Thursday, June 4, 2026

कारागारका कैदीबन्दीलाई मतदाता शिक्षा

0

गीताकुमारी बस्याल
कात्तिक ३०,२०७९ गुल्मीः जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई मतदाता शिक्षा प्रदान गरिएको छ ।

आगामी मङसिर चार गते हुने प्रतिनिधि सभाको समानुपातिक तर्फ कारागारमा रहेका कैदीबन्दीहरुले पनि मतदान गर्न पाउने भएकाले बदर मत कम गर्नका लागि मतदाता शिक्षा कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो ।

 

जिल्ला कारागारमा रहेका ८० जना कैदीबन्दीहरु मध्ये ३६ जनाको मतदाता नामावलीमा नाम भएकाले उहाँहरुले मतदान गर्न पाउँने गरी कारागारमा एक अस्थायी मतदान केन्द्र थप भई आएको पाण्डेले बताउनुभयो ।

३६ जना मध्ये ३२ जना पुरुष र चार जना महिलाहरु रहेको कारागार कार्यालयका सूचना अधिकारी सीता भण्डारीले जानकारी दिनुभयो ।


कारागारमा रहेका कैदीबन्दीहरुलाई रेसुङगा नगरपालिका वडा नम्वर दुईकी स्वयंसेविका पुष्पा बिष्टले मतदानको प्रक्रिया र मतदान गर्ने तरिकाको बारेमा जानकारी गराउनुभएको थियो ।

 


जिल्लामा २७८ मतदान केन्द्र र १४२ मतदान स्थलहरु रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
जसका लागि ५५६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि तालिम प्रदान गरिएको छ ।

 


तालिम पश्चात उहाँहरुलाई मतदानका लागि चाहिने सम्पूर्ण सामग्रीहरु प्रदान गर्ने कार्यक्रम रहेको कार्यालयले जनाएको छ । जसका लागि कात्तिक ३० गते र मङसिर १ गते सामग्रीहरु हस्तान्तरण गर्ने योजना बनाएको पाण्डेले बताउनुभयो ।

निर्वाचनमा कर्मचारी खटनपटनको चटारो

0

दिवाकर पोख्रेल
कार्तिक ३०: मंसीर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराउनको लागि कर्मचारी खटनपटनको चटारो थपिएको छ ।

 

निर्वाचन अधिकृतको कार्यालयबाट मतदान स्थल टाढा रहेका क्षेत्रमा मंगलबारबाटै निवौचन सामाग्री र नियुक्तीपत्र वुझेर कर्मचारी मतदान केन्द्र तर्फ लागेका छन् । दाङको बिकट क्षेत्रमा रहेका मतदान स्थलमा पनि कर्मचारी खटनपटनको काम भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

विशेषगरी दाङको पहाडी क्षेत्र बंगालाचुली क्षेत्र,बबई गाउँपालिका अलिक बिकट क्षेत्र मानिन्छ । उक्त क्षेत्रमा रहेका मतदान स्थलमा खटने कर्मचारीहरु नियुक्ती पत्र बुझ्नको लागि निर्वाचन अधिकृतको कार्यालयमा भिडभाड शुरु भएको छ ।

 

यस्तै दाङको निर्वाचन क्षेत्र नम्बर १ मा खट्ने कर्मचारीहरु पनि आफ्नो नियक्ती पत्र बुझ्न अधिकृतको कार्यालयमा जम्मा भएका छन् । दाङ जिल्लभर एकसय ५३ मतदान स्थलमा दुइवटा अस्थायी मतदान केन्द्र सहित जम्मा चारसय ६५ मतदान केन्द्र छन् । यि मतदान केन्द्रमा जिल्लाभर तीनहजार सातसय ३० कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवंरले जानकारी दिनुभयो ।

 

दाङको क्षेत्र नम्बर १ मा सुरक्षाकर्मी र स्वयमसेवक कर्मचारी बाहेक एकहजार दुइसय सोह्र कर्मचारी निर्वाचनको लागि खट्नेछन । दाङको क्षेत्र नम्बर १ मा ५१ मतदान स्थलका एकसय ५२ मतदान केन्द्रमा खट्ने सबै कर्मचारीलाई निर्वाचन सामाग्री र नियुक्तीपत्र दिएर काममा खटाइसकिएको छ ।

दाङ क्षेत्र नम्बर १ निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार पदनभर नियुक्तीपत्र बुझनको लागि भिडभाड भएको छ । मंगलबार केहि छुट भएकाहरुको बुधबार पनि नियुक्तीपत्र दिएर काममा खटाइने निर्वाचन अधिकृत मानवहादुर विष्टले जानकारी दिनुभयो ।

