गुल्मीमा मास्क नलगाउने एक सय ३४ जना कारवाहीमा

0
881
फाइल फोटो

साउन १४,२०७७ गुल्मी : गुल्मीमा मास्क नलगाई हिड्ने एक सय ३४ जनालाई प्रहरीले कारवाही गरेको छ ।
सदरमुकाम तम्घासमा घरबाट बाहिर निस्कदा र पसलमा रहदा मास्क नलगाउने एक सय ३४ जनालाई कारवाही गरिएको हो । उनीहरुलाई एक सय रुपैयाँका दरले जरिवाना गरिएको र जिल्ला प्रशासन मार्फत प्राप्त एउटा मास्क दिई पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
मास्क नलगाउनेलाई जरिवाना काटी मास्क उपलब्ध गराई सम्झाई बुझाई पठाउने गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पैसा नहुनेलाई प्रहरी कार्यालयमा
बजारमा मास्क नलगाई हिडने र सय रुपैयाँ पनि पकेटमा नहुनेलाई नियन्त्रणमा लिई प्रहरी कार्यलयमा राखिएको पन्तले बताए । एक सय रुपैयाँ जरिवाना बुझाँए पछि मात्रै मास्क दिएर पठाउने गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । लकडाउन नभए पनि जोखिम कायमै रहेकाले मास्कलाई अनिवार्य गरिएको पन्तले दाबी गरे ।
घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र यदि मास्क नलगाएमा नियन्त्रणमा लिई एक सय रुपैयाँ जरिवाना गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
सदरमुकाम तम्घासमा मात्रै नभई ग्रामीण स्तरमा पनि मास्क लगाए नलगाएको बारेमा अनुगमन गरि मास्क नलगाए नियन्त्रणमा लिई जरिवाना गर्न सबै प्रहरी चौकीहरुलाई समेत निर्देशन दिएको शर्माले बताए ।
जिल्लाका सरकारी कार्यालय अर्थात सेवाग्राहीहरु धेरै हुने स्थानहरुमा अनिवार्य रुपमा साबुन पानीले हात धुने ब्यबस्था गरिएको र स्यानीटाइजरको प्रयोग गरिएको प्रशासनले जनाएको छ ।
यस्तै सवारी साधनहरुमा सवार गर्ने यात्रुहरुले मास्क नलगाएमा स्वंयम सवारी धनी अर्थात चालकले जिम्मा लिनुपर्ने र प्रचलित कानून अनुसार कारवाही गरेरै छाड्ने प्रशासनले दाबी गरेको छ ।

SHARE