भदौ ८,२०७७ गुल्मी : गुल्मीका स्थानीय तहहरुले भिटीएम खरिद गरी समुदाय स्तरमानै कोरोना परीक्षण गरेका छन् ।
जिल्लाको मालिका गाउँपालिकाले २५० जनाको परीक्षण गर्ने र वडा नं ६ अर्जेबाट स्वाब संकलन गरीएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए ।
यस्तै कालीगण्डकी गाउँपालिकामा ४७ जना , चन्द्रकोटमा ४७ जना , धुर्कोटमा १५ जना , इश्माामा ५ जना र मुसिकोट नगरपालिकामा १२५ जनाको स्वाब संकलन गरी परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पठाइएको नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिशीले जानकारी दिए ।
रेसुङगा नगरपालिकाका ६५ जना , गुल्मीदरवारका १० , छत्रकोटका १० , रुरुक्षेत्रका १० ,सत्यवती गाउँपालिकाका १० जनामा गरीएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानी प्रसाद शर्माले जानकारी दिए ।
गुल्मी जिल्लामा हालसम्म तीन सय ७३ जना कोरोना संक्रमितहरु मध्ये तीन सय ६५ जना निको भएर घर फर्किएका छन् भने संक्रमणका कारण जिल्लामा ३ जनाको ज्यान गएको छ ।