भदौ २४,२०७७ बर्दिया : बर्दिया जिल्ला, मधुवन नगरपालिकास्थित खाता करिडोर संरक्षण क्षेत्रमा पर्ने हुलाकी सडकखण्डमा वन्यजन्तुको सहज आवागमनका लागि ओभरहेड नमूना ब्रिज बन्ने भएको छ ।
हुलाकी राजमार्गमा वन्यजन्तुको आवागमनका लागि ओभरहेड ब्रिज बन्न लागेको यो नेपालको पहिलो योजना हो । खाता जैविक मार्ग खाता संरक्षण क्षेत्रमा पहिलो चरणमा बन्ने ओभरहेड ब्रिज ४५ मिटर चौडाइको हुने छ ।
ओभरहेड ब्रिज निर्माणका लागि झण्डै रु नौ करोड लागत लाग्ने बताइएको छ । योजनाको वातावरण प्रभाव मूल्याङ्कन भएलगत्तै चालु आवदेखि निर्माण सुरु हुने डिभिजन वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेले बताए ।
प्रदेश नम्बर ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय बर्दियाको आर्थिक सहयोगमा ‘एनिमल क्रसिङ ओभरहेड ब्रिज’ योजनाको विस्तृत परियोजना प्रतिवेदन गौमुखी इञ्जिनीयरिङ सर्भिस प्रालि ललितपुरबाट तयार भइसकेको डिभिजन वन कार्यालयले जनाएको छ ।
वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि प्रदेश नम्बर ५ को यो एकदमै नवीनतम योजना रहेको बताइएको छ । खाता संरक्षण क्षेत्र मधुवन नगरपालिकामा पर्छ । हुलाकी सडकको झण्डै दुई किलोमिटर क्षेत्र खाता करिडोरमा पर्छ । सोमध्ये झण्डै साढे पाँच सय मिटर सडक क्षेत्रमा वन्यजन्तुको आवतजावत बढी हुन्छ ।