हुमाकान्त पोखरेल
असार ३०,२०७७ गुल्मी : धुर्कोट गाउँपालिकाका अभिभावकविहिन तथा अतिविपन्न विद्यार्थीहरुलाई प्रोत्साहन रकम उपलब्ध गराइएको छ ।
गाउँपालिकाका विभिन्न वडाका पाचँ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी आठ हजारका दरले कुल ४० हजार प्रोत्साहन रकम उपलब्ध गराइएको हो । रुपन्दहीको वाणगंगास्थित सिद्धार्थ सामाजिक विकास केन्द्रले उक्त रकम प्रदान गरेको गाउँपालिकाका लेखा अधिकृत प्रकाश गौतमले जानकारी दिए ।
अतिविपन्न तथा अभिभावकबिहिन विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि गर्न सहयोग पु¥याउने उदेश्यका साथ उक्त रकम वितरण गरिएको गौतमले बताए । गाउँपालिकाको वडा नम्बर ४ जैसिथोकस्थित कोरोना संक्रमणबाट मृत्यु भएका मधु नेपालीका छोरा पाञ्चायन माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत मदन नेपालीले प्रोत्साहन रकम पाएका छन् । त्यस्तै वडा नम्बर ३ हाडहाडेस्थित निन्युखर्क माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत अभिभावक विहिन छात्रा हुमा पुन, वडा नम्बर २ पिपलधारास्थित गणेश माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत अभिभावकविहिन छात्रा सुनिता महतले प्रोत्साहन रकम पाएका छन् ।
त्यस्तै अतिविपन्नअन्तरगत वडा नम्बर ७ वाग्लास्थित भगवती माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत कोपिला विक र वडा नम्बर ६ रजस्थलको इन्दिरा माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत मेलिना थापाले प्रोत्साहन रकम पाएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मधु घिमिरेले जानकारी दिए ।
गाउँपालिकाले मुख्यमन्त्री ग्रामिण विकास परियोजनाअन्तरगत गाउँपालिकाका अभिभावकविहिन विद्यार्थीहरुलाई पोशाक वितरण गर्ने योजना पनि राखेको छ । परियोजनाबाट विनियोजित कुल तीन लाख रकमबाट ५० जना विद्यार्थीहरुको लागि पोशाक वितरण गर्ने योजना गाउँपालिकाको छ ।
बुबा र आमा नभएका विद्यार्थीहरुको लागि केहि दिनभित्रै दुई जोर ड्रेस, जुत्ता, झोला, स्वीटर र टोपी वितरण गर्ने योजना रहेको घिमिरेले बताए ।