स्थायी आवासको व्यवस्था गरिदिन इस्माका पहिरो पीडितको माग

0
340

हुमाकान्त पोखेल
भदौ २४,२०७७ गुल्मी :गुल्मीको इस्मा गाउँपालिकाका पहिरो प्रभावित परिवारहरुले स्थायी आवासको माग गरेका छन् ।

गत असार ६ गते र १८ गते जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १, २, ४ र ६ का विभिन्न ठाउँहरुमा ठुलो पहिरो गयो । पहिरोमा पुरिएर वडा नम्बर १ स्थित मल्दि र ढाडपाटमा एक÷एक जना गरी २ जनाको ज्यान गयो । गाउँपालिकामा झण्डै डेढ सय घरमा क्षति ग¥यो । जसमध्ये विस्थापित परिवारले स्थायी आवासको माग गरेका छन् ।
गाउँपालिकाको वडा नम्बर १ हस्तिचौरका तेज बहादुर कुँवरले आफुहरु अहिले टहरा बनाएर अस्थायी आवासमा बसेको भन्दै स्थायी आवासको व्यवस्था मिलाइदिन आग्रह गरे । घर बनाउदा आफुहरुले श्रमदान गर्ने तर लाग्ने लागत सरकारले उपलब्ध गराइदिन उनले आग्रह गरे ।
गाउँपालिकाको वडा नम्बर ४ दोहोलीका मान बहादुर घर्ती असार ६ गतेको पहिरोले विस्थापित भए । घरनजिकै निर्माण गरिएको मोटर बाटोले गर्दा उनको घर, गोठ खेती गर्ने बारीमा क्षति पु¥यायो । घर–गोठमा बस्नै नसक्ने भएपछि उनको नौ जनाको परिवार मुसिकोट नगरपालिका वडा नम्बर १ फुर्सेपोखरामा अस्थायी आवास बनाएर बसेको छ ।
पानी र पहिरो रोकिएपनि पुरानो ठाउँ बस्न लायक छैन । जसले गर्दा उनलाई स्थायी आवासको आवश्यकता परेको छ । ‘पहिले भत्किएको ठाउँ त सम्झदा पनि डर लाग्छ, त्यहाँ त जादैँ जादैनौ ।’ घर्तीले भने, ‘हामीलाई एउटा घडेरी र घरको व्यवस्था भइदिए आभारी हुने थियौँ ।’
असार १८ गते परेको अविरल बर्षासँगै आएको पहिरोले स्थानीय भगवती घर्तीको घर पूर्णरुपमा क्षति ग¥यो । घरमा बस्नै नसक्ने भएपछि आफु र दुई छोरा स्थानीय जनशक्ति प्राथमिक विद्यालयमा बसाइँ सरिन् । श्रीमान रोजगारीको शिलशिलामा भारतमा छन् । यता आफुहरुलाई पनि विद्यालयमा बस्न अप्ठ्यारो भइरहेको घर्तीले बताइन् । ‘फेरी त्यहि ठाउँमा गएर बस्ने सक्ने स्थिति छैन, विद्यालयमा पनि सधैभरी बस्ने कुरा भएन ।’ उनले भनिन्, ‘दीगो र सुरक्षित आवासको आवश्यकता परेको छ ।’
अर्का स्थानीय शिवलाल खासु मगरले पनि इस्माका विभिन्न ठाउँका बस्ती नै विस्थापित भएकोले सकेसम्म छिटो स्थायी आवासको व्यवस्था मिलाइदिन आग्रह गरे । आफुको घर पनि पहिरोले बस्नलायक नभएकोले सबैलाई उचित आवासको व्यवस्था गरिदिन सरकारसँग माग गरे ।
अहिले स्थानीय, प्रदेश र केन्द्र गरी तीन तहको सरकार रहेकोले पनि आफुहरुको माग सकेसम्म छिटो पुरा हुनेमा आफु विश्वस्त रहेको उनले बताए । मगरको परिवार अहिले छिमेकीको घरमा बस्दै आएको छ । छिमेकीले पनि घर बिग्रियो भनेर तनाव दिएकोले आफु सकेसम्म छिटो स्थायी आवासमा बस्न चाहेको उनले बताए ।

झण्डै डेढ सय घरमा क्षति
असार ६ गते परेको अविरल बर्षाले गाउँपालिकाको केहि ठाउँमा पहिरो गयो । जसले धेरै क्षति हुन नपाएपनि जोखिम बढायो । त्यसैमाथि असार १८ गते परेको अविरल बर्षासँगै गएको पहिरोले झण्डै डेढ सय घरमा क्षति पुग्यो । जसअन्तरगत वडा नम्बर १ मा १८ घर पूर्ण क्षति, २५ घर आशिंक र ९३ घर उच्च जोखिममा रहेका छन् ।
वडा नम्बर २ मा ३ घर पूर्ण क्षति र ४७ घर उच्च जोखिममा रहेका छन् । वडा नम्बर ४ मा ९ घर पूर्ण क्षति, १० घर आशिंक र ३१ घर उच्च जोखिममा रहेका छन् । भने वडा नम्बर ६ मा एक घर पूर्ण क्षति, छ घर आशिंक क्षति तथा एक घर उच्च जोखिममा रहेको गाउँपालिकाका वास संयोजक हरिप्रसाद घिमिरेले जानकारी दिए ।
विस्थापित परिवारमध्ये कतिपय विद्यालयमा, कतिपय अर्कैको घरमा त कतिपय अस्थायी किसिमको टहरा बनाएर गुजारा चलाएका छन् । भने पहिरोको उच्च जोखिममा रहेका घरका परिवारहरु भने पुरानै घरमा फर्किएका छन् ।

स्थायी आवासको व्यवस्था गर्छौ
इस्मा गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले पीडित परिवारको पक्षमा आफुहरु लागिपरेको भन्दै उनीहरुलाई स्थायी आवासको व्यवस्था गरिदिने बताइन् । जसका लागि आफुहरुले प्रदेश सरकारसँग समन्वय गरिरहेकोले गाउँपालिका र प्रदेश सरकारको समन्वयमा काम अगाडी बढाइने उनले आश्वासन दिइन् ।
बस्ती बसाउनको लागि अहिले उपयुक्त जग्गाको खोजि भइरहेको र आगामी तीन महिनाभित्र पीडित परिवारको घर बनाउने कार्य सुरु हुने उनले बताइन् । जोखिम ठाउँमा घर बनाउने सम्भावना नभएको भन्दै जग्गाबारे पीडित परिवारसँग पनि छलफल भइरहेको उनको भनाई छ ।

SHARE