रामपुरमा फोहोर प्रशोधन कार्य सुचारु गर्न ज्ञापनपत्र

0
365

सुशीला रेग्मी

रामपुर (पाल्पा), १९ असोज : अव्यवस्थित रुपमा रहेको फोहोरजन्य पदार्थलाई मेसिनबाट प्रशोधन कार्य छिटो सुचारु गर्न रामपुर नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ ।

रामपुरमा लामो समय देखि अव्यवस्थित रुपमा फालिदै आएको फोहोरजन्य पदार्थलाई व्यवस्थित गरी रामपुर नगरलाई फोहोररहित नगर बनाउन नगरवासीले आईतवार नगरपालिकाका नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य र प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यलाई ज्ञापनपत्र बुझाएका हुन् ।

‘उद्यम चौतारी प्राली र सूर्योदय क्लव स्याङ्गजा संगको समन्वयमा रामपुर नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि समन्वय गरी कामलाई अगाडी बढाउने क्रममा बाधा पु¥याउने प्रयास भएको भन्ने बुझिएकाले केही समयका लागि डम्पीङ होईन व्यवस्थापन गर्नका लागि हामी सहमत भएका छौँ’ भनी उल्लेख गरिएको ज्ञापनपत्रमा तीन सय १४ जना नागरिकले हस्ताक्षर गरी नगरपालिका कार्यालयमा बुझाइएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले फोहोरमैला रामपुरको मुख्य समस्या भएकाले केही समयका लागि अहिले फोहोर फालिएकै स्थानमा प्रशोधन मेसिनबाट प्राङ्गारिक मल उत्पादन गर्ने तयारीमा रहेको बताउँदै परिक्षण पश्चात दीर्घकालिन रुपमा अन्यत्र स्थानमा नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने योजना बनाएको बताए ।

नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले नगरपालिकाले फोहोरमैला व्यवस्थापनकै लागि वडा नं ४ मा खरिद गरेको जग्गामा स्थानीय बीच नै विवाद भइरहेकाले केही समयका लागि नगरपालिका नजिकै फालिरहेको ठाउँमा प्रशोधन गर्ने प्रक्रिया अगाडी बढेको बताइन् ।

रामपुर नगरलाई फोहोररहित नगर बनाउने संकल्पका साथ उद्यम चौतारी प्राली र सूर्योदय क्लव स्याङ्गजाको समन्वयमा फोहोरजन्य पदार्थलाई मेसिनबाट प्रशोधन गरी जैविक प्राङ्गारिक मल उत्पादन गरी बिक्रि गर्ने लक्ष्यका साथ अगाडी बढेको नगरपालिकाले जनाएको छ ।
फोहोरमैला व्यवस्थापनका लागि प्रशोधन मेसिन खरिद, अस्थायी भवन निर्माण कार्य भइसकेको छ । अहिलै प्लाष्ट्रिकजन्य पदार्थलाई छुट्टाएर राख्ने कार्य भइरहेको छ । रामपुरका बजार क्षेत्रबाट दैनिक रुपमा निस्कने फोहोरजन्य पदार्थ व्यवस्थापनका लागि दीर्घकालिन ठाउँको अभावमा नगरपालिका कार्यालयको परिषरमा फालिने गरिएको छ ।
अव्यवस्थित रुपमा फालिएका फोहोरलाई व्यवस्थापन गरी फोहोररहितको नगर बनाउन र फोहोरजन्य पदार्थबाट नगरको आयस्रोत बृद्धि गर्ने गरी फोहोरमैला व्यवस्थापनको काम सुरु गर्न लागेको नगर प्रमुख रमणबहादुर थापा बताउछन् ।

“हाल फालिने गरेको स्थानमा नै फोहोर प्रशोधन कार्य केही समयका लागि परिक्षण गर्न लागेका छौँ, प्रशोधनको क्रममा दुर्गन्ध आएमा वा त्यसले वातावरणमा नराम्रो असर पारेमा परीक्षणको क्रममा नै अन्यत्र स्थानमा व्यवस्थापन हामी मिलाउनेछौँ, नगरवासीले यो फोहोर प्रशोधन गर्ने कार्य क्षणिक समयका लागि मात्र हो भन्ने बुझ्नुहोला” नगर प्रमुख थापाले भने ।

दीर्घकालिन रुपमा अहिलेकै स्थानमा नगरपालिकाले फोहोर प्रशोधन कार्य गर्दा बेझाड बजार क्षेत्रमा दुर्गन्ध फैलिन्छ भन्ने कुराको चर्चा चलेकाले भ्रममा नपर्न नगरवासीलाई आग्रह गर्दै नगर प्रमुख थापाले परीक्षणका लागि नयाँ अभ्यासको थालनी गर्न लागिएको बताए ।
साथै उनले फोहोर व्यवस्थापनको कार्यमा राजनैतिक रुपमा कोही पनि नगरका नागरिक उत्रनुभन्दा दीर्घकालिन व्यवस्थापनका लागि निकासमा जुट्न सबै रामपुरवासीलाई अनुरोध गरे ।

फोहोरमैला व्यवस्थापनका लागि जनप्रतिनिधि, सरसफाई कर्मचारी, उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन समितिका पदाधिकारीलाई जानकारी गराइसकिएको छ ।

SHARE