
रामकृष्ण कडेल,
असोज २७,२०७७ गुल्मी गुल्मीदरबार गाउँपालिकाद्धारा ल्याइएको कस्तो छ आमा कार्यक्रमको अभिमुखिकरण मङ्गलबार सम्पन्न भएको छ ।
कार्यक्रम असोज २१ गते वडा नम्बर १ बलिथुम स्वास्थ्य चौकीबाट सुरु भइ गाउँपालिका सम्पुर्ण वडाहरुमा सम्पन्न हुदै मङ्गलवार वडा नम्बर ७ दरबार देबिस्थान स्वास्थ्य चौकीमा समापन भएको हो ।
सम्पुर्ण वडाका गर्भवती महिलाहरुलाइ विषेश सम्मान साथमा कस्तो छ आमा कार्यक्रमको अभिमुखिकरण गरिएको छ । कार्यपालिका सदस्य तुल्सा अर्यालको सभापतित्वमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिना भण्डारीले स्वस्थ गर्भवती आमा र स्वस्थ बच्चाको लागि गुल्मीदरबार गाउँपालिकाले कस्तो छ आमा कार्यक्रम संचालन गरेको हुँदा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनको लागि सबैले सहयोग गर्न आग्रह गरिन ।
कार्यक्रममा विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गाउँपालिकाले गर्भवती आमाको स्वास्थ्य सुरक्षा र सरसफाई¸ पोषण सेवा र संस्थागत प्रसुतीलाई प्रोत्साहन गर्दै सुखी र स्वस्थ नागरिक निर्माणको लागि यो अभियान संचालन गरेको हुँदा हरेक गर्भवती महिला र परिवारले पालिकाको यो अभियानलाई सार्थक तुल्याउनको लागि अनुरोध गरे ।
कार्यक्रममा पाण्डेले स्वास्थ्य शाखा प्रमुखले स्थानीय भएकोले कार्यालय समय बाहेक अतिरिक्त समयको उपयोग गर्दै स्वास्थ्य क्षेत्रमा विषेश पहल गर्दै पृथक कार्यक्रम ल्याउन सफल भएकोमा प्रशंमा समेत गरे ।

बिषेश अतिथि एवम् प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले दरबार देबिस्थान स्वास्थ्य चौकीका अनमी सुमन पन्थीलाई गर्भवती महिलाहरुसँग नियमित सम्पर्कमा रही उहाँहरुको स्वास्थ अवस्थाको बारेमा जानकारी लिन सहज गराउने उद्देश्यानुसार एक थान स्मार्ट मोबाइल सेट र सिम कार्ड हस्तान्तरण गरे ।
असोज २१ गतेबाट गाउपालिका का ७ वटै वडाका जनप्रतिनिधि¸ स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी¸ स्वास्थ्यकर्मी¸महिला स्वास्थ्य स्वयंसेवीका र १०९ जना गर्भवती महिलाहरु र उनिहरुका सासुआमाहरु लगायतका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरी कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमको सहजिकरण गर्दै स्वास्थ्य अधिकृत अर्यालले प्रसुति अवस्था, नवशिशु तथा बाल्यावस्थामा ख्याल गर्नुपर्ने कुराहरु र अपनाउनु पर्ने सावधानी हरुको बारेमा स्वास्थ्य चौकीको फोकल ब्याक्तिले वारम्बार कस्तो छ आमा तपाईं लाइ भनि प्रत्येक महिना गरि कम्तिमा ३० पटक सोधिने भएकोले कार्यक्रम को नाम (कस्तो छ आमा) राखिएको बताए ।
महिला गर्भवती भएको खबर पाउनेबित्तिकै जनप्रतिनिधिसहित स्वयंसेविका र स्वास्थ्यकर्मी उनको घरमै पुगेर बधाइ सँगै गर्भावस्थामा ख्याल गर्नुपर्ने विषयमा सुझाव र सल्लाह सहित गर्भवतीलाइ सन्देशमूलक ऐना, बाबुलाई गर्भको बच्चाले लेखेको चिठी बुझाएर घरमा गर्भवतीको लोगो अंकित हरियो झण्डा टाँसिदिने कार्य योजना रहेको छ ।
अर्यालले सहजिकरण गर्दै अगाडि भन्नु भयो गर्भवतीको घरबाट फर्किने बेला गर्भवतीलाई छिट्टै टिडी खोप लगाउने र चौथो महिनामा गर्भजाँचका लागि आउने सल्लाह दिइने छ ।
त्यसपछि हरेक महिना फोकल पर्सनले गर्भवतीलाई फोन गरेर स्वास्थ्य अवस्थाबारे बुझेर आवश्यक सल्लाह दिइनेछ । गर्भवती महिलाले चौथो, छैठौं, आठौं र नवौं महिनामा गर्भ जाँच गराएपछि गर्भवतीलाई ३० वटा अन्डा, आयोडिन नुनको पोका, नुहाउने र धुने साबुन, नङकट, आइरन र क्याल्सियमसहितको गाउँपालिकाको कोसेली प्रदान गर्ने पनि अर्यालले बताए
। प्रसूति व्यथा लाग्नेबित्तिकै फोकल पर्सनलाई फोन गर्ने, स्वास्थ्य संस्थामा स्थापित बर्थिङ्ग सेन्टरमा लिएर आउने,सुरक्षित प्रसूति सेवा प्रदान गरिने , सुत्केरी तथा नवशिशु जाँच गरेर आमा र बच्चालाई न्यानो झोला तथा नगद २८ सय रुपैयाँ प्रदान गरिने छ ।
सुत्केरी भएको तेस्रो दिनमा जनप्रतिनिधि , स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम् सेविका माइतिको रुपमा सुत्केरिलाइ घरमै भेट्न पुगेर सुत्केरि र नव शिशु को स्वास्थ्य परिक्षण सङ्गै कार्यक्रममार्फत कोसेली प्रदान गरिने , सुरक्षित प्रसूतिपछि स्तनपान, खोप र तौललाई यो कार्यक्रमले विशेष जोड दिएको बताए।
नियमित सम्पर्क गर्दै प्रत्येक महिना तौल लिन सल्लाह दिइ सातौ महिनादेखि बच्चालाइ तौल लिन आउदा प्रोत्साहन स्वरुप अण्डा प्रदान गरिने पनि अर्यालले बताए।
वडा नम्बर ७ को वडा कार्यालयमा मङ्गलबार सम्पन्न कार्यक्रममा प्रोटोकल अनुसार चौथो पटक गर्भ जाच गर्ने गर्भवती महिला मिना कार्कीलाई प्रमुख अतिथि भण्डारीले गाउपालिकाको कोसेली एक क्यारेट अण्डा , आयोडिन युक्त नुन , साबुन नङकट , क्याल्सियम प्रदान गर्नुभएको थियो । गर्भवतिको तर्फबाट अस्मिता अर्याल , गर्भवति महिलाको परिवारको तर्फबाट रुपा टण्डन, महिला सदस्य लक्ष्मी सुनार महिला स्वास्थ्य स्वयम् सेविका अमृता अर्याल लगायत को शुभकामना मन्तव्य रहेको कार्यक्रममा स्वास्थ्य चौकीका अनमी सुमन पन्थिको स्वागत र दरबार देबिस्थान स्वास्थ्य चौकी प्रमुख जुनाकला बस्नेतको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।








