असोज ९,२०७७ गुल्मी : गुल्मीमा कोरोना परीक्षण सुरु गरिएको छ । असोज १ गते नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उदघाट्न गरेको कोरोना परीक्षण प्रयोगशालाबाट परीक्षण सुरु गरिएको हो ।
पहिलो चरणमा ३६ जनाको स्वाब परीक्षण गर्दा रुरु क्षेत्र गाउँपालिकाका १३ जना र तम्घास अस्पतालका प्रमुख डाक्टर उत्तम पच्या लगायत अन्य २ जनामा कोरोना संक्रमण पुष्टि भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।
अस्पतालका प्रमुख डाक्टरलाई नै कोरोना संक्रमण पुष्टि भएपछि उनी अहिले होम आइसोलेशनमा बसेका छन् । उनलाई ५ दिन अगाडी देखि सामान्य ज्वरो आएको र शंका लागेर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । उनको सम्पर्कमा आएकाहरुको बिबरण संकलनको कार्य सुरु भएको र स्वाब संकलनको कार्य भएको अस्पतालले जनाएको छ ।
अस्पतालका डाक्टर पच्याले आफूलाई संक्रमण पुष्टि भएसंगै बिगत एक हप्तादेखि आफूसंग सम्पर्कमा आएकाहरुलाई आइसोलेशनमा बस्न फेसबुक मार्फत आग्रह गरेका छन् । उनले कुनै लक्षण देखा परेमा अस्पतालमा सम्पर्क राख्न आग्रह गरेका छन् ।