एकै घरका ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

0
281

भदौ २५,२०७७ : कनकाई नगरपालिकाको एक घरका सबै ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो समय समुदायमा फैलिएको कोरोना कनकाईमा नगरपालिका(३ को एक घरमा घरका सबै सदस्य ११ जनामा नै कोरोना सङ्क्रमण फैलिएको हो । एक्कै घरमा यत्रो सङ्ख्यामा कोरोना भेटिएको सम्भवतः झापामै पहिलो घटना भएको कनकाई नगरपालिका कोरोना सूचना तथा सञ्चार समितिका सदस्य लक्ष्मी अधिकारीले जानकारी दिइन् ।

सो घरमा १४ वर्षको नातिदेखि ८४ वर्षकी हजुरआमासम्मलाई कोरोना पुष्टि भएको छ । घरमा सबैलाई कोरोना सङ्क्रमण लागेपछि कनकाई नगरपालिकाले घरमै खाद्यान्न र अस्पतालमा रहेका लागि आवश्यक सामग्री प्रदान गरेको छ । उक्त घरमा मात्रै नभएर कनकाई(३ को गाउँमा नै कोरोना सङ्क्रमण फैलिएको छ ।

कनकाई नगरपालिकामा हालसम्म ४८ जनामा कोरोना सङ्क्रमण देखिसकेको छ भने पछिल्लो चोटी दुई दिनसम्म लिइएको स्वाबको रिपोर्ट आउन बाँकी छ । हाल कनकाई नगरपालिकाको सबै स्वाब कोटीहोमस्थित पीसीआर मेशिनमा परीक्षण गरिएको कारण रिपोर्ट आउन ढिलाइ भएको हो ।
कनकाईमै परीक्षण गरेपनि त्यसलाई पुनः परीक्षणका लागि स्वाब धरान पनि पठाउनुपर्ने हुँदा परीक्षणको रिपोर्ट आउन ढिलाइ भइरहेको कनकाई नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

रिपोर्ट आउन ढिलाइ भएपनि स्वाब लिइएकाहरूलाई घरमै सुरक्षित राखिएको स्वास्थ्य शाखाले जनाएको छ । यता नगरमा कोरोना सङ्क्रमण फैलिएर घर परिवारका सदस्यहरू खानेकुरालगायत खरिदका लागि बाहिर जान नपाएपछि कनकाई नगरपालिकाले त्यस्ता परिवारका लागि घरघरमै खाद्यान्नलगायतका अत्यावश्यकीय सामग्री पुर्याइदिँदै आएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

SHARE