खोला बढेपछि स्थानीयले निर्माण गरे फड्के पुल

0
1377

तिलाचन पाण्डे
साउन २८,२०७७ गुल्मी : बर्षायामको समयमा खोला बढ्दै गएपछि खोला तर्नका लागि स्थानीयहरुले फड्के पुल निर्माण गरेका छन् ।
जिल्लाको सत्यवती गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको सीमाना बड्हरे खोलामा खोला बढेर आवात जावतमा समस्या भएपछि स्थानीयहरु मिलेर फड्के पुल निर्माण गरेको स्थानीय खडगबिर थापाले जानकारी दिए । दैनिक ३० जना जति युवाहरु मिलेर तीन दिनमा पुल निर्माण गरेको थापाले बताए ।
सो पुल निर्माण गर्दा खाजा र आवश्यक पर्ने सामानहरुको स्थानीय खडगबिर थापा , कृष्णप्रसाद भट्राई र आत्मराम भट्राईले ब्यबस्थापन गरेका हुन् ।


सो फड्के पुल निर्माण भएपछि बर्षायामको समयमा पनि आवत जावत गर्नका लागि सहज भएको कालीगण्डकी गाउँपालिका वडा न १ हर्मिचौर बकेवाका बिरेन्द्र अर्यालले जानकारी दिए । खोला बढ्दा पैदल यात्रीहरुलाई बढी जोखिम हुने र खोलाले ज्यान समेत लिन सक्ने भएकाले स्थानीयहरु मिलेर फड्के पुल निर्माण गरिएको अर्यालले दाबी गरे ।
सत्यवती गाउँपालिका वडा नं २ पाँहादी र कालीगण्डकी गाउँपालिका हर्मिचौरको मितेरी साइनो रहेको स्थानीय खडगबिर थापाले बताए । बर्षाले खोला बढेपछि सो सम्बन्ध टुटने हो की भन्ने आफूहरुलाई चिन्ता लाग्दै आएको स्थानीयहरुले बताएका छन् । अहिले सो फड्के पुल निर्माण भएपछि मोटरसाइकल र पैदल यात्रा गर्नमा सहज भएको स्थानीयहरुले बताएका छन् ।


सो फड्के पुल निर्माणका लागि काठ,  बाँसहरुको ब्यबस्थापन स्थानीयहरुले गरेका थिए ।

SHARE