताउनुभयो । मुलुकको समृद्घि धार्मिक, साँस्कृतिक पर्यटन, कृषि, जल र व्यापार बाट मात्र सम्भव भएको बताउँदै रामपुर सहित सिङ्गो कालीगण्डकी उपत्यकाको विकास यसबाट मात्र सम्भव रहेको उम्मेदवार रानाले बताउनुभयो ।

प्रतिनिधि सभा पाल्पा क्षेत्र नं. १ का उम्मेदवार विपिन कंडेलले राजनीति पेशाको लागि नभई समाज सेवाको लागि हो भन्ने धारणाका साध मैदानमा आएको बाताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्र नं १ का उम्मेदवार ज्ञानबहादुर सिंजालीले मुलुकको राष्ट्रियता र स्वतन्त्रताको लागि उम्मेदवारी दिएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका प्रदेशका समानुपातिक उम्मेदवार गिता विकले दलित समुदाय र महिलाको अधिकार रक्षा र सम्मान ढंगले सेवा सुविधाको प्रत्याभुतिका लागि आफ्नो उम्मेदवारी रहेकोे बताउनुभयो । कार्यक्रममा रामपुर उद्योग वागिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले विकासको लागि औद्योगिक क्षेत्रको विकासको खाँचो रहेको बताउनुभयो ।

समाजसेवी एवं कांग्रेसका महासमिति सदस्य देवराज ढकालले विकासमा सरकारी तथा गैर सरकारी संस्थाले दिएको योगदानको प्रशंसा गर्नु भएको थियो । ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख लक्ष्मण देवकोटाले समाजसंग प्रत्यक्ष प्रभाव राख्ने कार्यक्रममा सहकार्यको लागि सधै तत्पर रहेको बताउनसभयो । नमस्ते होटेल एण्ड पार्टी प्यालेसमा भएको कार्यक्रममा दिपावलीको अवसरमा दिप्रज्वलन गरिएको छ । साथै कार्यक्रममा डि एण्ड जि कलाकेन्द्रका कालकारहरुको रमाईलो साँस्कृतिक प्रस्तुति देखाइएको थियो । उपाध्यक्ष पवित्रा पौडेल ढकालले स्वागत, संचालन सचिव सीता डोटेलले गर्नुभएको हो ।

सुविधा खोज्न तराई झरेकाको अनुभुति चाडपर्वमा पहाडै रमाइलो

0

दिवाकर पोख्रेल
देउखुरी, कात्र्तिक ८ गते : दाङको लमही नगरपालिका वडा नं ५ लमही निवासी केशवराज खनाल दशै तिहार लगायतका चाडपर्व मनाउने आफ्नो जन्मस्थान अर्घाखाँची जानुहुन्छ । उहाँ दाङ बसाइसरी आएको २० बर्ष भइसक्यो तर उहाँलाई जन्मठाउँ नपुगी पर्व आए जस्तै लाग्दैन ।

 

उहाँ भन्नुहुन्छ,‘पहाडमा अहिलेपनि पूराना संस्कृति जस्तातस्तै जिवीत छन्, तराईमा आयतित संस्कृतिको प्रभाव रोक्न सकिएको छैन, सुविधा खोज्न तराई चाडपर्व पहाड जस्तै भएको छ ।’

यस्तै प्युठानको मल्लरानी गाउँपालिका वडा नं ३ चौरपानीबाट दाङको लमहीमा बसाइसरी आउनु भएका तिर्थ पोख्रेलको अनुभुति पनि खनालको भन्दा फरक छैन । यसवर्ष गोजाग्रत पूर्णिमा मेला हेर्नको लागि जन्मस्थान प्युठान जाने धोको उहाँको पूरा हुन सकेन ।

 

