
सागर भण्डारी
असोज १९,२०७७ गुल्मी : मुसिकोट नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाका ९ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुले गत आर्थिक बर्ष २०७६÷७७ मा सम्पन्न गरेका कार्यक्रम तथा सेवा प्रवाहको समिक्षा गरिएको छ ।
नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको बार्षिक समिक्षा गोष्ठीमा आमा सुरक्षा कार्यक्रमको यातायाता सुविधा निरन्तर प्रवाह भएको, सबै स्वास्थ्य संस्थामा औषधीको प्रयाप्तता भएपनि केही आवश्यक भौतिक संरचना र सामाग्रीहरुको अभाव रहेको,बिसीजि खोप लगायतका अन्य केही खोपहरु खेर जाने दर बढीरहेकाले त्यसलाई न्यूनिकरण गर्न आवश्यक रहेको बताईएको छ ।
मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सहप्रमुख पुष्कर गौतमका अनुसार, नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण स्वास्थ्य केन्द्र र ईकाईहरुले स्वास्थ्य शाखामा आफ्नो स्वास्थ्य विवरण पठाएका छन् । मुसिकोट नगरपालिकामा ७ वटा स्वास्थ्य चौकी, २ वटा सामुदायिक स्वास्थ्य ईकाई संस्था,३ वटा सहरी स्वास्थ्य केन्द्र, २ वटा आधारभूत स्वास्थ्य केन्द्र, ५ वटा बर्थिङ सेन्टर ,३१ व्टा खोप क्लिनिक र २४ वटा गाउँघर क्लिनिक रहेका छन् ।

उक्त अवसरमा ९ वटै वडामा रहेका स्वास्थ्य केन्द्र र ईकाईका प्रमुखहरु आफ्नो स्वास्थ्य संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा स्वास्थ्य सुचकहरुको अवस्था, स्वास्थ्य संस्थाको विवरण, भौतिक अवस्था, मानव संसाधन, बार्षिक रुपमा देखा परेका प्रमुख स्वास्थ्य समस्याहरु,स्वास्थ्य सुचनाको व्यवस्थापनको वर्गीकरण लगायतका विषयमा जानकारी गराएका थिए ।
उक्त अवसरमा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आँपचौर स्वास्थ्य चौकीका प्रमुख माधव घिमिरेले पोषणका सामाग्रीहरु स्वास्थ्य चौकीबाटै प्रदान गर्न र विरामीलाई आवश्यक उपकरण र स्वास्थ्यकर्मीको सेवा सुविधा वृद्धि गर्न सकेमा सेवा स्वत प्रभावकारी हुने बताए ।
त्यस्तै कुर्घा स्वास्थ्य चौकी प्रमुख पूर्णकला थापाले पछिल्लो समय अन्य रोगहरु जस्तै मानसिक रोगीहरुको संख्या पनि बढ्न थालेकाले यसको नियन्त्रणका लागि परामर्श आवश्यक रहेको बताइन् ।
वामी स्वास्थ्य चौकी प्रमुख त्रिविक्रम केसीले स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवा सुविधा केही थप भएको भन्दै ८४ वर्ष माथिका जेष्ठ नागरिकहरुको घरमै गएर स्वास्थ्य चेकजाँच गर्ने कार्यलाई निरन्तरता दिने बताए ।
नगरपालिकाका स्वास्थ्य सहसयोंजक पुष्कर गौतमले विपन्न नागरिक स्वास्थ्य उपचार अन्तर्गत नगरपालिकाबाट २६ जनालाई आर्थिक सहयोग गरिएको जानकारी गराउँदै बार्षिक प्रगती विवरण, सुरक्षित मातृत्व कार्यक्रमका बारेमा जानकारी गराए ।
त्यस्तै उनले नगरपालिकामा सुरक्षित गर्भपतन गराउनेको संख्या जम्मा ६ प्रतिशत मात्रै रहेको भन्दै त्यसलाई वृद्धि गर्न जनचेतनाका कार्यक्रमहरु गर्नु आवश्यक रहेको बताए । फरक प्रसगंमा गौतमले पछिल्लो समय आत्महत्या विकराल रुपमा सामाजिक समस्या बन्दै गएको भन्दै यसले भविष्यमा ठुलै सकंट सिर्जना गर्ने भएकाले सचेत रहन आग्रह गरे ।
सोही अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका मेडिकल अधिकृत मधु भट्टराईले मुसिकोट नगरपालिकाले पछिल्लो समय स्वास्थ्यको क्षेत्रमा उल्लेख्य प्रगति गरेको भएपनि कतिपय सामान्य रोगका बिरामीहरु पनि बढेको भन्दै त्यसको रोकथामका लागि अभ्यास थाल्न सुझाव दिए ।
त्यस्तै उनले छिमेकी बाग्लुङ र अर्घाखाँचीमा हात्तिपाईले र डेगुंको सक्रंमण देखिएकाले त्यसको खोजि गर्न र अध्ययन थाल्न आग्रह गरे ।
मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण उपेक्षित लक्ष्य हासिल गर्न नसकिएपनि गत वर्ष भन्दा स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको जानकारी दिए । उनले सम्पूर्ण स्वास्थ्यकर्मीहरु र जनप्रतिनिधिहरुले कोरोनाको समयमा रातदिन खटेर उल्लेख्यनीय काम गरेको भन्दै प्रशसां गरे ।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले अन्य विकासका काममा जस्तो शिक्षा र स्वास्थ्यका क्षेत्रमा ध्यान जान नसकेको बताए । उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि अन्य पूर्वाधार निर्माणका क्षेत्रमा जस्तो लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताए ।
समिक्षा गोष्ठी कार्यक्रममा मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटा,वडाध्यक्षहरु,स्वास्थ्यकर्मी पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले गरेका थिए ।








