
सुशीला रेग्मी
कात्तिक ३,२०७७ पाल्पा : पाल्पाको रामपुर नगरपालिकामा फोहोरबाट प्राङ्गारिक मल उत्पादन सुरु भएको छ ।
नगरपालिका भित्र अव्यवस्थित रुपमा फालिएका कुहिने फोहोरजन्य पदार्थलाई मेसिनबाट प्रशोधन गरिएको प्राङ्गारिक मल उत्पादनको परीक्षण सफल भएको छ । आईतवार रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, जनप्रतिनिधि, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, बजार समिति, टोलवासी, स्थानीय लगायतको उपस्थितीमा मेसिनमा प्रशोधित मल निकालिएको छ ।
शनिवार विजयादशमीको पहिलो दिन घटस्थापनको शुभ साइतमा मेसिनलाई नगर प्रमुख थापाले पुजाआजा गरी उद्घाटन पश्चात फोहोर पदार्थ राखेर मेसिन संचालन गरिएको हो । मेसिनमा फोहोर राखेको करिव दश घण्टाको अवधीमा प्राङ्गारिक मल उत्पादन भएको छ ।

मेसिनबाट उत्पादन गरिएको मल परिक्षणका लागि रामपुर नगरपालिकाले निर्माण गरेको उच्च प्रबिधिको तरकारी टनेल (हाईटेक टनेल) मा प्रयोग गर्ने नगर प्रमुख थापाले बताए ।
“फोहोर सङ्कलनका लागि नगरपालिकाले हाललाई एक घरबाट मासिक एक सय रुपैयाँ शुल्क लिने गरेको छ, अब नगरपालिकाले घर घरमा पुगेर फोहोर किनेर यसैबाट आयआर्जन बढाउने, रोजगार दिने र पर्यटक समेत भित्र्याउने लक्ष्य रहेको लिएको छ नगर प्रमुख थापाले भने ।
नगरपालिका भित्र निस्कने फोहोरमैला व्यवस्थापनका लागि विस.२०७१ सालमा रामपुर नगरपालिका ४ को गाबुडाँडामा २५ रोपनी जग्गा लिइएको छ । त्यहाँका केही स्थानीयको असमझदारीका कारण फोहोरमैला व्यवस्थापनको काम अगाडी बढ्न नसक्दा यस विषयमा पटक पटक आवाजहरु उठीरहेका थिए ।
स्थानीय तहको चुनावको समयमा नेपाली कांग्रेसले निर्वाचन जितेमा रामपुरको अव्यवस्थित फोहोरलाई व्यवस्थापन गर्ने घोषणा पत्रमा समेटेको थियो । नागरिक संग गरेको वाचा तथा चुनावी प्रतिबद्धता अनुसार नै फोहोरलाई मोहोरमा परिणत गर्ने गरी फोहोर व्यवस्थापनको काम अगाडी बढाएको नगर प्रमुख थापाको भनाई छ ।