अविरल बर्षाले सडक अवरुद्ध भएपछि उहाँको दशै लमहीमा भयो तिहारमा पहाडै जाने योजना उहाँको छ । सुविधाको हिसावले तराई उपयुक्त भएपनि चाडपर्वको समयमा आफुलाई पहाडै रमाइलो लाग्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘तराईमा धेरै ठाउँबाट बसाइसरी आएका छौ, पहाडमा पूस्तौँ देखि आत्मीयता गाँसिएको हुन्छ, यही आत्मियता, पहाडी सौन्दर्य र संस्कृतिले चाडपर्वमा लोभ्याउँछ ।’


खनाल र पोख्रेल मात्रै होइन चाडपर्वको समयमा पहाडी क्षेत्रमा घुमफिर र रमाइलोको लागि मानिसहरु चाडपर्व नै कुर्ने गरेको पाइन्छ । चाडपर्वमा विदा हुने भएकाले कर्मचारी, विद्यार्थी लगायतलाई काममा हुने हरुलाई पनि सहज हुने गरेको छ । पहाडी क्षेत्रमा आधारभुत सेवा सुविधा नभएपछि तराई झरेकाहरुले यातायातको पहुँच बढेपछि जन्मस्थान पहाडी क्षेत्र रमाइलोको लागि रोज्ने गरेका हुन् । प्युठान जिल्लाबाट ४० बर्ष अघि बसाइसरी दाङ झर्नुभएका किसन भुसालले पहाडी संस्कृतिबाट आफु प्रभावित भएको बताउनहुन्छ । उहाँ भन्नुहुन्छ,‘सकेसम्म यही तराईमै पहाडी संस्कृति अनुसारको दशैमा सराएँ नाच, तिहारमा दिउसी भैलो खेलौ भन्ने भएपनि बाजागाजा लगायतको समस्याले पहाडकै झल्को मेटिदैन ।

तराईका स्थानिय पालिकाले पनि चाडपर्वलाई परम्परागत संस्कृति अनुकलको बनाउने प्रयास भने गरेका छन् । विशेषगरी दाङ देउखुरीको हकमा थारु समुदायको संस्कृति संरक्षणमा जुटेका स्थानीय सरकाले संगै अन्य समुदायसंग जोडिएका संस्कृति संरक्षणमा चासो दिन थालेका हुन् । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले चाडपर्वमा आफ्नै क्षेत्रमा संस्कृति संरक्षण हुनेगरी रमाइलो गर्न सुझाव दिनहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामी पञ्चेबाजा, मारुनी नाच लगायतको संँस्कृति जगाउने खालको काम गरेका छौ, हाम्रो संस्कृतिले पहाड फर्कने होइन तराई रोक्न थप मद्दत गर्नेछ ।’ पहाडी क्षेत्र छोडी बसाइ सर्नेको संख्या बढ्दो क्रममा भएपनि चाडपर्व आसपासमा पहाडी क्षेत्रका गाउँ भरीभराउ हुने गर्दछन् ।


दाङको लमही नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका प्रमुख आशिष चौधरीका अनुसार गत आर्थिक बर्ष २०७८÷०७९ एकहजार एकसय ३५ जना लमहीमा बसाइसरी आएका छन् । चालु आर्थिक बर्षको असोज महिना सम्म तीनसय ७७ जना विभिन्न जिल्लाबाट लमहीमा बसाइसरी आएका छन् ।

मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार घिमिरे र थापालाई

0

ललितपुर । यो वर्षको मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार नयाँ पत्रिकामा कार्यरत शिवहरि घिमिरे र देखापढी न्युज पोर्टलमा कार्यरत रोजिना थापालाई प्रदान गरिएको छ ।

प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाले शनिबार एक कार्यक्रमकाबीच प्रेस सेन्टरका केन्द्रीय इन्चार्जसमेत रहेका नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य महेश्वर दाहाल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु प्रसाद सापकोटा ‘जुगल’ले पुरस्कार हस्तान्तरण गरेका हुन् ।

