
हुमाकान्त पोखरेल
कात्तिक ७,२०७७ गुल्मी : जन्मदिन मनाउदा ठुलो खर्च गरी केक काट्ने गरेको सबैले देखेकै छौ । तर आजकाल जन्मदिन मनाउने तरिका फरक हुन थालेका छन् । गुल्मीको धुर्कोट गाउँपालिका ६ रजस्थलका अनिल कुमार जिसीले जन्मदिनको खर्च कुनै केक काट्नमा नभई विद्यार्थीको शैक्षिक क्षेत्रमा खर्चिएका छन् ।
शुक्रबार जिसीको जन्मदिन हो । त्यसैको अवसरमा उनले धुर्कोट गाउँपालिका ४ जैसिथोक रातापोखराका मिना कुँवरकी छोरी पाञ्चायन माध्यमिक विद्यालय, कक्षा ७ मा अध्ययन गर्ने करिश्मा कुँवरको आगामी बर्षको लागि शैक्षिक खर्च प्रदान गरेका छन् । जन्मदिनको अवसरमा उनले एक कार्यक्रमका बीच कापि, कलम, पोशाक, जुत्ता, झोला लगायतका सामग्री प्रदान गरेका हुन् । अहिले केसी मुसिकोट नगरपालिका वडा नम्बर २ मा पशु स्वास्थ्यसम्बन्धि करारमा नियुक्त भई काम गर्दै आएका छन् ।
गत असोज ९ गते नेकपा जिल्ला कमिटी गुल्मीका सचिवालय सदस्य विनिता पोखरेलको जन्मदिन परेको थियो । जन्मदिनमा उनले करिश्माका दाई कक्षा ८ मा पढ्ने विशाल कुँवरको आगामी शैक्षिक सत्रको लागि शैक्षिक खर्च आफुले व्यहोर्ने घोषणा गरेकी थिइन् । शुक्रबार केसीको जन्मदिनको अवसर पारेर उनले पनि सोही कार्यक्रममा कापि, कलम, पोशाक, झोला, जुत्ता लगायतका शैक्षिक सामग्री प्रदान गरेकी छिन् ।
करिश्माकी बहिनी कक्षा ३ मा पढ्ने लक्ष्मीलाई पाञ्चायन माविका पूर्व शिक्षक एवम् सिटिजन लाइफ् इन्स्योरेन्स् गुल्मी शाखाका प्रमुख दिपक पोखरेलले एक बर्षको शैक्षिक खर्च व्यहोर्ने घोषणा गरेका छन् । केसी र पोखरेल दुवैले आफुहरुसँग धेरै पैसा नभई विद्यार्थीहरुको पढ्न पाउने हकलाई सुनिश्चित गर्नको लागि सहयोग गरेको बताए । पछिल्लो समय जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्ने लहर नै चलेको छ ।
बुधबार नेकपा जिल्ला कमिटी सदस्य नरेश भण्डारीले पिपलधाराका दुई विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरे । यसभन्दा अगाडी पनि विभिन्न व्यक्तिहरुले आफ्नो जन्मदिनको अवसरमा जैसिथोक, वस्तु लगायतका ठाउँका विभिन्न विद्यार्थीहरुलाई न्यूनतम एक बर्षलाई पुग्ने शैक्षिक सामग्री प्रदान गरेका छन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धुर्कोट गाउँ कमिटी अध्यक्ष गोपाल कुँवर, पाञ्चायन माविका शिक्षक लक्षमण पोखरेल, विभिन्न समाजसेवी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै बालबालिकाकी आमा मिनाले सहयोग गर्ने सबैलाई धन्यवाद् दिइन् । कार्यक्रमको सहजिकरण पत्रकार हुमाकान्त पोखरेलले गरेका थिए ।








