सामाजिक सुरक्षा भत्ता विधेयक दर्ता

0
417

असोज १२,२०७७ काठमाडौं :  सरकारले ६० वर्षमुनिका एकल महिला र अशक्त व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता निरन्तरता दिन सामाजिक सुरक्षा ऐन संशोधन विधेयक संसद्मा दर्ता गरिएको छ ।

ऐन जारीअघि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधिअनुसार उपलब्ध गराइँदै आएको भत्ता रोकिएको थियो । गृहमन्त्री रामबहादुर थापाका तर्फबाट विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता भएको हो ।

ऐनले कार्यविधिको व्यवस्थालाई निरन्तरता नदिएपछि अहिले ६० वर्षमुनिका एकल महिला भत्ता र अपाङ्गता भएका व्यक्तिको भत्ता रोकिएको थियो । त्यसपछि सरकारको आलोचना भएको थियो । संसद्को बजेट अधिवेशनमा सांसदहरूले संशोधन विधेयक तत्काल ल्याउन माग गरेका थिए ।
सरकारलाई संसद्को कानुन न्याय तथा मानव अधिकार समितिले ऐन संशोधनको निर्देशन दिएको थियो । त्यसअनुसार ६० वर्षमुनिका सबै अशक्त अपाङ्गता भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी ऐन संशोधन प्रस्ताव ल्याइएको हो ।

विधेयकमा असहाय र एकल महिला भत्तासम्बन्धी व्यवस्था संशोधन प्रस्ताव गरिएको छ । प्रस्तावमा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी तोकेको भन्दा न्यून आय भएका व्यक्ति तथा सम्बन्धविच्छेद गरी अर्को विवाह नगरेका वा न्यायिक पृथकीकरण गरी बसेका व्यक्तिलाई भत्ताको व्यवस्था गर्ने प्रस्ताव छ ।

SHARE