पाल्पामा जीप दुर्घटना दुईजनाको मृत्यु, ६ घाइते

0
396

साउन २८, २०७७ पाल्पा : जिल्लाको निस्दी गाउँपालिका–५ पटाकसरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

मृत्यु हुनेमा निस्दी गाउँपालिका ५ गल्धास्थित गावुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्यालस्थित काफलका ३ महिने शिशु सिमोन कालुङ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए।

घाइते हुनेमा निस्दी ४ का २२ वर्षीया विष्णुमाया सारु, सोही ठाउँकी २५ वर्षीया सृजना गाहा, निस्दी ५ कि ३८ वर्षीया सुमित्रा सारु, सोही ठाउँकी २० वर्षीया लक्ष्मी सारु, ३७ वर्षीया सुशिला सारु, ३६ वर्षीया सेरमति सारु रहेका छन्। उनीहरु सबैको जिल्लाको सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेका छ।
घाइते मध्य सेरमति सारुको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारको लागि चौराह हस्पीटल प्राली बुटवल रेफर गरिएको उनले बताए। घाइतेको उद्धार गरेर मध्यराती तानसेन ल्याइएको थियो।

निस्दी गाउँपालिका ५ पटाकसरस्थित भित्री कच्ची सडकखण्डको मोटेखर्कबाट पटाकसरतर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जीप अनियन्त्रित भई मंगलबार साँझ करिब साढे ५ बजे दुर्घटना भएको थियो। जीप सडकबाट अन्दाजी ७ सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

SHARE