साउन ३, २०७७ पर्वत : पैयुँ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु भएको छ।
पैयुँ गाउँपालिका–६ मा घर भएका ती पुरुष स्थानीय तहले बनाएको सामुदायिक क्वारेन्टाइनमा बसेका थिए। उनी शुक्रवार अचानक ढलेका थिए। उनलाई तत्काल गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो। चिकित्सकले शुक्रबार राति ११ बजेर ५५ मिनेट जाँदा उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।
उनमा उच्च रक्तचापको समस्या रहेको बताइएको छ। भारतबाट गत असार १६ मा आएर पर्वत सदरमुकाम कुस्मा बजारको पुलिङ क्वारेन्टाइन बसेका उनको असार २३ मा स्वाब परीक्षण गरी पिसिआर टेष्ट गरिएको थियो।
पिसिआर टेष्टमा रिपोर्ट नेगेटिभ आएको थियो। रिपोर्ट नेगेटिभ आएपछि उनलाई असार २४ मा कुस्माको क्वारेन्टाइनबाट स्थानीय तहको सामुदायिक क्वारेन्टाइनमा पठाइएको थियो। पहिलो पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको भए पनि उनमा कोरोना संक्रमण भए नभएको थाहा पाउन स्वाब सङ्कलन गरेर पुन परीक्षण गर्न लागिएको छ।
यता पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। शिशिर देवकोटाले ती व्यक्तिबारे सबै कुरा बुझ्न थालिएको बताएका छन्। थाहाबाट