गृहणीमा कोरोना देखिएपछि तानसेन बजार सिल

0
412

सुशीला रेग्मी

रामपुर (पाल्पा), ३० साउन : घरमै बसेकी एक गृहणी महिलामा कोरोना सङ्क्रमण देखिएपछि तानसेन बजार सिल गरिएको छ ।

प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिका वडा नं ४ बस्ने ४० वर्षीय एक महिलामा बिहीवार कोरोना सङ्क्रमण पुष्टी भएपछि सो वडाभित्र पर्ने बजार सिल गरिएको छ ।

बिहिवार साँझ ८ वजेदेखि अर्को सुचना जारी नभए सम्मका लागि सिल गरिएको प्रशासन कार्यालय पाल्पाले जनाएको छ । कोरोना सङ्क्रमण फैलनबाट रोक्नका लागि शिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताए ।

बिहीबार साँभm ८ वजे तानसेन बजारको बिशालबजारदेखि पूर्वमा हुलाकचोक, पश्चिममा गौरीशंकर होटल, उत्तरमा टक्सारको माछापसल र दक्षिणमा माथिल्लो पेट्रोल पम्पसम्मको क्षेत्र सिल गरिएको उनले बताए । कोरोनाको सङ्क्रमण रोक्न सिल गरिएका क्षेत्रमा आवतजावतमा रोक लगाइएको छ ।

समुदायस्तरमा सङ्क्रमण देखिएको तानसेनको यो पहिलो घटना हो । महिला लुम्विनी मेडिकल कलेज प्रभासमा आफन्तको उपचारका लागि खटिएकी थिइन् । बुधबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ती महिलाको बिहीबार रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै खटिएका श्रीमानको भने रिपोर्ट नेगेटिभ आएको छ । समुदायस्तरमै कोरोना सङ्क्रमण देखिएपछि स्थानीय त्रसित बनेका छन् ।

तानसेनका पाँच जनाको पीसीआर परीक्षण गरिएकोमा एक जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हालसम्म सङ्क्रमितको संख्या पाँच सय ६३ पुगेको छ ।

पाँच सय ६० जना कोरोना जितेर घर फर्केका छन् । सङ्क्रमितमध्ये पाँच सय १६ पुरुष र ४७ महिला रहेका छन् । कोरोनाको कारणले जिल्लामा एक जनाको मृत्यु भएको छ ।

SHARE