असोज २६,२०७७ गुल्मी : गुल्मी प्रहरीले बन्यजन्तु चोरी शिकारमा प्रयोग हुने दुई मोटरसाइकल सहित बिस्फोटक पदार्थ बरामद गरेको छ । रेसंगा क्षेत्रमा दैनिक रुपमा बन्यजन्तु शिकार गर्ने र सयौ स्थानीयले घाँस दाउरा गर्न थालेपछि रेसुंगा संरक्षण समितिले प्रहरी चौकीको माग समेत गरेको थियो ।
गोप्य सूचनाको आधारमा पुगेको प्रहरीको गस्ती टोलीले रेसुंगा संरक्षण क्षेत्रको गौशाला नजिकबाट लुं ३५ प ४८५६ नम्बरको २२० पल्सर र लु १६ प १९१७ नम्बरको होण्डा साइन मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए । त्यस्तै मोटरसाइकल सहित झोलामा राखिएको बारुद मोटो एक सय ग्राम , मसिनो एक सय ७५ ग्राम, छर्रा फलामको एक सय १ ग्राम , किटको ६० र सिसाको एक सय ५० ग्राम बरामद गरिएको छ ।
साथै केप २१ थान, केपमा प्रयोग हुने पटका दुई रोल, लाइटको ब्याट्रि तीन थान, रेति र पेचकस दुई÷दुई थान, सियो धागो तीन थान, बन्दुक सफा गर्ने तेल एक बट्टा, कैची लगायतका सामग्री फेला पारिएको प्रहरी नायव उपरीक्षक पन्तले जानकारी दिए ।
प्रहरी नायव निरीक्षक भेषबहादुर घर्तिमगरको नेतृत्वमा प्रहरी टोली गौशाला पुग्ने बित्तिकै हतियार सहितका शिकारी भागेकाले मोटरसाइकल र केहि बिस्पोटक पदार्थ बरामद गर्न सफल भएको बताए । भागेकाहरुको खोजी कार्य जारी रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।