सयपत्री फूलको माग बढ्यो

0
162

सुशीला रेग्मी
रामपुर (पाल्पा), ८ कात्तिक : तिहार नजिकिएसंगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायीक उत्पादन अति न्युन र यस पटक स्थानीयस्तरमा फूल कम फूलेका सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन् ।

रामपुर नगरपालिका ४ देविस्थानका युवा व्यावसायी दिलबहादुर थापालाई यतिबेला फूलमाला बिक्रि गर्ने चटारो छ । तीनवर्ष देखि यस व्यावसाय थालनी गर्नुभएका थापाले अहिले तिहार लक्षित करिव साढे तीन रोपनी जग्गामा सयपत्री फूल खेती गर्नुभएको छ ।

“तिहारको चहलपहल शुरु हुन थालेपछि फूल खरिद गर्ने ग्राहकको घुईचो बढेको छ, स्थानीयस्तरमा नै माग धेरै आएकाले बाहिर पठाएको छैन, फूल टिप्ने, माला तयार पारेर बिक्रि गर्न भ्याईनभ्याई छ” उहाँले भन्नुभयो ।

नेपालगञ्ज, बुटवल, तानसेन, पोखरा लगायत विभिन्न ठाउँबाट माग धेरै आएपनि स्थानीयलाई पहिलो प्राथमिकता दिने उहाँले बताउनुभयो । यस पटक तिहारमा मात्रै करिव रु दुइ लाख ५० हजार बराबरको फूल बिक्रि गर्ने उहाँको अनुमान छ ।

प्रतिमाला रु एक सय, प्रतिकिलो फूल रु पाँच सयमा धमाधम घरबाटै बिक्रि भइरहेको छ । पछिल्लो समय विभिन्न संघ संस्था, विद्यालयमा दिपावली, शुभकामना आदानप्रदान जस्ता कार्यक्रम गर्ने लहरले तिहार शुरु हुनु अघि देखि नै फूलमाला खरिद गर्ने ग्राहक बढेका छन् ।

गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा मात्रै करिव रु एक लाख ५० हजार बराबरको फूल बिक्रि गर्नुभयो भने संघ र प्रदेश तहको निर्वाचनको उम्मेदवारी दर्ता, प्रचार प्रसार तथा स्थानीयस्तरमा हुने विभिन्न कार्यक्रममा गरी दशै यतामात्रै करिव रु ५० हजार बराबरको फूलमाला बिक्रि गरेको उहाँ बताउनुहुन्छ ।

“फूल खेती शुरु गरेपछि मेरो पहिचान नै फेरिएको छ, पहिला घरपरिवार, आफन्त बाहेक कसैले चिन्दैनथे” उहाँले भन्नुभयो, –“करिव एक दशक विदेश बसेर गाउँ फर्केर लगत्तै फूल खेती गरेपछि सबैले राम्रोसंग चिन्नुहुन्छ, समाजमा नाम र दाम दुबै पाएपछि धेरै सन्तुष्टी छु”।

फूलको उत्पादन र बिक्रि उत्साहजनक रहेकाले व्यावसायमा थप हौसला मिलेको छ । घर
दिलबहादुरलाई यस व्यावसायमा श्रीमती सुकमाया थापाले सघाउँदै आउनुभएको छ । घर अगाडीको खेतभरी पहेँलै फूलेका फूलको दृश्यले घरको वातावरणमा सौन्दर्यता थपेको बताउनुहुन्छ, सुकमाया थापा ।

गाउँघरमा पछिल्लो समय सयपत्री फूल कमै पाइन्छ । स्थानीय जातका फूल मासिने क्रम बढेको छ । हाइब्रिड जातको फूल आउन थालेपछि घरका आँगन, डिल, करेसाबारीमा फूल्ने फूल हिजोआज खासै देखिदैन ।

सयपत्री खेतीका अलवा लोपोन्मुख मखमली फूलको खेती गर्ने दिलबहादुरले योजना बनाउनुभएको छ । यसैवर्ष मखमली लगाउने सोँच बनाएपनि बीउ समयमा उपलब्ध नहुदा सयपत्री मात्रै लगाउनुभएको छ ।

यहाँ ढकमक्क फूलेका फूलले सबैको मन लोभ्याएको छ । टिकटक बनाउने, फोटो खिच्ने, भिडियो बनाएर सामाजिक सञ्जालमा राख्न बालबालिका देखि युवायुवती, वयस्क उमेरसम्मका पुग्ने गर्दछन् । गत भदौमा धुलिखेमा दुई दिन र तीन वर्ष अघि बुटवलमा एक हप्ते पुष्प व्यावसाय सम्बन्धी तालिम लिनुभएको छ । सो तालिमले व्यावसायमा धेरै सहज भएको दिलबहादुर बताउनुहुन्छ ।

फूल उत्पादन, गुणस्तर निकाल्ने तरिका, बजारीकरण, नयाँ प्रजातीका उत्पादन लगायतका सम्बन्धमा ज्ञान सीप पाएपछि नयाँ ढंगबाट खेती गर्नुभएको छ । करिव पन्ध्र मुरी धानबाली फल्ने जग्गामा फूल लगाउन थालेपछि तेब्बर बढी आयस्रोत भित्रिएको छ । फूलखेतीबाट आफू मात्र नभई पाल्पा जिल्लालाई नै चिनाउने उहाँको सपना छ । एक वर्षमा तीन पटकसम्म यसको खेती गर्न सकिन्छ ।

 

SHARE