अधिकाश मतदान स्थल सामुदायिक विद्यालयमा रहेकोले स्थानीय तहले ३० गतेबाट विद्यालय विदा गरेका छन् ।

भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु , दुई घाइते

0
सांकेतिक तस्बिर

कात्तिक ३०,२०७९काठमाडौं : भक्तपुरको मध्यपुर थिमी–६ राइटोलमा भीषण आगलागी हुँदा १ जनाको मृत्यु भएको भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार थिमीको राईटोलस्थित आत्माराम खत्री र हरिशरण खत्रीको घरमा पुरानोमा आगलागी हुँदा २७ वर्षीय छोरी अस्मिता खत्रीको मृत्यु भएको छ। घटनामा १४ नित्मा खत्री र बालसेवा आधारभुत विद्यालयमा कार्यालयमा सहयोगी रहेकी ६८ वर्षीय तिलककुमारी सिलवाल घाइते भएको पाण्डेले जानकारी दिए।

खत्रीको अवस्था खतरामुक्त रहेको र सिलवाल उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ।​ स्थानीका अनुसार बिजुली सर्ट भएर आगलागी भएको बताएका छन्।

भक्तपुर नगरपालिका र मध्यपुर नगरपालिकाका दुई वटा दमकलले आगो निभाएको थिमी नगरपालिकाकाका उप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए।

इँटाले बनेको पुरानो शैलीको घर आगलागीबाट लगभग पुरै जलेको छ। आगलागीको क्षतिको विवरण आउन बाँकी रहेको र मृतक खत्रीको शव पोष्ट मार्टमका लागि शिक्षण अस्पताल भक्तपुर पठाइएको छ।

चन्द्रकोटमा मंसिर ६ गते सार्वजनिक बिदा

0
चन्द्रकोट गाउँकार्यपालिकाको कार्यालय तस्विर : खवरमार्केट

कात्तिक ३०,२०७९ गुल्मीः
चन्द्रकोट गाउँपालिकाले मंसिर ६ गते बाला चतुर्दशीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 

मंसिर ६ गते चक्रेश्वरमा मेला लाग्ने भएकाले र विगतका वर्षहरुमा पनि पालिकाबाट दिँदै आएको बिदालाई निरन्तरता दिँदै सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए ।

सो दिन पालिका मातहतका सम्पूर्ण कार्यालयहरु बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

बसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु

0

कात्तिक ३०,२०७९झापा : पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–७ स्थित दुर्गापुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ ।

अर्जुनधारा–६ का ५२ वर्षीय नरेन्द्र मैनाली र श्रीमती ५० वर्षीया सीतादेवीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलबार अपराह्न पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख ६७९४ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मैनाली दम्पती सवार मे ७प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

कालीगण्डकी गाउँपालिकाको लोगो र झण्डा डिजाइन गर्नेलाई १ लाख

0

कात्तिक २९,२०७९ गुल्मी : स्याङजाको कालीगण्डकी गाउँपालिकाले गाउँपालिकाको लोगो र झण्डा डिजाइन गर्नेलाई ५०।५० हजार पारिश्रमिक दिने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र पाण्डेयद्धारा जारी गरिएको सूचनामा गाउँपालिकाको लोगो र झण्डा उत्कृष्ट डिजाइन गर्नेलाई प्रति डिजाइन ५० हजारका दरले पारिश्रमिक र प्रमाणपत्र उपलब्ध गराउने उल्लेख गरिएको छ ।

लोगो डिजाइनमा समग्र गाउँपालिकाको भौगोलिक,प्राकृतिक,सांस्कृतिक तथा सामाजिक चरित्र झल्कने र पालिका गानलाई सम्बोधन गर्ने प्रकृतिको हुनुपर्नेछ ।लोगोमा समाबेश भएका चित्र तथा शब्दहरुले मौलिक ब्याख्या तथा विश्लेषण समाबेश भएको हुनुपर्नेछ भने अन्य गाउँपालिकको लोगो भन्दा भिन्न र मौलिक डिजाइन भएको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

यस्तै गाउँपालिकाको झण्डा डिजाइन गर्दा रङ तथा चित्रले सामाजिक , धार्मिक सहिष्णुता झल्कने हुनुपर्नेछ ।
झण्डामा प्रयोग भएको रङ तथा चित्रले अभिब्यक्त गर्न खोजेको अभिप्राय स्पस्ट रुपमा उल्लेख भएको हुनुपर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

झण्डाको डिजाइनमा नेपालको राष्ट्रिय झण्डा भन्दा फरक हुनुपर्नेछ भने झण्डाको आकार नेपालको राष्ट्रिय झण्डाको आकारको क्षेत्रफल भन्दा फरक नहुने उल्लेख गरिएको छ ।

