तम्घास अस्पतालमै ट्युमरको अप्रेशन

0
325

हुमाकान्त पोखरेल

भदौ २८,२०७७ गुल्मी : तम्घास अस्पताल, गुल्मीमा आवश्यक उपकरण जडान हुँदै गएसँगै सेवा–सुविधामा पनि बृद्धि भएको छ ।
पछिल्लो समयमा ठुला अप्रेशन तथा जटिल प्रकारका रोगहरु समेत अस्पतालबाटै प्रदान गर्न सुरु गरिएको छ । दुई हप्ता अगाडी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर २ देउरालीकी २० बर्षिय युवती पेट दुख्ने समस्या लिएर तम्घास अस्पताल आइन् ।
तुलनात्मक हिसाबले उनको पेट ठुलो र गर्भवती महिलाको जस्तै देखिएको थियो । तर महिला अविवाहित थिइन् । त्यसपछि अस्पतालका डाक्टरहरुले युवतीको पेटको भिडियो एक्सरे र पिसाब जाँच गरे । एक्सरेमा पेटभित्र मासुको डल्ल्लोजस्तो आकारमा अण्डादानीबाट ट्युमर भएको देखियो । उक्त रोगको अप्रेशनको विकल्प थिएन । तरपनि अस्पताल र डाक्टरहरुलाई जोखिम उत्तिकै भएकोले करिब दुई हप्तासम्म युवती र उनका परिवार तथा डाक्टरहरुले समेत सल्लाह गरे ।
अन्तत शनिबार युवतीको सफल अप्रेसन गरी उनको पेटबाट ठुलो आकारको (करिब एक किलोको) मासुको डल्लो निकाले । यसभन्दा अगाडी यस किसिमको रोगको उपचार गर्न पाल्पा वा बुटबल जानुपथ्र्यो । बिहिबार मात्रै युवती अस्पतालबाट डिस्चार्ज समेत भएकी छिन् । तर आवश्यक विभिन्न उपकरण जडान गरेपछि जिल्लामै अप्रेशन सफल भएको हो । यस्तो प्रकारको अप्रेशन विरलै मात्रामा हुने गर्दछ । यस्ता समस्याहरु कम मात्रामा आउने र अप्रेसन गर्दा जोखिम बढी हुने भएपनि आफुहरुले सफल अप्रेशन गरेको तम्घास अस्पताल गुल्मीका प्रमुख डाक्टर उत्तम पाच्याले बताए ।
यस्तो रोगको अहिलेसम्म कुनै खास कारण नरहेको डा. पाच्याले बताए । तर जन्मिने समयमा नै यसको समस्या हुने र पछि ठुलो हुने हुँदा समस्या देखिने उनले बताए । पछिल्लो समयमा तम्घास अस्पतालमा जटिल प्रकारका अप्रेशन भएका छन् । केहि समय पहिलेमात्रै ८१ बर्षिया दुईजना बृद्धको पनि हर्नियाको सफल अप्रेशन गरिएको अस्पतालले जनाएको छ ।

SHARE