सुशीला रेग्मी
साउन १५,२०७७ पाल्पा : रामपुर नगरपालिका वडा नं ७ स्थित मोहटीमा पितृप्रसाद खाँदा स्वास्थ्यमा समस्या देखा परी उपचाररत बिरामीको स्वास्थ्य अवस्थाबारे नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बुझेकी छन् ।
उनले बुधवार रामपुर अस्पतालमा उपचाररत बिरामीलाई भेटघाट गरी स्वास्थ्य लाभको कामना गरिन् । पसलबाट किनेर लगिएको खाद्य पदार्थहरुको बारेमा अनुसन्धान भइरहेको बताउँदै उपप्रमुख आचार्यले बिरामीको रेखदेख र उपचारमा कुनै कन्जुस्याई नगर्न अस्पतालका स्वास्थ्यकर्मीलाई अनुरोध गरिन् ।
रामपुर अस्पतालमा उपचाररत बिरामीलाई नगरपालिकाका उपप्रमुख आचार्य सहित प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्य, ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिमबहादुर कार्की, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, कार्यपालिका सदस्य तथा वडा नं ५ का वडा सदस्य सावित्रा गौतम, काशिनाथ रेग्मी, माया नेपाली, मिठ्ठु सुनार लगायतको टोलीले भेटघाट गरी स्वास्थ्य लाभको कामना गरेका छन् ।
स्थानीय ओमबहादुर सुनारका बुबा मानबहादुर सुनारको निधनको यही साउन ११ गते आईतवारका दिन १३ औँ दिनको शुद्धशान्तिमा पितृप्रसाद ग्रहण गरेका आफन्त, छिमेकी, स्थानीय बिरामी परेका छन् ।
बिरामी परेकामध्ये ३५ जना लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको छ भने दश जना रामपुर अस्पतालमा उपचाररत रहेको अस्पतालका सुचना अधिकारी रामप्रसाद कोइरालाले जानकारी दिए । शुद्धशान्तिमा करिव एक सय भन्दा बढी सहभागी भएको स्थानीयले बताएका छन् ।