काँग्रेस नेता पहराईको दशै दलित समुदायमा

0
1608

रमेश विश्वकर्मा
कात्तिक १४,२०७७ गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिका वडा नं। ३ हाडहाडेका छन्द बहादुर पहराईको यसपालिको दसैँ बिशेष बन्यो । पहराई नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य हुन् । उमेरले ४९ वर्ष पुगेका पहराई विगतका वर्षहरुमा आफन्तजनसँग मात्र दसैँमा टीका ग्रहण गर्थे ।

उनी मगर समुदायका अगुवा समेत हुन् । सानै देखि समाजमा जातीय विभेद् रुपी बिषङ्गति देखेर हुर्केका पहराई यसलाई हटाउने परिकल्पना गर्दथे । उनको त्यही दृढ सोँच, सङकल्प र साहसले सामाजमा विद्यमान रहेको जातीय बन्धनको घेरालाई तोड्दै यसपालिको दसैँमा पहराईले दलित समुदायका अग्रजबाट दसैँको टीका, जमरा र आर्शिवाद ग्रहण गरे ।

जातीय विभेद्ले जन्माएको छुवाछूत जस्तो अमानवीय व्यवहार व्यवहारिक रुपमा हट्न नसकिरहेको बेला पहराईले छिमेकी गोर बहादुर दर्जी, राम बहादुर दर्जी, गोपाल दर्जी लगायतका अन्य दलित समुदायको हातबाट दसैँको टीका ग्रहण गरेका हुन् । जातीय छुवाछूतले आक्रान्त नेपाली समाजमा प्राय आफ्नै जातभित्र आफन्त, इष्टमित्र र मान्यजन खोज्ने प्रचलन छ । तर कांग्रेस नेता समेत रहेका पहराईले त्यो मान्यतालाई तोडेर नयाँ सन्देश समेत नेपाली समाजलाई प्रवाह गरेका छन् ।

‘दलित समुदायको विवाहमा जन्त जाँदा पहिलो पटक टीका लगाएको थिए । तर विजया दशमीको टीका मेरो लागि पहिलो पटक हो पहराईले भने,‘दुई तीन वर्ष अगाडि देखि नै लगाउने मन थियोे तर लगातार टीका रोकिएकोले यो अवसर प्राप्त गर्न पाएको थिएन् । अहिले मौका पर्यो ।’

‘पहिला त टीका ग्रहण गर्छु भन्दा कसैले पत्याउनु भएन । ख्याल् ठट्टा मान्नु भयो पहराईले भने,‘साँच्चै टीका लगाउँदा आर्शिवादको बर्साद भयो ।’ त्यस अवसरमा उहाँहरुले मलाई सधै साथ दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । आफु गैर दलित भए पनि समाजमा अछुत बनाई तल्लो पारिदैँ आएका दलित समुदायको हातबाट टीका ग्रहण गर्न पाउँदा निकै गौरवको अनुभुति भएको नेता पहराईले सुनाए ।

मानव–मानव सबै समान भएपनि समाजमा अत्यन्तै अमानवीय सामन्ती संस्कारको कारणले यस्तो बिषङ्गतिको अवशेष रहेको उल्लेख गर्दै उनले अहिले पनि समाजले हिम्मत गर्न नसकेको बताए । आफू नेपाली काँग्रेसको ईमानदार सिपाही भएको उल्लेख गर्दै पहराईले भने,‘नेपाली काँग्रेस आफैमा सामाजिक आन्दोलन हो । सबै किसिमको विभेदको विरुद्धमा नेपाली काँग्रेस उभिनु पर्छ ।’ नेता पहराईले आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिने बताए ।

अहिले आफुले गरेको यस कार्यप्रति अन्य गैरदलितबाट पनि सकरात्मक टिप्पणी पाएको जानकारी दिए । आफ्नो सोँचप्रति आफ्नो परिवार पनि खुसी भएको उल्लेख गरे । नेता पहराइले जस्तै सामाजिक अगुवा जोसुकैले पनि जातीय छुवाछूतको व्यवहारिक रुपमा अन्त्यका लागि कागज र भाषणमा मात्र होइन व्यवहारमा देखिने गरि लाग्न आवश्यक रहेको छ ।

SHARE