दुवै जनलाई ५ हजार १ सय रुपैयाँका दरले पुरस्कार र सम्मानपत्र वितरण गरिएको छनोट समितिका सदस्य सचिवसमेत रहेका प्रेस सेन्टर ललितपुर जिल्लाका अध्यक्ष रामहरि कार्कीले जानकारी दिए । उनका अनुसार नेपाल बार एसोसिएसन ललितपुरका अध्यक्षको संयोजकत्वमा गठित तीन सदस्यीय पुरस्कार छनोट समितिले दुई जनाको नाम छनोट गरेको हो ।

द्वन्द्वकालमा राज्यद्वारा बेपत्ता पारिएका पत्रकार मिलन नेपालीको नाममा हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ । यो वर्षदेखि ५१ हजारको अक्षयकोष निर्माणका लागि बेपत्ता पत्रकार नेपालीकी श्रीमती सविता बस्नेतले शनिबार ४१ हजार रकम हस्तान्तरण गरेकी छिन् ।

कार्यक्रममा बस्नेतले प्रेस सेन्टरले आफ्नो श्रीमान्‌को योगदानलाई कदर गर्दै बिभिन्न कार्यक्रम गरेको प्रति आभार प्रकट गरिन् । उनले आफूहरूले आस्था बोकेको पार्टी माओवादी केन्द्रले जनयुद्धका क्रममा शहीद, बेपत्ता र घाइते भएकाहरूको सपना पूरा गर्न थप जनपक्षीय काम गर्नुपर्नेमा जोड दिइन् ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेस सेन्टर नेपालका इन्चार्ज महेश्वर दाहालले जनयुद्धको उपलब्धी रक्षा र परिवर्तनको पक्षमा पत्रकारहरूले खबरदारी गरिराख्नु नै मिलन नेपालीहरूप्रति सच्चा सम्मान हुने विचार व्यक्त गरे । उनले माओवादी केन्द्रबाहेक कुनै दलसँग पनि परिवर्तन र अग्रगमनको एजेन्डा नभएको दाबी गर्दै त्यो एजेन्डा जनतामा स्थापित गर्न पत्रकारहरूको अहम भूमिका रहने बताए ।

उक्त अवसरमा माओवादी केन्द्र ललितपुर जिल्ला इन्चार्ज दिनेश महर्जन महर्जनले आसन्न निर्वाचनलाई केन्द्रमा राखी माओवादी केन्द्रको नीति जनतासम्म पुर्‍याउन र परिवर्तनको पक्षमा मत आकृष्ट गर्न आग्रह गरेका थिए भने प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगल र उपाध्यक्ष निर्मल ज्ञवालीले प्रचारको मोर्चा सम्हाल्न प्रेस सेन्टर पूर्ण प्रतिबद्ध र तम्तयार रहेको बताएका थिए ।

गठबन्धनको जित सुनिश्चित :देब गुरूङ

0

कात्तिक ६,२०७९ :नेकपा माओवादी केन्द्रका महासचिव तथा लमजुङबाट प्रतिनिधि सभामा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका देव प्रसाद गुरूङले लमजुङमा गठबन्धनको जित सुनिश्चित रहेको बताएका छन् ।

गठबन्धन दल निकट लमजुङ काठमाडौं सम्पर्क समन्वय समिति र मन्चहरूले शनिबार काठमाडौंमा आयोजना गरेको दिपावली छठ लगायतका चाडपर्वको शुभकामना तथा उमेदवार परिचय कार्यक्रममा सम्वोधन गर्दै महासचिव गुरूङले राजनीतिक स्थिरता, सुशासन,लमजुङको विकास र समृद्धिको लागि गठबन्धनले जित्न आवश्यक रहेको बताए ।

