कृषिजन्य सामग्रीको उत्पादन गाउँपालिकाले खरिद गरिदिने

0
313

हुमाकान्त पोखरेल
भदौ २७,२०७७ गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेको कृषिजन्य सामग्रीको उत्पादन खरिद गरी विक्रि गरिदिने भएको छ ।
गाउँपालिका र आर्थिक समृद्धिको लागि ग्रामीण कृषि उद्यमशिलता बुटबलबीच सहमति भएपछि किसानको उत्पादनलाई गाउँपालिकाले खरिद गरिदिने भएको हो । गाउँपालिकाभित्रका विभिन्न १० प्रकारका कृषि सामग्रीको गाउँपालिकाले मुल्य नै तोकेर किसानहरुलाई सम्बन्धित ठाउँमा आफ्ना सामग्री संकलन गर्न आग्रह गरेको छ ।
मासको दाल र सेतो कर्कलोबाट निर्माण गरिएको महिला समुहबाट निर्मित तितौरा ३८० रुपैँया प्रतिकेजिमा खरिद गरिदिने भएको छ । त्यस्तै मुलाको सिन्कि (गुन्द्रुक) प्रतिकेजि चार सय, मुलाको सुकाएको चाना प्रतिकेजि ६०, बेसारको सुकाएको चाना प्रतिकेजि २८५, कोदो प्रतिकेजि ३७ रुपैँयामा खरिद गरिदिने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै सोस्ता वा बोडी प्रतिकेजि १५०, ग्रेडिङ गरेको मकै प्रतिकेजि ४०, खैरो भट्ट र सेतो भट्टको लागि प्रति केजि ७०÷७० तथा खैरो गहतको लागि प्रतिकेजि ९० रुपैँया गाउँपालिकाले मुल्य तोकेको छ । त्यसरी संकलन गरिएका सामग्रीहरु सम्झौता गरेको संस्थाले बुटबल लैजाने सहमती भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिँराम पन्थीले जानकारी दिए ।
गाउँपालिकाको उक्त निर्णयले गाउँपालिकाभित्रका किसानहरुले उत्पादन गरेका स्थानीय सामग्रीको विक्रिमार्फत किसानहरुले आम्दानी लिने विश्वास लिइएको गाउँपालिकाले जनाएको छ ।

SHARE