सुशीला रेग्मी
असार २७,२०७७ पाल्पा : पाल्पाकै नमुना विद्यालयका रुपमा रहेको रामपुर नगरपालिका स्थित रामतुलसी माविमा विज्ञान सङ्काय अन्र्तगत कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई छात्रवृत्ति रकम वितरण गरिएको छ ।
सामाजिक विकास मन्त्रालय पाँच नम्बर प्रदेश सरकारबाट सामुदायिक विद्यालय विज्ञान सङ्कायमा अध्ययनरत छात्रा विद्यार्थीका लागि प्राप्त छात्रवृत्ति रकम विद्यालयले अभिभावक र विद्यार्थीको रोहबरमा वितरण गरेको छ ।
छात्रवृत्ति रकम पाएपछि कक्षा १२ मा अध्ययनरत छात्रा सृष्टि खनाल खुशी छन् । अरुसंग सामान्य शैक्षिक खर्चका लागि रकम माग्नु नपर्ने र सो छात्रवृत्ति रकम शैक्षिक सामग्रीमा खर्च गर्ने उनी बताउँछिन् ।
सामाजिक विकास मन्त्रालय पाँच नम्बर प्रदेश सरकारले मासिक रु एक हजारका दरले छात्रवृत्ति रकम उपलब्ध गराएको छ । छात्राहरुलाई शैक्षिक क्षेत्रमा अब्बल बनाउन सरकारले छात्रवृत्ति उपलब्ध गराएपछि शैक्षिक क्षेत्रमा अभिभावकलाई आर्थिक भार कम परेको छात्रा रोजी थापाले बताइन् ।
सरकारले नै तोकेर छात्रवृत्ति सहयोग गरेपछि पठनपाठनमा ठुलो सहयोग पुग्ने छात्रा प्रतिमा पोखरेलले बताउनुभयो । सरकारले उपलब्ध गराएको छात्रवृत्ति रकमलाई सही ठाउँमा सदुपयोग गर्ने छात्रा पोखरेलको भनाई छ । कुनै समय छोरी जन्मेपछि समाजमा उपेक्षाका रुपमा लिइन्थ्यो ।
अहिले भने छात्राहरुलाई शैक्षिक क्षेत्रमा अगाडी बढाउन राज्यले लगानी गर्न थालेपछि अभिभावलाई पनि कसरी शिक्षादिक्षा दिने भन्ने पिरलो कम गरेको अभिभावक मथुरा रेग्मीको भनाई छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर ५ बाट कक्षा ११ मा १३ र कक्षा १२ मा ११ जना छात्राहरुलाई मासिक रु एक हजारका दरले दश महिनाका लागि छात्रवृत्ति रकम प्राप्त भएको छ । अभिभावक र विद्यार्थीको रोहबरमा विद्यार्थीकै नाममा रहेको खातामा जम्मा हुने गरी कृषि विकास बैंकमा विद्यालयले रकम जम्मा गरिदिएको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए ।
“यस कार्यक्रमबाट आगामी दिनमा सामुदायिक विद्यालयमा विज्ञान विषय पढ्ने विद्यार्थीको सङ्ख्या बढ्नेछ र आर्थिक अवस्था कम भएकै कारण छात्राहरु पढ्ने मन भएर पनि पढ्न नसकिरहेका बेला यस्ता कार्यक्रमले पढाईमा ठुलो सहयोग मिलेको छ” प्रअ लम्सालले भने ।
छात्रवृत्ति रकमले गरिव तथा विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक कार्यमा ठुलो सहयोग पुगेको छ । विसं २०६५ सालदेखि विज्ञान विषयको पठनपाठन सुरु गरेको रामतुलसी माविमा हाल कक्षा ११ मा ३३ र १२ मा २१ जना विद्यार्थी अध्ययनरत छन् ।
यस विद्यालयले प्राबिधिक धारअन्र्तगत कृषि बाली विज्ञान विषय र मावि तहमा अंग्रेजी तथा नेपाली माध्यममा पठनपाठन संचालन गर्दै आइरहेको छ । पूर्वी पाल्पाको रामपुर नगरपालिकामा रहेको यस विद्यालय जिल्लाकै नमुना विद्यालयका रुपमा लिइएको छ ।
भौतिक तथा शैक्षिक क्षेत्रमा राम्रो पहिचान बनाउन सफल भएको रामतुलसी मावि धेरैको रोजाईमा पर्ने गरेको छ । प्रयाप्त खेलमैदान, सुबिधा सम्पन्न शौचालय, खानेपानी, प्रयोगशाला, पुस्तकालयको लगायतको राम्रो सुबिधा छ ।