उनी भन्नछन्, “फोहोर व्यवस्थापन हामी निर्वाचित भएर नआउँदा देखि नै थियो, चुनावी प्रतिबद्धता अनुसार काम भएको छ, यसमा पनि बिरोधका आवाज उठिरहेका पनि छन् तर अहिले परिक्षणका लागि नगरपालिका परिषरमा मल उत्पादन सुरु भएको छ, दीर्घकालिन व्यवस्थापनका लागि अन्यत्र फोहोर व्यवस्थापन गर्ने नगरको योजना छ” ।
नगरपालिकाले फोहोर प्रशोधन गर्ने मेसिन १८ लाख ९२ हजार ४०० मा खरिद गरी मेसिनबाट मल उत्पादन गर्ने प्रबिधि संचालनमा ल्याएको हो । विभिन्न संचार माध्यममा ‘रामपुरमा फोहोरमैला व्यवस्थापन नहुदा समस्या’ भन्ने शीर्षकमा समाचार प्रसारण तथा प्रकाशन भएका कारण फोहोरमैला व्यवस्थापनको काम अगाडी बढेको हो ।
परीक्षणका लागि हाललाई नगरपालिका परिषरमा नै अस्थायी टहरा बनाएर मेसिन संचालन गरिएको छ । दीर्घकालिन रुपमा यसलाई अन्यत्र लगेर व्यवस्थापन गर्ने नगरपालिकाको सोँच रहेको प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य बताउछन्।
रामपुर नगरपालिकाले उद्यम चौतारी प्राली र सूर्योदय क्लव स्याङ्गजाको सहकार्यमा फोहोरमैला व्यवस्थापनको काम सुरु गरेको हो । रामपुरमा पहिलो पटक मेसिनबाट कुहिने फोहोरजन्य पदार्थ प्रशोधन गरी प्राङ्गारिक मल उत्पादन कार्यले सफा र स्वच्छ रामपुर नगर हुने विश्वास स्थानीयको छ ।
रामपुरको मुख्य समस्याका रुपमा रहेको फोहोर व्यवस्थापनका लागि नगरपालिकाले प्रशोधन मेसिनबाट प्राङ्गारिक मल उत्पादन गर्न सुरु गरेपछि फोहोरको समस्या समाधान मात्र नभई रामपुरको कृषि क्षेत्रमा पनि प्राङ्गारिक मलको प्रयोग गरेर प्रशस्त उत्पादन बढाउन सकिने रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए ।
उद्यम चौतारी प्रालीका प्रबन्ध निर्देशक रिखिराम पौडेल र सुर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले फोहोरमैला व्यवस्थापनका सन्दर्भमा पटक पटक रामपुर नगरपालिका संग छलफल, अन्र्तक्रिया जस्ता कार्यक्रम संचालन गरेका थिए ।
फोहोर प्रशोधन मेसिनबाट एक पटकमा पाँच क्वीन्टल फोहोरजन्य पदार्थलाई मेसिनले प्रशोधन गरी करिव १५ देखि २० प्रतिशत मल उत्पादन गर्न सकिन्छ । मासुजन्य, हड्डी जस्ता पदार्थ प्रशोधन हुनका लागि करिव २० घण्टा समय लाग्छ भने अन्य फोहोरजन्य पदार्थ करिव १० घण्टा देखि १५ घण्टा सम्ममा प्रशोधन भई मल उत्पादन गर्न सकिने उद्यम चौतारी प्रालीका प्रबन्ध निर्देशक रिखिराम पौडेलले बताए ।
फोहोरजन्य नकुहिने पदार्थलाई नगरपालिकाले अन्यत्र बिक्रि गर्ने तयारी गरेको छ । हिजो फोहोर त्यत्तिकै जथाभावी खेर फाल्नेहरु अब मल उत्पादन गर्न थालिएपछि नागरिक आफैले फोहोर टिपेर बेच्ने सुर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठ बताउछन् ।

केही वर्ष अघि रामपुर साना शहरी खानेपानी आयोजनाबाट फोहोरमैला व्यवस्थापन शीर्षकमा आएको रु एक करोड रकम काम गर्न नसकेर फ्रिज भएर गएको नगरपालिकाले जनाएको छ ।
बेझाड बजार क्षेत्रबाट निस्कने फोहोरजन्य पदार्थ हरेक दिन टिपरमा सङ्कलन गर्ने गरिएको छ । बेझाड बजार क्षेत्रमा जनघनत्व बढी रहेकाले यहाँ दैनिक तीन टिपर जति फोहोरमैला निस्कने गर्छ ।
बेझाडको मुख्य बजार चोक, बाङ्गेपसल, सहकारी पथ, नहरअफिस, हुलाक पेट्रोलपम्प, बसपार्क, स्कुलरोड, रामपुर आवासिय बोर्डिङ्ग, भुपु बोर्डिङ्ग, होटल श्रीनगर लगायतका स्थानबाट घर घरमा पुगेर टिपरमार्फत सङ्कलन गर्ने काम भइरहेको छ । अहिले हरेक दिन कुहिने र नकुहिने फोहोर सङ्कलन कार्य भइरहेको छ ।








