पहिरो प्रभावितहरुलाई नगद सहयोग

0
470

हुमाकान्त पोखरेल
असोज २७,२०७७ गुल्मी : गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ का पहिरो प्रभावितहरुलाई नगद सहयोग गरिएको छ । काठमाडौमा बस्ने हस्चितौरबासिहरुको संस्था हस्चितौर काठमाडौ ट्रस्ट, काठमाडौको पहलमा संकलित रकम सोमबार हस्तान्तरण गरिएको हो ।

‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका ९७ जना पहिरो पीडितहरुलाई कुल दुई लाख ५४ हजार वितरण गरिएको संस्थाका अध्यक्ष भुपाल खत्रीले जानकारी दिए । ‘क’ वर्गका दुई परिवारलाई प्रति परिवार आठ हजारका दरले १६ हजार, ‘ख’ वर्गका ३३ जनालाई प्रति परिवार चार हजारका दरले एक लाख ३२ हजार वितरण गरिएको छ । ‘ग’ वर्गका २३ जनालाई दुई हजारका दरले ४६ हजार तथा ‘ग’ वर्गका ४० जनालाई प्रति परिवार एक हजार पाचँ सयका दरले ६० हजार वितरण गरिएको खत्रीले बताए ।
गत असार १८ गते हस्चितौरमा पहिरो जाँदा दुईजनाको मृत्यु भएको थियो भने ४० भन्दा बढी परिवार विस्थापित भएका थिए । भने कतिपयको गोठ, घरको आशिंक क्षति लगायत क्षति भएको थियो ।
संस्थाले संस्थाभित्रै आवद्ध भएका, रोजगारीको शिलशिलामा विभिन्न क्षेत्रमा रहेका हस्चितौरबासि तथा चिनजानका आधारमा अन्य व्यक्तिहरुसँगबाट पनि सहयोग संकलन गरेको थियो । पहिरो पीडितको लागि व्यक्तिहरुले एक हजार एक सयदेखि ५० हजार सम्म सहयोग गरेका थिए । जसमध्ये स्थानीय विष्णु घिमिरेले ५० हजार सहयोग गरेका छन् । संकलित रकम कोरोनाको कारणले समयमै वितरण गर्न नपाएपनि गाउँको दुःखमा आफुहरु सधै लागिरहने खत्रीको भनाई छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष चुरा बहादुर खत्रीले प्राप्त भएको रकमको सही सदुपयोग गर्न आग्रह गरे । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

SHARE