
रमेश विश्वकर्मा
गुल्मी, कार्तिक ४ ,२०७७ : जिल्ला प्रशासन कार्यालय गुल्मीद्वारा पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान निषेधाज्ञा जारी गरिएको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले एक सूचना जारी गर्दै सम्पूर्ण शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान सर्वसाधारणलाई निषेधाज्ञा जारी गरिएको बताए । उनले अर्को सूचना जारी नभएसम्म सर्वसाधारणलाई मन्दिर नजान आग्रह गरे ।
तीव्र रुपमा फैलिएको कोरोना भाइरस कोभीड१९ को संक्रमण जिल्लाका विभिन्न स्थानहरूमा फैलिरहेको हुनाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै वडा दशै लगायतका चाडपर्वमा जिल्लामा रहेका सम्पुर्ण शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पुजाआजा बाहेक दर्शनका लागि मन्दिर जान सर्वसाधारणका लागि निषेधाज्ञा जारी गरिएको प्रजिअ शर्माले बताए ।
जिल्लाबासी सम्पुर्णलाई आफ्नै घरमा पुजापाठ र वली दिने कार्य गर्न समेत प्रजिअ शर्माले आग्रह गरे । उनले भने, कोहि कसैले निषेधाज्ञाको अवज्ञा वा उल्लंघन गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम कानुनी कारबाही गरिनेछ ।









