रामपुरको पर्यटकिय तालपोखराको आम्दानी खर्च सार्वजनिक

0
578

सुशीला रेग्मी

असार २३ , २०७७ पाल्पा : सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा रहेको पाल्पा रामपुरको तालपोखराको यस आर्थिक वर्षमा भएका कामको पत्रकार सम्मेलन गरी आम्दानी खर्च सार्वजनिक गरिएको छ । समितिका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षतामा एक कार्यक्रमका बिच पत्रकार सम्मेलनमार्फत आम्दानी र खर्च सार्वजनिक गरिएको हो ।

तालपोखरा संरक्षण समितिका उपाध्यक्ष पुरुषोत्तम ढकालले सहभागीलाई स्वागत गदै आम्दानी खर्चबारे जानकारी गराउनुभएको छ । पर्यटकीय क्षेत्र स्तरोन्नतीका लागि आर्थिक वर्ष २०७६÷०७७ मा पर्यटन विभागबाट रु २३ लाख ९८ हजार सात सय ८७ र रामपुर नगरपालिकाबाट प्राप्त चार लाख ३७ हजार नौ सय तीन रकम गरी जम्मा रु २८ लाख ३६ हजार ६९० रकम प्राप्त भएको थियो ।
जसमा तालपोखराको बाहिरी भागमा करिव पाँच सय ५० मिटर लम्बाई र दुई मिटर २० सेन्टिमिटर चौडाई सहितको क्षेत्रफलमा टायल लगाउने, मर्मत सम्भारका काममा रु १९ लाख १६ हजार ३३६ रकम खर्च भएको उनले जानकारी दिए ।

रामपुर नगरपालिका वडा नं ६ का अध्यक्ष तथा नगर प्रवक्ता हुमनाथ न्यौपानेले तालको स्तरोन्नतीका लागि नगरपालिकाले वजेट विनियोजनामा प्राथमिकता दिएको बताउँदै आगामी दिनमा पनि सहयोग निरन्तर गरिरहने बताए ।
समितिले बन्दाबन्दीका समयमा पनि निरन्तर काममा खटिएको र केही रकम कोषमा वचत गर्न सफल भएकोमा धन्यवाद दिए । तालपोखरा पार्कमा भएको कार्यक्रमको संचालन सचिव सुनिल देवकोटाले गरे ।

तालपोखरा कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै केही समय बन्द गरियो । अहिले तालपोखराको परिसर भने सर्वसाधारणका लागि खुल्ला गरिएको छ । तालपोखरा परिसर तथा पार्कमा रमाउने र फोटो खिचाउने युवायुवतीको जमघट बढ्दै गएको छ । यहाँ हाल दैनिकजसो ५० देखि ६० को हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको समितिले जनाएको छ ।

समितिको नाममा करिव ६६ रोपनी जग्गामध्ये ताल ४८ रोपनी क्षेत्रफलमा तालपोखरा फैलिएको छ भने पानीको भाग ४४ रोपनी रहेको छ । आ.व. २०७७÷०७८ का लागि तालपोखरा पर्यटकीय स्तरोन्नती शीर्षकमा पर्यटन बोर्डबाट रु ५० लाख रकम प्राप्त भएको छ । सो रकम बाल बगैचा, बनभोजस्थल सुधार, विवाह मण्डव बनाउने योजना छ । समितिको गुरुयोजना अनुसार करिव रु तीन करोड जति यसको स्तरोन्नती तथा विकासमा खर्च लाग्ने अनुमान छ ।

वर्षादको पानी जम्मा हुने सामान्य पोखरीलाई तालको रुपमा विकास गर्न विसं २०६६ पुष ११ गते देखि श्रीमद्भागवत धनधान्यान्चल ज्ञान महायज्ञ आयोजना गरियो । सो महायज्ञमा जिन्सी र नगद गरी रु एक करोड ७२ लाख सहयोग सङ्कलन भएपछि फागुनबाट तालपोखराको विकासको काम अगाडी बढाइएको हो । वर्षायाम सकिए लगत्तै पोखरीको पानी सुकाएर चारैतिर चार सय ५० मिटर क्षेत्रफलमा पर्खाल लगाउने योजना छ ।

SHARE