रामपुरमा तीन सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माण सुरु

0
811

सुशीला रेग्मी

रामपुर (पाल्पा), २८ असार : रामपुर नगरपालिकामा तीन सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माण सुरु भएको छ । करिव एक रोपनी क्षेत्रफलमा कृषि तथा पशु सेवा शाखा कार्यालय परिषरमा एकतले चार कोठासहितको भवन निर्माण सुरु गरिएको छ ।

रबिना र अभिसा जेभी कन्ट्रक्सन प्रालीले संयुक्त रुपमा रु तीन करोड ५२ लाखको लागतमा ठेक्का लिएर काम थालनी गरेको छ ।

यही असार ५ गतेबाट निर्माण कार्य थालनी भएको शित भण्डार आउँदो मङ्सीर महिना भित्र सम्पन्न हुने नगरपालिकाका सुचना अधिकारी तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिए । बन्दाबन्दीले गर्दा निर्माण कार्य ढिलो भएको उनीबताउँछन् ।

भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ बुटवलको सशर्त अनुदान सहयोगमा शित भण्डार निर्माण सुरु गरिएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा डिपिआर तयार गरी आ.व. २०७६÷०७७ मा ठेक्का सम्झौता गरिएको थियो ।

शित भण्डार सहित प्राबिधिक कक्ष, दुई तले आवास गृह र शौचालय निर्माण गरिनेछ । रामपुर नगरपालिकामा शित भण्डार नहुदा यहाँ उत्पादन भएका तरकारी तथा फलफूल, वीउ विजन भण्डारण गर्न भैरहवा, स्याङ्गजा लगायतका ठाउँमा लैजानु पर्ने बाध्यता छ । रामपुर नगरपालिकामा बिशेष गरी आलु उत्पादन बढी हुने गर्दछ ।

यसवर्ष नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नं ६ मा लगाइएको आलु वीउ प्रयोजनका लागि स्याङ्गजाको गल्याङ्ग नगरपालिकाको जिमुवा शित भण्डारमा एक सय १५ क्वीन्टल वीउको लागि भण्डारण गर्न लगिएको वडा अध्यक्ष तथा नगर प्रवक्ता हुमनाथ न्यौपानेले बताए ।

“कृषकले उत्पादन गरेको आलु घरमै कुहेर जाने र शित भण्डार नहुदा अर्को वर्ष वीउ जोगाउनै मुस्किल परेपछि यो वर्ष वडाले खर्च ब्यहोर्ने गरी शित भण्डारमा लगेर राख्दिएका छौँ” उनले भने ।

शित भण्डारको अभावमा धान, मकै, गहुँ लगायतका वीजबृद्धिका कार्यक्रम चलाउन समस्या परेको विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष सूर्यप्रसाद रेग्मीले बताए ।

अन्यत्र शित भण्डारमा लैजानु पर्दा ढुवानी खर्च, वीउ लैजान ल्याउन समस्या परिरहेको छ । कृषि उपज भण्डारमा समस्या झेल्दै आइरहेका यहाँका कृषक शित भण्डार निर्माण कार्य सुरु भएपछि उत्साहित भएका छन् ।

पाल्पा जिल्लाको रम्भा गाउँपालिकामा गत आर्थिक वर्षमा २५ मेट्रिकटन क्षमताको शित भण्डार निर्माण गरी हाल चालु अवस्थामा छ । रामपुर नगरपालिकामा निर्माण सुरु भएको शित भण्डार पाल्पा जिल्लाकै ठुलो क्षमताको रहेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउँछन् ।

SHARE