
कात्तिक ९,२०७ सिमकोट : हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोनले काम गर्न छाडेको छ । दक्षिणमा रहेका अदानचुली, ताँजाकोट, चंखेली र सर्केगाड गाउँपालिकासहित छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकामा समेत टेलिफोनले काम गर्न छाडेको छ ।
नेपाल टेलिकमले हुम्लाका सातै गाउँपालिकामा आफ्नो सेवा विस्तार गरे पनि भौगोलिक विकटताले टेलिकमको टेलिफोन सेवा प्रभावकारी नभएको यहाँका स्थानीयवासीको गुनासो छ । ताँजाकोट गाउँपालिकाको चिहिमा रहेको टावरले कुनै काम नगरेपछि नागरिक सञ्चार सेवाबाट वञ्चित छन् ।
अदानचुली गाउँपालिकाका श्रीनगर र कालिकामा रहेका दुवै टावर गत असोज २० गतेदेखि सञ्चालनमा आउन सकेका छैनन् भने चंखेली गाउँपालिकाको मेल्छाममा भएको टावरले कुनै काम गरेको छैन । लकडाउनका समयमा आवतजावतका लागि सिफारिसलगायत आवश्यक कागजात मिलाएर मात्र आउनुपर्ने भएकाले बीचबाटामा सयौँ मानिसले कुर्नुपरेको छ ।












