गुल्मीमा स्वास्थ्य कर्मी सहित थप ५ जनामा कोरोना पुष्टि

0
350

भदौ २६,२०७७ गुल्मी : गुल्मीमा स्वास्थ्यकर्मी सहित थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीदरवार गाउँपालिका वडा नं ४ बिरबासका मेडिकलका २ स्वास्थ्यकर्मी सहित ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्याले जानकारी दिए ।
भदौ २० गते सोही मेडिकलमा कार्यरत एक स्वास्थ्य कर्मीमा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्यकर्मीमा संक्रमण भएपछि मेडिकललाई सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । स्वास्थ्य कर्मीहरुको सम्पर्कमा आएका ४२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको पाण्डेले बताए ।
यसै बिच जिल्लाको कालीगण्डकी गाउँपालिकाकी २६ बर्षिय महिलामा कोरोना पुष्टि भएको छ । भदौ १६ गते भारतको मुम्बईबाट उनी संगै आएका उनका श्रीमान र ६ महिनाको बच्चाको भने रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यो संगै गुल्मीमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ । हालसम्म ३८९ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको ज्यान गइसकेको छ ।

SHARE