पोल ढलेपछि तनहुँका एक हजार घरपरिवार विद्युतविहीन

0
244

साउन ११, २०७७ तनहुँ
अविरल वर्षाका कारण पोल ढलेपछि तनहुँका विभिन्न स्थानीय तहका एक हजारभन्दा बढी घरपरिवार विद्युतविहीन भएका छन्। गत आइतबार परेको वर्षाले व्यास नगरपालिका, भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाका एक हजार १०० घरपरिवार अन्धकारमा रहेको नेपाल विद्युत् प्राधिकरण तनहुँले जनाएको छ। व्यास–१४ को रुप्सी, हर्कपुर, ठिन, नयाँगाउँ, सखौरा लगायतका क्षेत्रमा विद्यत् अवरुद्ध भएको छ। भानुको साजबोटे, कल्याणटार र नयाँवस्ती तथा बन्दीपुरका केही ठाउँमा विद्युत् आपूर्ति भएको नभएको वडा नम्बर १४ का अध्यक्ष काजीमान श्रेष्ठले बताए। ‘काठका छरसातवटा पोल ढलेका छन्, एउटा फलामको ठूलो पोल भने पहिरोबाट निकालिएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘मर्मत् गर्न कठिन भएको छ, पहिरोले ठाउँ ठाउँमा सडक बिग्रिएकाले सवारी आउन नसक्दा असाध्यै गाह्रो भएको छ।’ तीनवटा स्थानीय तहमा पहिरोले करिब ५० वटा विद्युतका पोल ढालेका छन्। साजबोटे, कल्याणटार र नयाँबस्तीमा अस्थायी रुपमा विद्युत् सञ्चालनका लागि समस्या भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डुम्रे शाखाका इञ्चार्ज बेनी नेपालीले जानकारी दिए। हाइटेन्सन लाइनका नौ र साना १२ वटा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको नेपालीले बताए। ‘विद्युत् पोल मर्मतमा प्राविधिक टोली खटिएका छौँ,’ उनले भने, ‘बन्दीपुर–१ नाहालास्थित पृथ्वीराजमार्गमा सडक भासिएकाले सामग्री समयमा ढुवानीमा कठिनाई हुँदा मर्मतमा ढिलाइ भएको छ।’ थाहाबाट

SHARE