भदौ २२, २०७७ बर्दिया :बाँसगढीमा संचालित चौधरी ग्रुप सिजी फुड्स का ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बर्दियामा पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भेटिएका हुन्। स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार उद्योगका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये २९ पुरुष र १३ महिला रहेका छन्।
भेरी अस्पताल नेपालगन्जको कारोना प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएकाहरु उद्योगको चाउचाउ कारखानामा कार्यरत मजदुर हुन्।
संक्रमण पुष्टि भएका मध्येमा ३४ जना बाँसगढीका र ४ जना बढैयातालका गरी ३८ जना छन् भने अन्य ४ जना विभिन्न जिल्लाका भएका स्वास्थ्य कार्यालयले जनाएको छ।
योसँगै बर्दियामा कुल संक्रमित संख्या ४ सय ७ पुगेको छ। कुल संक्रमितमध्ये ३ सय १८ जना डिस्चार्ज भएका छन्।