टिनले टल्कदैँ गुल्मीका गाउँ

0
479

हुमाकान्त पोखरेल
कात्तिक ७,२०७७ गुल्मी : मदाने गाउँपालिका ६ पुर्कोट दहका प्रेम बहादुर विश्वकर्मा विगत दुई बर्षका बर्षायाममा ढुक्कले निदाए । कारण हो, यो भन्दा अगाडी खरको छाना हुँदा चुहिने घरमा अहिले जस्ता पाता लगाउनु । ०७५ माघमा मदाने गाउँपालिकाले निःशुल्क जस्ता पाता उपलब्ध गराएपछि उनी बर्षायाममा पानी चुहिने समस्याबाट मुक्त भएका छन् ।
‘पहिले–पहिले पानी चुहिएर रातमा निदाउनै पाइने थिएन ।’ उहाँले भन्नुभयो, ‘यो बर्ष ढुक्कले निदायौ ।’ सोही ठाउँकी सुन्तली विकको घर पनि खरले छाएको थियो । पानी परे चुहिने डर, खडेरी पर्दा अगालागीको डर ।
त्यहि डरलाई मध्यनजर गर्दै गाउँपालिकाले जस्ता पाता दिएपछि उहाँको डर हराएको छ । ‘घरका बालबच्चासँग डरैडरमा बाँचेकी थिए ।’ उहाँले भन्नुभयो, ‘घरमा टिनका छाना लगाउछौ भन्ने सोचेकी पनि थिइन ।’ विक परिवार मात्र होइन, अहिले जिल्लाका धेरै परिवारका छाना जस्ताले छाइएको छ । खरका छाना भएका गाउँ टिनले टल्कन थालेका छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि खरका छाना विस्थापन गरी टिनका छाना लगाउने कार्यले तिब्रता पाएको छ । कतिपय स्थानीय तहमा सबै घरमा खरका छाना विस्थापन गरिएको भने कतिपयमा अन्तिम चरणमा पुगेको छ । खरका छाना विस्थापन भई जस्ता पाता लगाएसँगै नागरिक पनि खुसी भएका छन् ।
धुर्कोट गाउँपालिकाले सुरु गरेको खरका छाना विस्थापन गरी जस्ता पाता लगाउने अभियान अहिले देशव्यापी चलेको छ । सोही कार्यक्रमअन्तरगत केही स्थानीय तहले आफ्नो स्थानीय तहभित्रका सबै खरका छाना विस्थापन गरिसकेका छन् । जिल्लाका १२ वटै स्थानीय तहमा यो कार्यक्रम पुरा हुँदा करिब ८ हजार भन्दा बढी घरधुरी लाभाम्बित हुनेछन् । जिल्लाको क्षेत्र नम्बर २ का स्थानीय तहले मात्रै टिनका छानामा २० करोड खर्चिएका छन् भने चार हजार घरलाई खरका छानामुक्त बनाएका छन् ।
मदाने गाउँपालिकामा खरका छाना भएका सबै घरमा जस्ता पाता लगाइएको छ । कोरोनाको कारण खरका छानामुक्त गाउँपालिका घोषणा गर्न मात्र बाँकी रहेको गाउँपालिकाका सुचना अधिकारी ऋषि पोखरेलले जानकारी दिनुभयो । धुर्कोट गाउँपालिकामा अहिलेसम्म ५५० भन्दा बढी घरमा टिनका छाना लगाइएको छ । जसका लागि दुई करोड बजेट खर्च भएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । ‘स्थानीय तहको निर्वाचनमा निःशुल्क जस्ता पाता दिने आश्वासन दिएका थियौं ।’ उनले भने ‘अहिले त्यसैलाई सार्थकता दिदैँछौ ।’
मुसिकोट नगरपालिकामा खरका छाना विस्थापित गरी टिनका छाना पाउने कुल लाभग्राही सङ्ख्या ९९३ हुन् । जसमध्ये सबै परिवारले टिन पाएको नगरप्रमुख सोमनाथ सापकोटाले बताए ।
जस्तापाता वितरणको लागि अहिलेसम्म कुल चार करोड खर्च भएको सापकोटा बताउछन । तर कोभिडका कारणले खरका छाना मुक्त नगरपालिका घोषणा गर्न नसकिएको उनको भनाई छ ।
मालिका गाउँपालिकाका कुल लाभग्राही एक हजार ४७ परिवार हुन् । जसमध्ये ९२८ घरधुरी खरका छानामुक्त भइसकेका छन् । बाँकी ११९ परिवारलाई चालु आर्थिक बर्षमा जस्ता उपलब्ध गराइने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए । गाउँपालिकाले टिनका छाना खरिदमा अहिलेसम्म तीन करोड ९० लाख खर्च गरेको छ ।

SHARE