उनले भने हामीले हाम्रो उमेदवारी फगत निर्वाचन जित्नको लागि मात्रै नभएर लमजुङको विकास र समृद्धिको लागि दिएका हौं । उनले सुशासनसहितको विकास र बजार व्यवस्था सहितको उत्पादन प्रणालीमार्फत जनताको आर्थिक समृद्वि आफुहरूको मुख्य एजेण्डा रहेको बताए । उनले त्यसको लागि कृषिमा यान्त्रिकरण, भएका सडक कालोपत्रे, नयाँ सडक विस्तार गरि उत्पादन केन्द्र सम्म पुर्याउने र पर्यटन तथा जलविद्युत्का सम्भावनालाई अत्याधिक मात्रामा उपयोग गर्ने पनि आफ्नो योजना रहेको बताए । उनले गठबन्धन यो चुनावसम्म मात्रै नभएर सरकार निर्माण , संविधान रक्षा र शान्ति प्रक्रियाको पुर्णताको लागि पनि आवश्यक रहेकाले ढुक्कसँग मत दिन सबै मतदातालाई आग्रह पनि गरेका छन् ।

 

कार्यक्रममा नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य दिलबहादुर घर्तीले ओली मण्डलीले संविधान मिच्ने र निरंकुशता लाद्ने प्रयास गरेकाले माओवादीसहितको गठबन्धन बनेकाले संविधानको रक्षा र लमजुङको विकास र समृद्धिको लागि गठबन्धनका उमेदवारलाई ढुक्कसँग भोट दिएर जिताउन कांग्रेस सहित सबै दलका कार्यकर्ता र मतदातालाई आग्रह गरे । उनले देव गुरूङ जस्तो नेतालाई आफुहरूले साझा उमेदवारको रूपमा प्रान्त गर्नु लमजुङको लागि गौरवको विषय भएको बताए ।

त्यसैगरी लमजुङको प्रदेश सभा क का उमेदवार तथा कांग्रेस लमजुङका सभापति डा। टकराज गुरूङले आफुहरूको लमजुङको विकास समृद्धि र संविधान रक्षा बाहेक कुनै स्वार्थ नरहेको भन्दै गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने बताए । उनले लमजुङको भाग्य र भविष्यको जिम्मेवारी गठबन्धनमा रहेकाले प्रतिगमनकारी एमाले गठबन्धनलाई पराजित गरि लमजुङको विकास र समृद्धिको ज्ञारेन्टी गर्न पार्टी कार्यकर्ता र मतदातालाई आग्रह गरे ।

त्यसैगरी प्रदेश सभा ख का प्रत्यासी भेष बहादुर पौडेलले लमजुङको विकास र समृद्धि अब टाढा नभएको बताए । उनले गठबन्धनका उमेदवारहरूको साझा उमेदवारीले त्यो संकेत गरिसकेको बताए । उनले आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको स्पष्ट पार्दै आफुसँग लमजुङको विकास पर्यटन, कृषि, उद्योग र जलविद्युत्मामार्फत हजारौंको रोजगारीको योजना रहेको बताए । कार्यक्रममा माओवादी केन्द्रका लमजुङ इन्चार्ज तथा समानुपातिक उमेदवार पारसमणी पौडेलले गठबन्धनका उमेदवारको जितलाई सुनिश्चित गर्न काठमाडौंवासी लमजुङका मतदाताहरूको निर्णायक भुमिका हुने बताए ।

कार्यक्रममा नेकपा एस का जिल्ला अध्यक्ष रामबाबु अधिकारीले गठबन्धनका दलहरूबीचमा कुनै समस्या नभएको तथा प्रतिद्वन्दी दल एमालेमा गम्भीर विवाद र असहमति देखिएकाले गठबन्धनका उमेदवारहरूको जित सुनिश्चित रहेको बताए । सो अवसरमा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक उमेदवार उर्मिला माझी, तारा कुमाल, कांग्रेसको प्रदेश सभा उमेदवार टीका बस्याल, पार्वती तामाङले पनि गठबन्धनका उमेदवारलाई जिताउनु प्रमुख जिम्मेवारी रहेको बताउँदै आफ्नो दललाई समानुपातिक तर्फ मतदान गर्न अपिल गरेका थिए ।