निस्दीको कालीगण्डकी भोटाहाघाटमा नियम विपरित नदी दोहन

0
285

सुशीला रेग्मी

असोज १,२०७७ पाल्पा : निस्दी गाउँपालिका १ स्थित कालीगण्डकीको भोटाहा घाटमा नदी दोहन कार्य भएको छ । नियम विपरित ठुला उपकरण प्रयोग गरेर नदीको धार नै परिवर्तन हुने गरी दोहन गरिएको छ ।

नदीको धारलाई परिवर्तन गर्ने गरी ढुङ्गा, गिट्टी, बालुवा जस्ता पदार्थ निकालिएपछि यसले खेतीयोग्य जमिन तथा वातावरणमा ठुलो असर पार्ने स्थानीय कुलबहादुर रानाले बताए ।

“यसभन्दा अगाडी नदीमा डोजर लगाएर नदीजन्य पदार्थ निकालिएको थिएन, कालीगण्डकी करिडोरको सडक निर्माणका लागि ठुला ठुला उपकरण प्रयोग गरेर सम्झौता विपरित नदीजन्य पदार्थ निकालेपछि यसले ठुलो असर पार्नेछ”उनले बताए ।

२०७७ जेठ २५ गते असार मसान्त सम्मका लागि निस्दी गाउँपालिकाले कालीगण्डकी करिडोरका लागि दश हजार सात सय घनमिटर बालुवा, गिट्टी तथा ढुङ्गा निकाल्ने अनुमति दिएको हो ।

गाउँपालिकाबाट ठेकेदार संग दश हजार सात सय घनमिटर सम्झौता गरिएपनि करिव २१ ह्जार घनमिटर भन्दा बढी उत्खनन् गरेको पाइएको निस्दी गाउँपालिका १ का अध्यक्ष पूर्णबहादुर खाँणले बताए ।

“आवश्यक भन्दा बढी नदीजन्य पदार्थ निकालेको पाइएपछि तत्काल पालिका कार्यालयमा अनुगमन गरी यस कार्य रोक्न अनुरोध गरेपनि अनुगमनमा ढिलाई हुदा ठेकेदारले ठुलो परिमाणमा उत्खनन् गरेको पाइएको छ” उनले भने ।

नदिबाट निकालिएको गिट्टी, बालुवा र ढुङ्गा उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको सडक निर्माणका लागि गाउँपालिकाले उत्खनन् गर्न अनुमती दिएको हो । यहाँका स्थानीयका अनुसार ठुलो परिमाणमा नदीजन्य पदार्थ निकालेर ठेकेदार सिताराम देवकोटाले सर्वसाधारणलाई बिक्री गरेको बताएका छन् ।

ठेकेदार ंसंग गाउँपालिकाका जिम्मेवार व्यक्ति आफै मिलेका कारण अनुगमन र निगरानीमा पालिकाले चासो नदिएको समाजसेवी शालिकराम पाण्डेय बताउछन् ।

“घाटबाट ठुला ठुला उपकरण लगाएर तोकिएभन्दा कयौँ गुणा नदीजन्य पदार्थ उत्खनन् हुदा पालिकाका जिम्मेवार व्यक्ति देखेको नदेखे जस्तो गरेर बस्दा नदीको संरचना तथा नदी किनारका जमिनमा असर पुगेको छ, जिम्मेवार निकायले नै मुख्य दोषी भएकाले छिटो भन्दा छिटो यसको छानबिन हुनुपर्छ” उनले बताए ।

गाउँपालिकाले वातावरणीय अध्ययन प्रतिवेदन रिपोर्टको आधारमा तीन हजार १८६ घनमिटर नदीजन्य पदार्थ निकाल्ने गरी २०७६ कात्तिकमा नै सात लाख ३० हजारमा रामपुरका ठेकेदार सिताराम देवकोटालाई जिम्मेवारी दिएको थियो ।

२०७७ को जेठको अन्तिम समयमा कालीगण्डकी करिडोरले दश हजार सात सय घनमिटर नदीजन्य पदार्थ उत्खनन्को लागि निवेदन दिएको थियो । गत जेठ २५ गते पालिकाले नदीमा ठुला उपकरण प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन्का लागि अनुमति सहितको पत्र दिएपछि धमाधम काम थालिएको हो ।

करिडोरले ठेकेदार संग घाट लिएर दुई वटा स्काभेटरको सहयोगमा सामग्री निकालेको जनाएको छ । नियम विपरित नदीमा ठुला उपकरण प्रयोग गरेर सामग्री निकालेपछि नदी किनारमा रहेका खेतीयोग्य जमिन कटान गर्ने स्थानीय नुनबहादुर रानाले बताए । गिट्टी, बालुवा, ढुङ्गा उठाएपछि नदी नै मोडिएर बग्न थालेको उनको भनाई छ ।

तोकिएको मापदण्ड भन्दा बढी उत्खनन् भएको गुनोसो आएपछि जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष मिरा मरासिनीको संयोजकत्वमा अनुगमन कार्य भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेशराज न्यौपाने, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक सन्तोष भट्टराई, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक अरुण सिं, जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवाली, सांसदहरु नारायणप्रसाद आचार्य र युवराज खनाल सहितको टोलीले नदिजन्य पदार्थ जम्मा गरेर राखिएको क्षेत्रको निरीक्षण गरेको हो ।

प्रभावित स्थलको अवलोकनपछि जिल्ला प्रशासन कार्यालयले दोहनको विषयमा छानबिन नहुन्जेल सम्मका लागि निकालिएका नदीजन्य सामग्री अन्यत्र लैजान रोक लगाउन निर्देशन दिएको छ । टोलीले अनुमती भन्दा कयौँ गुणा बढी निकालेको पाएपछि कागजपत्र जुटाएर छानबिन गर्ने जनाएको छ ।

SHARE