
असार २३,२०७७ गुल्मी : १८ गते राती आएको पहिरोका कारण बेपत्ता भएका मुसिकोट २ का ५५ बर्षिय भागीरथ घिमिरे अझै सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
मुसिकोट नगरपालिका वडा नं २ को हाँडीखोलामा आएको पहिरोमा उनी बेपत्ता भएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्थले जानकारी दिए ।
खोजी कार्यका लागि नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
इश्मा र मुसिकोटको पहिरोमा परि करिब दूई सय घरपरिवार बिस्थापित भएकाले उनीहरुलाई स्थानीय बिधालयमा ब्यबस्थापन गरिएको र अन्य बिकल्पहरुको बारेमा छलफल भइरहेको शर्माले जानकारी दिए ।
सोही दिन इश्मा गाउँपालिकाको वडा नं १ हस्तिचौरको मल्दीमा गएको पहिरोमा परी १८ महिने बालक सुरज सारु र ७ बर्षकी अपेक्षा खत्रीको मृत्यु भएको हो ।
सो पहिरोमा परी घाइते भएका ५ जनाको त्रिबी शिक्षण अस्पताल माहाराजगंजमा उपचार भइरहेको छ । उनीहरुलाई नेपाली सेनाको हेलीकोप्टर मार्फत काठमाण्डौ लगिएको हो ।
गत बर्ष साउन ७ गते सत्यवती गाउँपालिकाको ठुलोलुम्पेक र लिम्घामा गएको पहिरोका कारण १३ जनाले ज्यान गुमाएका थिए ।








