दशैँमा सुनसान भए गुल्मीका शक्तिपिठ

0
774

हुमाकान्त पोखरेल
गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसिथोक बाहुनगाउँस्थित कुमारीदेवी मन्दिरमा गत बर्ष सातवटा पञ्चल, १४ पाडा र २६ पाठा बली चढाइयो । उक्त बली चढाउदा १५ हजारभन्दा बढी आम्दानी भयो । उक्त मन्दिरमा प्रत्येक बर्षको अष्टमीका दिन बली र त्रायोदशीका दिन सरायँ नाच हुने गर्दछ । अष्टमीका दिन गत बर्ष मात्रै करिब १५ सय र त्रायोदशीका दिन पाचँ हजारभन्दा बढी मानिस सरायँ नाच हेर्न र खेल्न आउथे । त्रायोदशीका दिन दर्शनार्थीहरुले चढाएको भेटी पनि झण्डै पाचँ हजारभन्दा धेरै हुन्थ्यो । त्यसरी जुटेको आम्दानीले मन्दिरको विविध खर्च चुटाउन सहयोग हुन्थ्यो । तर यो बर्ष जम्मा एउटा पञ्चल (कुबिन्डा, काक्रो, पाठो, पाडो र परेवा) चढाइयो । यो बर्ष अष्टमीको दिन शनिबार करिब ७० जना मात्रै जम्मा भए । त्रायोदशीका दिन त मन्दिर झनै सुनसान हुनेछ । ‘अहिले एउटा मात्र पञ्चल चढाउने निर्णय ग¥यौ ।’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल पोखरेलले भने, ‘यो बर्ष मन्दिरमा आउने मानिसको सङ्ख्यासँगै आम्दानी पनि घटेको छ ।’
धुर्कोट गाउँपालिका ६ रजस्थलमा रहेको खड्गछत्र मन्दिरको नामले परिचित धुकोट कोत पनि अहिले सुनसान जस्तै छ । गत बर्ष अष्टमीका दिन मन्दिरको सरसफाई, नवमीका दिने बलीको लागि मन्दिरको आन्तरिक तयारी, पुजारी व्यवस्थापन लगायतका कार्यको लागि मानिसहरुको भिड हुन्थ्यो । तर अहिले त्यस्तो भिड कोतमा छैन । कोतमा अहिले सामान्य सरसफाई गरिएको छ । फुलपाति भित्राउँदा पनि धेरै भिड भएन् । ३० भन्दा बढी पाठा र रागाँको बली दिइने कोतमा यो बर्ष भने दुई रागाँ र एउटा पाठाको मात्र बली दिइदैँछ । अन्य अवस्थामा ६० हजारभन्दा बढी आम्दानी हुने मन्दिरमा यो बर्ष कुनै आम्दानी छैन ।
वाग्लाको अजिमिर कोतमा पनि गत बर्ष २० वटाभन्दा बढी बली दिइएको थियो । यो बर्ष पनि इच्छुक व्यक्तिहरुले बली दिन पाउने तर सरायँ नाच नगर्ने समितिको निर्णय रहेको पुजारी रेशम घिमिरेले बताए । एकादशीका दिन हुने सरायँमा वाग्लाका साथसाथै मदाने, मालिका, इस्मा गाउँपालिकाका समेत मानिसहरु वाग्लाकोत पुग्ने गर्दथे । तर यो बर्ष सरायँ नाचँ नहुने घिमिरेले बताए ।
मुसिकोट नगरपालिका २ मा रहेको मुसिकोट कोत पनि यो बर्ष सुनसान छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमसिहं ठकुरीका अनुसार अहिले कोतमा बलीको सङ्ख्या, दर्शनार्थीहरुको सङ्ख्यासँगै आम्दानी पनि घट्ने देखिएको छ । ‘बली चढाउन र सरायँ खेल्न निशेष गरिएको छ ।’ उनले भने, ‘यो बर्ष समितिको आर्थिक कारोबार पनि घाटामा जाने भयो ।’ धुर्कोट र मुसिकोट मात्र होइन्, यो बर्ष गुल्मीका सबैजसो कोत र शक्तिपिठहरु सुनसान छन् । इस्माकोत, अर्जैकोट, चारपाला दरबार, चोयघा, बम्घाकोत लगायतका क्षेत्र गुल्मीका बली दिने तथा सरायँ खेल्ने मुख्य क्षेत्र हुन् । यो बर्ष यस्ता क्षेत्रहरु प्राय सुनसान छन् । कोरोना महामारीका कारण बुटबल, काठमाडौ तथा विदेशबाट आउने सबै नागरिक गाउँ आएनन् । गाउँ आएका तथा गाउँमै भएका पनि प्रशासनको निर्णयलाई स्वीकार गर्दै मन्दिर गएनन् । जिल्लाका सबैजसो शक्तिपिठ तथा कोतहरुका मन्दिर व्यवस्थापन समतिले बैठक नै बसेर यो बर्ष धेरै बली नचढाउने तथा सरायँ नाच नगर्ने निर्णय गरेका छन् । ‘विभिन्न ठाउँबाट मानिसहरु गाउँ आएका छन्, भिडभाड गर्दा संक्रमण फैलने डर बढेको छ ।’ मुसिकोट कोत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमसिहं ठकुरीले भने, ‘अहिले जमघट हुनेभन्दा पनि बाँच्नु प्राथमिकतामा छ ।’
जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाका शक्तिपिठहरुमा निषेधाज्ञा जारी गरेको छ । प्रशासन कार्यालयले मन्दिरहरुमा नित्य पुजाबाहेक भक्तजनहरुलाई दर्शन गर्न बन्देज लगाएको हो । दशैँको बेला मन्दिरमा हुने भिडभाडले कोरोना भाइरस संक्रमणको जोखिम हुने भएकोले मन्दिरहरुमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताए । यदि कसैले निषेधाज्ञा उल्लघंन गरेमा संक्रमण ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कानुनी कारवाही गरिने शर्माले बताए ।

SHARE