गाउँपालिकाको लोगो र झण्डा डिजाइन गर्नका लागि गाउँपालिकामा मंसिर २० गतेसम्म प्रस्ताब पेश गर्न सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र पाण्डेयले जानकारी दिनुभयो ।

वर्षा र हिमपातको सम्भावना

0
फाइल फोटो

कात्तिक २९,२०७९ काठमाडौँ : देशका केही भू(भागमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै पहाडी क्षेत्रमा वर्षा र हिमाली तथा उच्च हिमाली क्षेत्रमा बिहीबारसम्म हिमपात हुने जनाएको छ।

विभागका अनुसार हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव छ।​ सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा छ।

आज दिउँसो पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ।

प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशको कर्णाली प्रदेशको हिमाली भू९भागका थोरै स्थानहरुमा र बाँकी हिमाली भू–भागको एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। ​ सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का हिमाली भू९भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

गुल्मीमा ७४ वर्षीय वृद्धाको शंकास्पद मृत्यु

0

कात्तिक २९, ०७९ गुल्मीः गुल्मीमा ७४ वर्षीय वृद्धाको आफनै घरभित्र शंकास्पद मृत्यु भएको छ ।

जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर ५ की ७४ वर्षीय जीवकला थापाको घरको ढोकामा ताल्चा लगाएको र घरभित्र थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

थापाले नाक र कानका लगाएको गहनाहरु पनि नभएकाले घटना रहस्यमय देखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधबराज खरेलले जानकारी दिनुभयो ।

थापा दुई दिन अगाडि देखी गाउँमा हिडडुल गरेको नदेखेको स्थानीयहरुले जनाएका छन् ।

घटनाको बारेमा थप अनुसन्धान गर्नका लागि खरेलकै नेतृत्वमा एक समिति गठन गरी अगाडि बढ्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृतको स्थलगत मुचुल्का तयार गरी शबलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइएको खरेलले बताउनुभयो ।

आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ

0

नुवाकोटः दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भंगेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। खड्काका अनुसार तामाङ घरेलु हतियारसहित मृतकको घरतर्फ गएको देखिएको र घटनास्थलमा हतियार र उनको चप्पल भेटिएको छ ।

घटनालगत्तै उनी फरार रहेका उनी काठमाडौंतर्फ जान लागेको समयमा मंगलबार बिहान पक्राउ परेका हुन्।

सोमबार साँझ २० वर्षीया सम्झना पाण्डे ९खतिवडा० र उनकी छोरी तीन वर्षीया कृष्टिनाको हत्या भएको थियो। धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अंगमा गहिरो चोट लागेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको थियो।

ग्रामीण क्षेत्रको बिकास नमुना योग्य बनाउँछौ : सुदर्शन बराल

0

कात्तिक २८,२०७९ गुल्मीःगुल्मी क्षेत्रनम्वर एकमा प्रदेशसभा एकका उम्मेद्वार सुदर्शन बरालले ग्रामीण क्षेत्रको बिकास नमुना योग्य बनाउने बताउनुभएको छ ।

रुरक्षेत्र गाउँपालिकाको ग्वादी र रानीबासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बरालले ग्रामीण क्षेत्रका नागरिकको जीबनशैलीमा परिवर्तन नआएसम्म बिकास भएको भन्न नसकिने भन्दै ग्रामीण क्षेत्रका नागरिकको जीबन शैलीमा परिवर्तन आउने गरी काम गर्ने बताउनुभएको छ ।

आफू लुम्बिनी प्रद्रेशको सामाजिक बिकास मन्त्री हुँदा र पछी पनि निरन्तर रुपमा गुल्मीमा सडक,पुर्वाधार,खानेपानी ,सिंचाई ,खेलमैदान, आमासमुहहरुका भवन लगायत शिक्षा ,स्वास्थ्य मठ मन्दिर निर्माण लगायत धेरै कार्यहरुगरेको भन्दै बाँकी रहेका अधुरा अपुरा कार्यहरुलाई पुरा गरेर गुल्मीलाई बिकासको माध्यमबाट नमुना बनाउने बताउनुभएएको छ ।

युवाहरुलाई स्वदेशमै रोजगारीको ब्यबस्था गर्ने र युवाहरुलाई स्वदेशमै टिकाई राख्ने गरी आफूले योजना बनाएको उहाँको भनाई छ ।

युवाहरुबाट परिवर्तत संभव भएको भन्दै आफू सधै युवाहरुको जोश जाँगरको साथमा रहेको उल्लेख गर्नुभयो । प्रदेश सभा एकमा गठबन्धनबाट बराल र एमालेबाट चिन्तामणी पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।