जानु पाण्डे
भदौ २७, २०७७ कपिलवस्तु : सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा शान्ति सुरक्षाका लागि खट्दै आएका कपिलवस्तुमा सशस्त्र प्रहरीले १३ वर्षपछि सुरक्षित आवास पाएका छन्।
विजय नगर गाउँपालिका–५ डालपुर र कृष्णनगर नगरपालिका–६ भिल्मीमा भवन निर्माण भएपछि सशस्त्र प्रहरीलाई सजिलो भएको छ। यसअघि उनीहरू पुरानो तथा जीर्ण भवनमा बसेर काम गर्दै आएका थिए।
नव निर्मित भवनमा कार्यालय, जवान ब्यारेक, वास सुविधासहितको शौचालयसमेत रहेको छ।
२०७५ माघ २ मा नेपाल सरकारको निर्णयअनुसार बिओपीको रूपमा स्तारोन्नति भएको थियो। भिल्मीमा २०७० सालमा बिओपी स्थापना भए पनि सुरक्षित भवनको प्रबन्ध रहेको थिएन।
डालपुरको भवन एक करोड ९३ लाख र भिल्मीमा रहेको भवन ७५ लाख ९० हजार रुपैयाँको लागतमा निर्माण भएको सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक ध्रुवबहादुर कार्कीले बताए।
भवन निमार्णपछि सशस्त्र प्रहरीलाई काम गर्न अझ सजिलो हुने विजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले बताइन्। डालपुरमा बिओपी निर्माणका लागि स्थानीयले १४ लाख रुपैयाँ संकलन गरेर १८।५ कट्ठा जग्गा खरिद गरी हस्तान्तरण गरेका थिए।