विमला ढकाल
साउन २५,२०७७ बर्दिया : बर्दियामा आजबाट पाँच दिन निषेधाज्ञा गरिएको छ । कोरोना संक्रमण समुदायस्तरमै केही व्यक्तीमा देखिएको र समुदायस्तमै थप संक्रमण फैलिदैँ जान सक्ने जोखिमलाई मध्यनजर गर्दै बर्दियामा निषेधाज्ञा गरिएको हो ।
कोरोना संकट व्यवस्थापन समिति बर्दियाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा साउन २२ गते बसेको बैठकले साउन २५ गते आइतबार विहान ६ बजेदेखि साउन २९ गते विहीबारसम्म ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार आज बिहानैबाट निषेधाज्ञा लागु गरिएको हो ।
समुदायस्तरका केही व्यक्तीमा कोरोना संक्रमण भेटिएको र समुदायस्तरमा थप संक्रमित भेटिन सक्ने खतरा बढेको भन्दै संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा गरिएको प्रजिअ अधिकारीले बताए । निषेधाज्ञाको अवधीमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परेमा मास्कको अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई प्रशासनले आग्रह गरेको छ ।
निषेधाज्ञाका समयमा तरकारी तथा फलफुल पसलहरु विहान ६ बजेदेखि ९ सजेसम्म सञ्चालन गरिने छ भने खाद्यान्न तथा किराना पसलहरु सञ्चालन गर्न पाइने छैन् । औषधि पसल, अस्पताल, इमरजेन्सी, अति आवस्यक स्वास्थ्य, सुरक्षा सेवा भने २४ सै घण्टा खुल्ला रहने जनाइएको छ ।
एटिएम बाहेकका सबै बैंङ्किङ सेवाहरु बन्द
यस्तै बर्दियामा जारी निषेधाज्ञाका क्रममा एटिएमबाहेक अन्य सबै सेवा बन्द गरिने भएको छ । कोरोनाको संक्रमण र फैलावट कम गर्न भन्दै जिल्ला प्रशासन कार्यालय बर्दियाले आजबाट जारी निषेधाज्ञाका क्रममा एटिएम मात्रै सञ्चालन गर्न दिने निर्णय लिएको हो ।
निषेधाज्ञा अबधीभर सम्पुर्ण बैंक तथा वित्तिय संस्थाहरु बन्द रहनेछन्, प्रजिअ अधिकारीले भने, अत्याबश्यक परेमा एटिएम सेवा भने सुचारु रहने छ । बर्दियामा २ जना बैंकका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएपछि सबै बैंक तथा वित्तिय संस्थाहरु पनि बन्द हुने उनले बताए ।
पछिल्लो समय बैंकमा मानीसहरुको भिड बढ्दो छ, यसले संक्रमण फैलिन सक्ने जोखिन निम्त्याउछ, त्यसैले २९ गतेसम्म बैंकिङ सेवाहरु समेत बन्द हुने प्रशासनले जनाएको छ । निषेधाज्ञाका समयमा नियमको उलंघन गरेको पाइएमा कडा रुपमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।